सितापुरमा ८० लाख लगानीमा बनेको नाला भत्कियो
जनकपुरधाम : सडक डिभिजन कार्यालय लहानले ठेक्कामार्फत् सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर चोकमा निर्माण गरेको भत्किएको छ। काम गुणस्तरहिन गरेका कारण नाला भत्केको हो।
सितापुर चौकमा सडकको दुबैसाइड पाँच सय मिटर नाला र चार स्थानमा होमपाइज डान गर्न सडक डिभिजनले शंकर मालि निर्माण सेवा प्रालि काठमाडौंलाई ८० लाखमा ठेक्का दिएका थिए। ठेक्का सम्झौता अनुसारको गुणस्तरीय काम नगर्दा नाला एक महिना नबित्दै भत्केको छ। दुई दिनअगाडी भएको सामान्य वर्षामै दुई स्थानमा करिब ४० मिटर नाला भत्केको स्थानीय विजय यादवले जानकारी दिए।
लक्ष्मीपुर पतारी गाउँपालिका प्रमुख रामबल्लभ साहले कमजोर नाला बनाएकै कारण भत्केको बताए। ‘निर्माण जारी रहँदा नै काम गुणस्तरहीन भइरहेको भनेर स्थानीयले पहिल्यै जानकारी गराएको थियो। तर, गाउँपालिकालाई जानकारी नै नदिई सडक डिभिजनले ठेकेदार मार्फत नाला बनाउन लागेका कारण अनुगमन गरेनौं,’ उनले भने। नाला निर्माणबारे जानकारी नदिएर सडकले गल्ती गरेको बताउँदै भत्केको ठाउँमा पुनः नाला निर्माण गर्न माग समेत गरेका छन्।
सडक डिभिजनका इन्जिनियर नितिस झाले नाला निर्माण गरेर नयाँ माटो हालेकै कारण बर्षाले नाला भत्काएको दावी गरे। काम मापदण्ड अनुसार नै भएको भनेर ठेकेदारको बचाऊ गर्दै उनले भने, ‘निर्माणमा ठेकेदारको लापरबाही देखिएको छैन्।’ उनले भत्केको ठाउँमा पुनः नाला निर्माण गर्न ठेकेदारलाई निर्देशन दिएको पनि बताए। तर, स्थानीयले भने चार भाग बालुवामा एक भाग सिमेन्ट मिश्रण गर्नुपर्ने भएपनि ठेकेदारले ६ भागमा जोडेका कारण महिना नबित्दै नाला भत्केको आरोप लगाएको छ।
यता, ठेक्का कम्पनीका प्रतिनिधि गेनालाल यादवले रिसइबीका कारण केही स्थानीयले जानेरै नाला भत्काएको दाबी गर्छन्। उनले नाला भत्काएको घटना छानबिन गर्न ईलाका प्रहरी कार्यालय लहानमा उजुरी पनि दिएको बताए। उनले भने, ‘काम गुणस्तरहीन गरेको छैन्। केही व्यक्तिले जानेर ट्याक्टर र जेसिबीले नाला भत्काएको हो।’
सितापुर चौकमा नाला मात्र भत्केको छैन्, यसअघि सडक डिभिजनले नै ठेक्का मार्फत चोहर्वा–माडर खण्डको भलुवाही चौकमा निर्माण गर्न लगाएको नाला पनि यसअघि भत्केका थिए। काम गुणस्तरहीन गरेपछि नाला भत्केको स्थानीयले आरोप लगाए पनि इन्जिनियर झाले त्यहाँको नाला पनि नयाँ माटो पुरिएकै कारण भत्केको दाबी गरेका थिए। सडकले नै माडरमा बनाउन लागेको नाला पनि मापदण्ड विपरित निर्माण भइरहेको भन्दै स्थानीयले विरोध गर्दा काम नै ठेक्का कम्पनीले ठप्प पारेको छ। विकास निर्माणको काम जहाँ–जहाँ भइरहेको छ, हरेक ठाउँको अनुगमन गर्न जिल्लाबासीको माग छ।