प्रहरीमा जागिर लगाइदिने प्रलोभन दिँदै ठगी गर्ने पक्राउ
सुर्खेतः प्रहरीमा जागिर लगाइदिने प्रलोभन दिँदै रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । दाङ तुलसीसपुर उपमहानगरपालिका – ५ का ५१ वर्षीय पशुपति खत्रीले जागिरको प्रलोभन देखाउँदै ठगेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता शंकर श्रेष्ठले जानकारी दिए ।
खत्रीले आफ्नो सिधै प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृतहरुसँग चिनजान रहेको र सोही आधारमा कुनै पनि प्रक्रिया बिना नै जागिर लगाउने प्रलोभन दिलाएर चार जनाबाट अग्रिम २५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।खत्रीले २०७५ जेठ महिनाको पहिलो हप्ताभित्र प्रहरीमा भर्ना गरी तालिम समावेस गराउने गरी नेपाल प्रहरीमा भर्ना गर्दिन्छु भन्दै जिल्ला सुर्खेतका तीन र दैलेखका एकजनाबाट रकम असुलेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।
पञ्चपुरी नगरपालिका–२ का २० वर्षीय धनबहादुर माँझी, प्रकाश भण्डारी, दैलेख दुल्लु नगरपालिका–१०, गमौडीका २० वर्षीया सुमनकुमारी शाही र जिल्ला सुर्खेत लेकबेसी – ३ का २० वर्षीया कृष्टी रोकायाबाट पेश्की स्वरुप २५ हजार र पछि भर्ना भइसकेपछि दुईलाख ७५ हजार प्रति व्यक्ति दिनु पर्दछ भन्दै बार्गेनिङ्ग गरिरहेको भन्ने सूचनाका आधारमा वीरेन्द्रनगरको पूजा लोकप्रिय होटलबाट उनलाई पक्राउ गरिएको हो ।
होटलमा गएर खोजतलास गर्दा पशुपती खत्रीसहित अन्य चार जना व्यक्तिलाई सोधपुछकालागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । सोधपुछ क्रममा खत्रीद्वारा चारजनाबाट रकम लिएर जागिर लगाइदिन्छु भन्दै रकमको बार्गेनिङ्ग गरिरहेको खुलेको उनले बताए ।
चारै जनाबाट शैक्षिक प्रमाण पत्र, फोटो र प्रतिव्यक्ति २५ हजार लिन लागेको भन्ने कुरा खुलेकोले ठगीविरुद्ध खत्रीलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी श्रेष्ठले जानकारी दिए ।