मोटरसाइकलले हानेर ढलेका व्यक्तिलाई जब मर्न छाडियो
राजविराजः सवारी दुर्घटना गर्ने दुई जनालाई सप्तरी प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ । बेल्ही चपेना गाउँपालिका–६ का जयप्रकाश यादव र डाक्नेश्वरी नगरपालिका–६ का महानन्द यादवलाई पक्राउ गरी प्रहरीले ज्यान मार्ने उद्योगमा कारवाही सुरु गरेको हो ।
तिलाठी कोइलाडी–१ घर भई राजविराज ५ बस्ने ६० वर्षीय नवकान्त झालाई उनीहरु चढेको ज.१प ४२२४ नम्बरको बक्सर मोटरसाइकलले ठक्कर दिई घाइते बनाएपछि उपचार गर्न अस्पताल नलगी लुकाएर फरार भएका थिए ।
मोटरसाइकलले स्थानीय दुर्गा सेकेण्डरीमा पढाउने झालाई राजविराजस्थित क्याम्पस रोडमा गत शुक्रबार राति ठक्कर दिएर घाइते बनाएको थियो । उनीहरुले नजिकै रहेको अञ्चल अस्पतालमा लैजानुको साटो इँटा उद्योगको सुनसान बाटो हुँदै पाँच सय मिटर टाढा पु¥याई मर्नका लागि छाडिदिएका थिए ।
स्थानीयवासीको सूचनामा पाँच घण्टापछि घाइते झालाई भेटाएर उद्दार गरी बिराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको छ । गम्भीर घाइते झाको अति सघन उपचार कक्षमा उपचार भइरहेको छ भने अझैसम्म होस आएको
छैन ।
घटनास्थलमा छुटेको कपडा झुण्ड्याउने ह्याङ्गर र बिलको आधारमा प्रहरीले अनुसन्धान गरेपछि शनिबार आरोपितहरु पक्राउ परेका हुन् । उनीहरुले घटना स्विकारेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।