मोदी भ्रमणबारे भारतीय मिडिया : 'सम्बन्ध सुधार कि मतदाता रिझाउने रणनीति?'

मोदी भ्रमणबारे भारतीय मिडिया : 'सम्बन्ध सुधार कि मतदाता रिझाउने रणनीति?'

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे नेपालमा मात्रै होइन, भारतमा पनि चर्चा छ। भारतीय मिडियाहरूले मोदीको भ्रमणलाई विभिन्न कोणबाट हेरेका छन्।

कतिपयले मोदीको आसन्न नेपाल भ्रमणलाई धार्मिक भ्रमणका रुपमा मात्र लिएका छन् भने कतिपयले नाकाबन्दीपछि नेपालसँग बढेको दूरी कम गर्ने भारतीय मौकाका रुपमा खबर लेखेका छन्। भारतीय नाकाबन्दीपछि चीनसँग ढल्किएको नेपालमा चिनियाँ प्रभाव कम गर्ने प्रयासका रुपमा पनि मोदीको भ्रमणलाई भारतीय मिडियाहरूले हेरेका छन्। कतिपय मिडियाले भने मोदीको भ्रमणलाई भारतको चुनावसँग जोडेर त्यहाँका मतदातालाई प्रभावित पार्ने रणनीतिका रुपमा हेरेका छन्।

मोदी दुई दिने भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन्। जनकपुरबाट सुरु हुने उनको तीर्थाटन मुक्तिनाथसम्म पुग्नेछ।

भारतीय अनलाइन द वायरले 'नेपालको राजनीतिक नेतृत्वसँग विश्वासको वातावरण बनाउन मोदीले नेपाल भ्रमण गर्न लागेको' उल्लेख गरेको छ। संविधान निर्माणपछि असन्तुष्ट बनेको भारतले नेपालमा नाकाबन्दी लगाएपछिको कुटनीतिक संकटका बीच उत्तरी छिमेकी चीनसँग नजिकिएको नेपाल अझै आफ्नो प्राथमिकतामा रहेको सन्देश दिने मौकाका रुपमा मोदीले भ्रमणलाई उपयोग गर्न खोजेको समाचारमा जनाइएको छ।

नेपालमा चीनको प्रभाव कम गर्ने प्रयासस्वरुप प्रधानमन्त्री भएको चौँथो वर्षमा मोदी तेस्रोपटक नेपाल आउन लागेको नवभारत टाइम्सले उल्लेख गरेको छ। धार्मिक भ्रमण भनिएपनि दुई देशबीच बढेको दूरीलाई कसरी कम गर्ने भन्नेमा प्रधानमन्त्री मोदी र ओलीले ध्यान दिने समाचारमा जनाइएको छ।

मोदीले नेपाल भ्रमणको सुरुवातका लागि जनकपुर नै किन रोजे भन्नेमा पनि भारतीय मिडियाले विभिन्न अनुमान गरेका छन्। इन्डियन एक्सप्रेसले लेखेको छ- 'मोदीले जनकपुरनै रोज्नुको संकेत यो हो कि भारतले तराईँको मुद्दालाई छोडेको छैन र यहाँ हालै भएका चुनावका परिणामहरूलाई खुला पनि स्वीकार गरेको छैन।'

बीबीसी हिन्दीले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई त्यहाँको कर्नाटक राज्यमा हुन लागेको विधानसभा चुनावसँग जोडेर हेरेको छ। मोदी कर्नाटक राज्यमा मे १२ मा हुन लागेको विधानसभा चुनावलाई प्रभावित पार्ने उद्देश्यले नेपाल आउन लागेको दाबी बीबीसीले गरेको छ।

बुधबार प्रकाशित खबरमा कर्नाटकमा विधानसभाको निर्वाचन हुने अघिल्लो दिन नेपाल आउनु र  हिन्दु धार्मिक तीर्थस्थलको भ्रमण गर्नु उनको चुनावी रणनीति भएको उल्लेख छ।

मतदान हुने दुई दिनअघिदेखि चुनाव प्रचार–प्रसार गर्न नपाइने भारतीय निर्वाचन आयोगको नियम रहेकाले नेपालमा आएर घुमाउरो पाराले भारतीय जनता पार्टीको पक्षमा चुनाव प्रचार गर्ने उनको मुख्य उद्देश्य रहेको खबरमा दाबी गरिएको छ ।

भारतको दक्षिण पूर्वी भागमा रहेको कर्नाटक राज्यमा ८० प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बीको बसोबास छ। यहाँको चुनावमा धार्मिक मुद्दा प्रधान बन्ने गर्छ। कर्नाटक राज्यमा भारतीय जनता पार्टीले हिन्दुत्वलाई मुख्य मुद्दा बनाएर आक्रामक प्रचार गरिरहेको बीबीसीले उल्लेख गरेको।

नेपाल भ्रमणका क्रममा मोदीले यहाँ गर्ने गतिविधिहरू भारतीय मिडियामा प्रमुख समाचार बन्ने र नेपालमा महत्वपूर्ण हिन्दू धार्मिक तीर्थस्थलहरूमा उनको दर्शनले कर्नाटकका हिन्दु मतदातामा भाजपाप्रति मोह बढ्ने अनुमान गरेर नै मोदी नेपालका धार्मिकस्थलको भ्रमण गर्न लागेको खबरमा भनिएको छ।

यसअघि पनि २०१७ को मार्च ८ मा भएको उत्तर प्रदेशको विधानसभाको मतदानका दिन मोदीले गुजरातमा रहेको सोमनाथ मन्दिरको दर्शन गर्न गएका थिए।

भाजपाले चुनाव प्रचारका लागि विभिन्न समयमा फरक–फरक रणनीति अपनाउँदै आएको छ। उनले मन्दिरको दर्शन गर्ने रणनीति भने निर्वाचन हुन लागेको स्थानको आवश्यकतालाई विचार गरेर गर्ने गरेको बीबीसीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.