पहिरोमा परेर सब-इन्जीनियरको मृत्यु
बझाङ : चैनपुर ताक्लाकोट सडक खण्डको फिल्डमा खटिएका एक जना सब-इन्जीनियरको पहिरोमा परी सोमबार मृत्यु भएको छ। चैनपुर तल्कोट सडक खण्डको धमेनामाथि रुमैली भन्ने ठाँउमा सडक माथिबाट आएको पहिरोले बगाएर सब-इन्जीनियर नारायण दाहालको घटनास्थल मै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिएका छन् ।
चन्द्र-नार्गार्जुन बानिया जेभी कन्ट्रक्सन प्रालिमा कार्यरत २३ वर्षीय सिन्धुली तीनपाटन गाउँपालिका -३ का दाहाल सेती लोकमार्ग अन्र्तगतको चैनपुर ताक्लाकोट सडकको रुवातोला-धुली खण्ड निर्माणमा खटिएका थिए । क्याम्प आसपासमा बसिरहेको बेला एक्कासी सडक माथिबाट आएको पहिरोले दिउँसो ११ बजेतिर पुरिएर उनको मृत्यु भएको बुझिएको छ ।
पहिरोले उनलाई १ सय मिटर तल पुर्याएर माटोमा लास भेटाएको थियो । पहिरोबाट दाहालको शब निकाले सदरमुकाम चैनपुर ल्याइदै गरेको प्रहरीले जनाएको छ । सब-इन्जीनियर दाहालको मृत्यू भएपछि सडक निर्माणको काम रोकिएको छ ।
यसअघि अविरल वर्षाकै कारण बाढी-पहिरोमा पुरिएर थलाराडिक्लामा ५ जना, सुवेडामा ३ जना र यार्सा टिप्ने ठाँउ हिमपहिरोमा परी २ जना गरी वैशाख महिनामा मात्रै बझाङ जिल्लामा ११ जनाको ज्यान गएको छ ।