धनगढीको क्यासिनोमा प्रहरीको छापा
१० लाख ५ हजार भारुसहित दुईजना पक्राउ
धनगढीः यहाँस्थित साथी होटलमा रहेको किङ्स लन्ज क्यासिनोमा प्रहरीले छापा हानेको छ । प्रतिबन्धित दुई हजार र पाँच सयका भारु नोटको कारोबार हुने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरको नेतृत्वमा गएको टोलीले आइतवार राति छापा हानेको हो ।
क्यासिनोको काउन्टरबाट दुई हजार र पाँच सय दरका १० लाख ५ हजार बराबरका भारतीय नोट बरामद गरिएको प्रहरी नायव उपरीक्षक बुढामगरले जानकारी दिए । उनले क्यासिनोमा जुवातासका साथै भारुको पनि कारोबार हुने सूचना आएपछि छापा हानिएको बताए ।
प्रहरीले क्यासिनो सञ्चालक मलेसीयन नागरिक मोहम्मद आजमउद्धिन खान र म्यानेजर सुजन दाहाललाई पनि पक्राउ गरेको छ । बरामद रकम र पक्राउ परेका ब्यक्तिलाई राजश्व अनुसन्धान विभाग काठमाडौँ पठाइने उनले जानकारी दिए ।
होटल साथीका सञ्चालकमध्येका एक दिनेश भण्डारीले भने क्यासिनोमा भारतीय रकम वा डलर नै हुने दाबी गरे । उनले नेपालीलाई प्रतिबन्धित भएको स्थानमा विदेशी मुद्रा नै आउने पनि तर्क गरे । भण्डारीले होटलको हल भाडामा लिएर क्यासिनो सञ्चालनमा रहे पनि साथी होटलसँग त्यसको कुनै सम्बन्ध नरहेको जिकिर गरे ।