थिएटरमा एकालाप
यही सहर हो,
जहाँ उम्रिएका थिए रूख मेरा उमंगका
उभिएको थियो हिमाल मेरो आशाको
र, ओच्छिएको थियो सडकसञ्जाल
इन्द्रधनुषी सपनाको।
–विप्लव प्रतीक/सहर र सपना
कविताका यी पाँच लाइनमा सपना, आशा र उमंग छ। न्यास्रिएको कुनै वृद्ध पात्रको एकालाप छ कवितामा। सपना उम्रिएको सहरको सम्झना छ। सहरका अनेक दृश्य हेरिसकेपछि कविको वेचैनी र स्मृतिदंशहरू छन्।
पाँच दशकदेखि काठमान्डु सहरका साक्षी हुन्— विप्लव प्रतीक। आफ्नो चिरपरिचत अन्दाजमा ‘इन्द्रधनुषी’ सहरको कविता सुनाउँदा उनी कतै टाढा शून्यमा हराइरहेजस्ता देखिन्थे। मानौं यी कवि सहरका अति साना–साना तर गम्भीर बदलावलाई निकै ध्यानपूर्वक अवलोकन गरिरहेका छन्। कवितामा गहिरो अनुभूति, जीवनका पीडाबोध प्रतीकको खास ‘सिग्नेचर’ हो।
मण्डला थिएटरमा साँझको एकल कविता वाचनमा प्रतीक भन्दै थिए, ‘थिएटरका मेरा प्यारा दिव्य आत्माहरूले मलाई पनि उत्तिकै स्नेह गरेको प्रमाण हो आजको उपस्थिति। र, यो साँझको समय बनेको छ त्यसैको साक्षी।’
‘विप्लव प्रतीक मलाई पोयट्रीका साधुजस्ता लाग्छन्। उनका कविता मन्त्रजस्ता हुन्छन्, जसलाई प्रार्थना भन्न सकिन्छ’, एकपटक कुमार नगरकोटीले भनेका थिए, ‘उनका कविता एकान्तमा गुञ्जने तानपुराको उच्छ्वास हुन्।’
यी ‘पोयट्रीका साधु’ भर्खरैको एक वैशाखे साँझ कविता–साधनामा थिए। थिएटरको लाइटमा सेतो, लामो कपाल टल्किएको थियो। हातमा कागज नलिई कुनै साधकजस्तो लीन भएर भावुक मुद्रामा कविता सुनाइरहेका प्रतीकलाई सुनिरहेका थिए— गायक दीप श्रेष्ठ, संगीतकार न्ह्यु वज्रायार्च, नाटक निर्देशक सुनील पोखरेलहरू।
‘थिएटर मेरा लागि जिन्दगी हो। थिएटरमा अभिनय गर्नु मेरो पूरा नभएको सपना हो’, प्रतीकले आफ्नो थिएटरप्रेम दर्शाए, ‘नेपाली थिएटर नहुँदो हो त यो सहर मेरा लागि के हुन्थ्यो, सोच्छु कहिलेकाहीँ। म कसैसँग करिब छु भने पहिलो नम्बरमा थिएटरको नाम लिन मन लाग्छ। थिएटरमा जो भेट्छु, प्रिय भेट्छु, जे देख्छु अलौकिकजस्तो लाग्छ मलाई।’
म हेरिरहेछु
एउटा साँघुरो सडक छ
र, लुतो लागेको एउटा मायालाग्दो भुस्याहा कुकुर
बाटो काट्न
कहिले दाहिने खुट्टा अगाडि
कहिले पछाडि सार्दै छ।
–जेब्राक्रसमा एउटा कुकुर
जेब्राक्रसमा उभिएको भुस्याहा कुकुर र साँघुरो सडकको विम्ब सम्झाइरहेको थियो माथिको कविताले। आफ्नो चिरपरिचत लवजमा चर्चित कविता ‘जेब्राक्रसमा एउटा कुकुर’ वाचन गर्दा कवि प्रतीक पानीले भर्खरै पखालेको सहरका तमाम भुस्याहा कुकुरहरू सम्झिरहेका थिए।
साँझ डेढ घन्टाको थिएटर कविता–वाचनमा उनी चुप बसेनन्। जीवन, प्रेम, पिता, कम्युनिस्ट, क्रान्ति, सिनेमा, साहित्यमाथि गम्भीर कुरा बेलाबेला गरिरहे।
‘कविताहरू जुनसुकै भावका किन नहुन्— जीवनका, विरोधका, प्रेमका, विरहका या खुसीका; ती सब हृदयका तार रेटिएर मात्र बुनिन्छन्’, प्रतीक भनिरहेका थिए, ‘झट्ट सुन्दा प्रफुल्ल मन गराउने कविता पनि कहिलेकाहीँ विरहको अँगालोमा बेरिएको हुन्छ। मैले आज सुनाउने कविताहरू रंगमञ्च र रंगकर्मीहरूलाई समर्पित छ। र, जीवनको रंगमञ्चका बाँकी कलाकारलाई पनि समर्पित छ।’
कार्यक्रम आयोजक मण्डला थिएटरका राजन खतिवडा भन्दै थिए, ‘विप्लवका कविता महसुसका लागि हुन्, अनुभूतिका लागि हुन्।’
०००
असार–साउनतिर झरी र हुरी चल्दा एउटा पुरानो गीत धेरैको सम्झनामा आउँछ, ‘हर रात सपनीमा...।’ प्रतीकले लेखेको यो गीतलाई ०५६ मा दीप श्रेष्ठले गाएपछि गीतको उचाइ व्यापक बन्यो। कस्तो भइदियो भने, विप्लवलाई काव्यमा जीवित राख्न यही एउटा गीत पर्याप्त छ।
‘आगो र आँधी सोचिरहेछु/भुइँचालोलाई थाम्छु भनी/हर साँझ सहरमा हुरी चल्छ/गाउँमा सायद छानै उड्यो कि ? ’ विप्लव गीततिर पस्थे बेलाबेला।
विप्लवका कविता ध्यानले सुनिरहेका थिए— दीप श्रेष्ठ। ‘एउटा गहिरो एक्लोपन उनका कवितामा छ। विप्लव राम्रा कवि हुन्। राम्रो गीतकार पनि। मैले गाएको उनको त्यो गीत एउटा भव्य कविता हो। कविता अनुभूत गरेर गीत लेख्ने मान्छे हुन् उनी’, दीप भन्छन्, ‘मलाई उनको सबैभन्दा मन पर्ने गुण यही हो। आनन्द अनुभूत गर्छु उनका कविता सुन्दा।’
कविता सुनेर बेलाबेला मञ्चबाटै प्रतिक्रिया दिइरहेका थिए सुनील पोखरेल। ‘उनी सरल भाषामा कविता लेख्छन्’, सुनील भन्छन्, ‘जीवनबारे लेखेका उनका कविता मलाई मन पर्छ। हर रात सपनीमा मलाई औधी मन पर्ने कविता हो।’
एकल कविता वाचनमा विप्लवले ‘सम्झनाको सुरुङ’, ‘जूनले म्वाइँ खाएको मान्छे’, ‘लास’, ‘मेरो खुल्दुली’, ‘गौंथली’लगायत दर्जन कविता सुनाए।
आफ्नो लामो कविता–यात्राको खुसी बाँडिरहेका थिए प्रतीक— मुस्कुराएर। डेढ घन्टादेखि आनन्दित भएर आफ्ना कविता सुनिरहेका दर्शकको भव्य तालीको जवाफमा प्रतीकले अन्त्यमा कृतज्ञता व्यक्त गरे, ‘म कृतज्ञ छु, नतमस्तक छु र आभारी छु सबै साक्षीप्रति जो कविताको कदर गर्न यहाँ उपस्थित भएका छन्। यस साँझमा मैले पाएको माया र सहानुभूति मेरा लागि स्मरणीय रहनेछ, आजन्म।’
टाढा गएका आफन्त र साथीहरूलाई सम्झँदै उनले ‘अन्तिम भेट’ सुनाए—
मलाई मन छ, म भएको कसैलाई थाहै नहोस्
मलाई मन छ, म गएको पनि कसैलाई थाहै नहोस्।