बिहेभोजमा भएको विवादमा बेहुलीका दाजुको हत्या
राजविराज : सप्तरीको शम्भुनाथ नगरपालिकामा मंगलबार बिहान विवाहको भोजमा भएको विवादपछि हथौडा प्रहारबाट एक युवकको हत्या भएको छ ।शम्भुनाथ नगरपालिका–७ भंगहाका ३० वर्षीय अजय चौधरीको टाउकोमा गरिएको हथौडा प्रहारबाट मुत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
अजयको काकाको छोरीको विवाहमा उनको स्थानीय आनन्द चौधरीसँग विवाद भएको प्रत्यक्षदर्शीले बताए । जन्ती शम्भुनाथ नगरपालिका–५ मोहनपुर कठौनाबाट आएको थियो । मादक पदार्थ खाएर जिस्काएको भनी युवतीहरुले बेहुलीका दाजु बिजय र अजयलाई गुनासो गरेपछि विवाद भएको थियो ।
विवादपछि घर परिवारका सदस्यले मादक पदार्थ सेवन गरेर अद्र्धबेहोस अवस्थामा रहेका आनन्दलाई बाँधेर रातभरी नियन्त्रणमा राखेका थिए । विहानपख शौच लागेको बहाना बनाई डोरी खोल्न लगाएर निस्किएका आनन्दले हथौडा प्रहार गरी हत्या गरेको हुन सक्ने स्थानीयको अनुमान छ ।
घटनामा संलग्न हुन सक्ने आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरले सात युवकलाई नियन्त्रणमा लिएको छ । आरोपित चौधरी भने फरार भएका छन् ।
यसअघि गत बैशाख १७ गते राति शम्भुनाथ ६ कठौना बस्ने चन्देश्वर साहको छोरा १९ वर्षीय सन्तोष साहको हत्या भएको थियो । साहको शव स्थानीय शारदा बोर्डिङ्ग स्कुलदेखि दक्षिण असर्फी साहको बाँझो खेतमा फालिएको अवस्थामा फेला परेको स्थानीय ओमप्रकाश साहले बताए ।
मृतकको टाउकोमा गम्भिर चोट लागेको थियो । घटनामा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाउँदै प्रहरी उपरिक्षक सिंहले मुख्य अभियुक्त अझै फेला नपरेको बताए । प्रहरी उपरिक्षक सिंहले दुबै घटनाको कारण र अभियुक्तहरुबारे पत्ता लागिसकेकोले मुख्य अभियुक्त चाँडै पक्राउ पर्ने बताए ।