लागू औषध चरेससहित दुईजना पक्राउ
बैतडी : प्रहरीले लागू औषध चरेससहित दुईजनालाई बैतडीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ बल्तडीका २५ वर्षीय नवीन भण्डारी र दशरथचन्द नगरपालिका १० आदरपिण्णाका गणेशदत्त भट्ट रहेका छन् ।
भण्डारीलाई शंकाको आधारमा खानतलासी गर्दा उनको झोलाबाट ५२ ग्राम लागु औषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
भण्डारीलाई सोधपुछ गर्दा स्थानीय व्यापारी भट्टको पसलबाट किनेको बताएपछि भट्टको पसलमा समेत ३ सय ५५ ग्राम चरेश फेला परेको उनले बताए । दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ ।