निरीह गुठी संस्थान : आँगनकै सम्पत्तिमा अरूको रजाइँ
काठमाडौं : मन्त्रीदेखि गुठी संस्थानका पदाधिकारीको मिलेमतोमा काठमाडौं त्रिपुरेश्वरमा रहेको करोडौं रुपैयाँबराबरको सम्पत्ति सित्तैमा नेपाल आँखा अस्पताललाई दिएको पाइएको छ। तत्कालीन गुठी संस्थानका अध्यक्ष पञ्चलाल महर्जनको पालामा एकतर्फी निर्णय गराएर करोडौं रुपैयाँको सम्पत्ति सित्तैमा दिएको पाइएको हो।
संस्थानको कमजोरीका कारण केन्द्रीय कार्यालयको आँगनमै रहेको जग्गा आँखा अस्पतालले मनपरी प्रयोग गरिरहेको संस्थानका कार्मचारी बताउँछन्। गुठीको मोही जग्गामा रहेको आँखा अस्पतालले संस्थानको केन्द्रीय कार्यालय रहेको जग्गामा समेत अतिक्रमण गरेको छ।
अस्पतालले जबर्जस्ती गरिरहेको संस्थानका प्रशासक श्रीनारायण चौधरीले बताए। सन् १९१६ मा चन्द्रशमशेरको पालामा बनेको मुसाफिरखाना भवन र त्यसले चर्चेको काठमाडौं महानगरपालिका-११ को कित्ता नं ३३२ को १० रोपनी ७ आना २ पैसा १ दाम संस्थानको जग्गा लामो समयदेखि अस्पतालले मिचिरहेको थियो। २०३० सालमा अस्पताल निर्माणसँगै गुठीको जग्गा मिचिएपछि अस्पताल र गुठीबीच विवाद हुँदै आएको छ। २०७० असार १८ गते लामो समयदेखि गुठी र अस्पतालबीचको विवाद समाधान गर्ने बहानामा तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री ऋद्धिबाबा प्रधान र प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमको उपस्थितिमै आँखा अस्पताललाई फाइदा हुने गरी एकतर्फी सम्झौता भएको संस्थानकै कमचारी बताउँछन्। सम्झौताको बेहोराले गुठीका पदाधिकारीको मिलेमतोमै अस्पताललाई जग्गा दिएको प्रस्ट हुन्छ।
सरकार र गुठीको कमजोरीका कारण अस्पतालले जग्गा अतिक्रमण गर्न सफल भएको हो। काठमाडौं महानगरपालिका–११ को साविक कित्ता नं ६, ७ र ८ (हाल ३ सय २५) को ६ रोपनी ७ आना २ पैसा जग्गामा अस्पताल सञ्चालनमा छन्। अस्पतालले मिचेको कित्ता नं ३३२ को गुठी जग्गा कानुनबमोजिम सहुलियत मूल्यमा अस्पताललाई उपयोग गर्न दिने निर्णय मन्त्रीसहितको उपस्थितिमा भएको सम्झौतामा उल्लेख छ। करिब एक रोपनी हाराहारीमा गुठीको जग्गा अस्पतालले मिचेको छ। तर सम्झौताको पाँच वर्ष भइसक्दा पनि अस्तपालले सम्झौताबमोजिमको रकम नदिएको गुठीका लेखा प्रमुख दीपकबहादुर पाण्डेले जानकारी दिए।
सम्झौताका कारण संस्थानलाई ठूलो घाटा लागेको उनले बताए। जग्गा अतिक्रमित हुँदासमेत गुठीका कर्मचारी र नेतृत्व मूकर्दशन बन्न बाध्य भएको उनको भनाइ छ। सम्झौताको कुनै अंश आँखा अस्पतालले पालना नगरेका कारण पुनरवलोकन गर्नुपर्ने पाण्डेको भनाइ छ।
संस्थानको केन्द्रीय कार्यालय भवनदेखि पश्चिम तथा अस्पतालदेखि पूर्व–दक्षिणमा रहेको हाल पार्किङका रूपमा प्रयोग गरेको जग्गा तथा टहरामध्ये गुठीको भवनमा आउन–जान बाटोका लागि डेढ मिटर जग्गा छाडी बाँकी जग्गा कानुनबमोजम सहुलियत मूल्यमा अस्पतालाई दिने निर्णय गरिएको छ। यो जग्गामा दुवै पक्षले कुनै संरचना नबनाई हाल जेजस्तो अवस्थामा छ, सोही रूपमा राख्नुपर्नेछ। उक्त जग्गाबाट सवारीसाधन लैजान वा पैदल आवतजावत गर्न संस्थानले समेत पाउने सम्झौता छ। तर उक्त जग्गामा अस्पतालले पार्किङको भाडा उठाइरहेको छ।
गुठीको स्वीकृतिबिना डेढ रोपनी जग्गामा अस्पतालले पार्किङ ठेक्का लगाएको गुठीका उपप्रशासक जयप्रसाद रेग्मीले बताए। अस्पताल र मुसाफिरखाना प्रवेश गर्ने साझा बाटोदेखि पूर्वपट्टिको ग्यारेज, शौचालय, पार्किङ र सुरक्षा गार्ड क्वार्टर रहेको जग्गा सहुलियत मूल्यमा अस्पताललाई दिने र उक्त स्थान गुठीको केन्द्रीय कार्यालय रहेसम्म संस्थानले उपयोग गर्न पाउने सम्झौता भएको छ। सहुलियत मूल्यमा अस्पताललाई दिने भनिए पनि अहिले गुठीले कुनै रकम पाएको छैन। शौचालयसमेत अस्पतालले ठेक्का लगाएको छ।
तत्कालीन अध्यक्ष महर्जनले एकपक्षीय सम्झौता गरेर अस्पताललाई गुठीको जग्गा दिएर ठूलो हिनामिना गरेको संस्थानका कर्मचारीको भनाइ छ। गुठी अधीनस्थ जग्गा महर्जनले अस्पताललाई बुझाएका छन्। किता नं ३३२ को पूर्व–दक्षिण कुनामा अस्पतालले बनाएको भनेको हालको नेत्रज्योति संघले प्रयोग गरिरहेको तीनतले भवनका सम्बन्धमा संघ र अस्पतालबीच भएको समझारीलाई गुठी संस्थानले सकारात्मक रूपमा ग्रहण गर्ने सम्झौतामा उल्लेख छ। मुसाफिरखाना भवनका कोठामध्ये पाँच वटा कोठा सम्झौतापत्रमा हस्ताक्षर भएको दिन र अन्य कोठा एक महिनाभित्र अस्पतालले खाली गरिदिने उल्लेख छ। तर भवनका पाँच कोठा दिनेबाहेकका कुनै सम्झौता अस्पतालले पालना गरेको छैन।
उक्त स्थान अस्पताललाई दिएपछि कुनै नयाँ संरचना निर्माण गर्नुपरेमा दुवैको सहमति चाहिने उल्लेख छ। मुसाफिरखानाको भवनबाट संस्थानको कार्यालय नराखी अन्य सारिएमा अस्पताललाई पहिलो प्राथमिकता दिइनेछ। संस्थानका कर्मचारीलाई अस्पतालका कर्मचारीसरह उपचारमा सहुलियत प्रदान गरिनेछ। सम्झौतापत्रमा लेखिएबमोजिम नाँप गरी जग्गा यकिन गरिने र उल्लिखित कुरा दुवै पक्षले हस्ताक्षर भएकै मितिदेखि लागु हुने उल्लेख छ। सम्झौतापत्रमा तत्कालीन मन्त्री ऋद्धिबाबा प्रधान, अस्पतालका तर्फबाट अध्यक्ष विश्वकान्त मैनाली र संस्थानका तर्फबाट पञ्चलाल महर्जनले हस्ताक्षर गरेका थिए।
गुठीको नाममा जग्गा दर्ता हुनुअघि अस्पताल स्थापना भएको अस्पतालका अध्यक्ष मैनालीले बताए। आँखा अस्पताल बनेको ४ वर्षपछि मात्रै तत्कालीन श्री ५ को सरकारको जग्गा गुठीको नाममा दर्ता भएको उनको भनाइ छ। तत्कालीन श्री ३ चन्द्रशमशेरले विसं १९८३ मा बाहिरबाट आएका मानिसलाई बस्न मुसाफिरखाना बनाएका थिए। ‘तत्कालीन श्री ५ को सरकारको जग्गामै रविशमशेर, रामप्रसाद पोखरेल र मसहितको टिमले सामुदायिक अस्पताल निर्माण गरेको हौं’, मैनालीले भने।
अस्पताल र गुठीको सम्बन्ध सौहार्दपूर्ण चलिरहेकामा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि असहमति बढेको उनले बताए। ‘बाबुराम प्रधानमन्त्री हुँदा विवाद सिर्जना भएको हो’, उनले भने। सम्झौता कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ।