एन्फा कार्यसमिति पहिलो बैठक : महासचिवमा इन्द्रमान
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा इन्द्रमान तुलाधर नियुक्त भएका छन् । निर्वाचनको दुई दिनपछि सोमबार बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले महासचिव पदमा इन्द्रमानलाई नियुक्त गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न बैठकले कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरेको छ । इन्द्रमान यसअघि एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र रवीन्द्र अघिल्लो कार्यसमितिका सहायक कोषाध्यक्ष थिए ।
यसैगरी बैठकले संघको मानार्थ अध्यक्षमा तासी घले, किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष, शिक्षित पराजुलीलाई मानार्थ उपाध्यक्षसहित आर्थिक समितिको संयोजक, नवीन पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखसहित सल्लाहकार समितिको संयोजक, केन्द्रीय सदस्य किरन राईलाई प्रवक्ता र दीपक खातीलाई लेखापरीक्षण र अनुपालन समितिको संयोजक बनाउने निर्णय गरेको छ ।
बैठकले पूर्व राष्ट्रिय खेलाडी एवं अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मालाई लिग कमिटीको संयोजक बनाएको छ । संयोजक शर्मालाई १० दिनभित्र लिगको मिति घोषणा गर्ने जिम्मासहित लिग कमिटी निर्माण र लिगको ढाँचासमेत तय गर्ने जिम्मेवारी दिइएको छ । बैठकले एन्फाको विधान मस्यौदा समिति तथा संघअन्तर्गत विभिन्न समिति र उपसमितिको नियमावली मस्यौदा समिति, आर्थिक नियमावली, कर्मचारी प्रशासन नियमावली, जिल्ला र प्रदेशलगायत विभिन्न समितिको विधान मस्यौदा तयार गर्ने, आर्थिक नियमावली तयार नभइन्जेल राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक नियमावलीअनुसार काम गर्ने निर्णय गरेको छ ।
ग्रासरुट फुटबल कार्यक्रम सञ्चालनका लागि उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा समिति निर्माण गर्ने, मे १५ लाई एएफसी ग्रासरुट फुटबल दिवसका रूपमा मनाउने, उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा जिल्ला समन्वय समिति निर्माण, अर्का उपाध्यक्ष कृष्णबहादुर थापाको संयोजकत्वमा प्राविधिक समिति निर्माण र वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईलाई एन्फा एकेडेमी सञ्चालन संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकले अनुशासन, पुनरावेदन, मार्केटिङ र शिक्षा विभाग निर्माण, अध्यक्ष र चार उपाध्यक्षसहित पाँच जनाको स्टेरिङ कमिटी निर्माण र महासचिव, कोषाध्यक्ष र प्रवक्तालाई कमिटीको पदेन सदस्य बनाउने निर्णय, ललित स्मृति यू–१९ फुटबल जेठ २९ बाट गर्ने, किरन राईको संयोजकत्वमा पुरस्कार वितरण र छनोट समिति र सदस्य दावा लामाको संयोजकत्वमा कोकाकोला अन्तरविद्यालय फुटबल प्रतियोगिता सञ्चालन समिति बनाउने निर्णय पनि गरेको छ ।
यसैगरी बैठकले जिल्ला लिग, प्रदेश र केन्द्रीय स्तरका प्रतियोगितासहित एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता आयोजनाका लागि समिति निर्माण गर्ने, भूकम्पले क्षतिग्रस्त दशरथ रंगशालाको छिटो निर्माणका लागि सरकार तथा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने निर्णय र हालै मृत्यु भएका एनआरटी क्लबका उपाध्यक्ष विनयसिंह प्रधान र उदयपुर जिल्ला फुटबल संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र बान्तवाप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले एन्फाको प्रथम उपाध्यक्ष र सीईओ भने तोक्न सकेन । यसअघि नवनियुक्त पदाधिकारीलाई एन्फाका कर्मचारीले एन्फा मुख्यालयमा स्वागत गरेका थिए । सोमबार बिहानै एन्फाका निर्वाचित पदाधिकारीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनुवारले बधाई दिएका थिए ।