दाहाल: ट्वीटरमा के लेख्नु भएको ? ओली: तपाईँलाई भनेको होइन

दाहाल: ट्वीटरमा के लेख्नु भएको ? ओली: तपाईँलाई भनेको होइन

काठमाडौँ: प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेको एउटा कुरालाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स‌शंकित भएका छन् । 

प्रधानमन्त्री ओलीले सोमबार आफ्नो निजी ट्विटर ह्यान्डलमार्फत फेरिँदो राजनीतिक समीकरणबारेमा कडा टिप्पणी गरेका थिए । ओलीको त्यो टिप्पणीलाई लिएर प्रचण्डले बुधबार ओलीसँग बालुवाटारमा भएको भेटवार्ताका क्रममा यसबारे प्रश्न गरेका थिए । 

दाहालले ट्वीटरमा लेखिएको प्रसंगबारे प्रश्न गर्दै त्यसले आशंका र अविश्वासको वातावरण बनाएको गुनासो गरेका थिए । तर ओलीका सल्लकारहरुले भने त्यो ट्वीट माओवादीलाई नभई कांग्रेसलाई लक्षित गरिएको बताएका छन् । 

ओलीले कांग्रेसले माओवादी र फोरमसँग समेत विभिन्न राजनीतिक मुद्दामा समीकरणको प्रयास गरेको सन्दर्भमा आफूले यस्तो धारणा सार्वजनिक गरेको जबाफ दाहाललाई दिएका थिए । प्रमको निजी ह्यान्डलबाट गरिएको उक्त ट्वीटले राजनीतिक तरंग नै ल्याएको थियो । ओलीको उक्त ट्वीटबारे माओवादी अध्यक्ष प्रचण्डले पनि असन्तुष्टि जनाउँदै त्यसबारेमा पनि कुरा गर्ने बताएका थिए । 

'हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौँ। आफ्नो दुनो सोझ्याउन समिकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुचि हुनसक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ', ओलीले ट्वीट गर्दै यसो भनेपछि एकताप्रक्रियामा रहेका दुई दलबीच संशयको अवस्था भएको थियो । 

‌ओलीसँग भएको बुधबारको भेटवार्तामा ट्वीटबाट उत्पन्न भ्रममाथि छलफल भएको पुष्टि पनि प्रचण्डको सचिवालयले गरेको छ । यद्यपि प्रधानमन्त्री ओलीका प्रेस सं‌योजक चेतन अधिकारीले भने बिहान पौने ११ देखि २ घण्टासम्म भएको छलफल पार्टी एकतामा केन्द्रित रहेको जानकारी अन्नपूर्ण अनलाइनलाई दिए । 

प्रचण्डको सचिवालयले भने ट्वीट र सञ्चारमाध्यमका कारण उत्तपन्न भ्रम आजको भेटले चिर्न सफल भएको दाबी गरेकव छ। 

'पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ', प्रचण्डको सचिवालयले भनेको छ, 'भेटवार्तामा ट्वीट लगायत सञ्चारमाध्यममा आएका विषयवस्तुले सिर्जना गरेका भ्रममाथिको छलफल पश्चात वातावरण सहज बन्यो ।'

प्रधानमन्त्रीले समीकरण फेर्न बानी परेकाहरुलाई भन्दै ट्विटमार्फत कडा प्रतिक्रिया दिएपछि यसबारे एमाले-माओवादी दुवै दलमा विभिन्न शं‌का उपश‌ंका देखिएका थिए । प्रचण्ड र ओलीबीच २ घण्टासम्म एक्ला–एक्लै भएको वार्तापछि पार्टी एकताका लागि अझ सहज वातावरण बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यसअघि गत वैशाख २० गते ओली-प्रचण्डबीच दुई पटक वार्ता भएको थियो । गत वैशाख १४ गते दुई नेताबीच भएको वार्तामा एकताको अन्तिम टुंगो लागेको बताउँदै बुद्ध पूर्णिमा पछि (वैशाख २३ गते) एकताको मिति घोषणा गरिने बताइएको थियो । 

तर, अझै पनि एकताको मिति तय नभएको अवस्थाम दुई नेताबीच बुधबार बिहान एक्ला एक्लै वार्ता भएको थियो । ‘एकताकै विषयमा वार्ता भएको बुझिएको छ’, प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘तर दुई नेताबीच भएको वार्ताको विस्तृत विवण आएको छैन ।’

एकताप्रक्रिया अन्योलमा परेको अवस्थामा प्रधानमन्त्री ओलीले सोमबार आफ्नो निजी ट्वीटर ह्यान्डलबाट फेरिँदो राजनीतिक समीकरणबारे कडा टिप्पणी गरेका थिए । ओलीको त्यो टिप्पणी कसैलाई नभई राजनीतिक अस्थिरतातर्फ केन्द्रित रहेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताएका थिए ।

एमाले-माओवादी एकता वैशाख ९ गते नै हुने भनिएको थियो । एकता संयोजन समिति र दुई कार्यदलले पनि बैचारिक र नीतिगत कुरामा कुनै समस्या नरहेको प्रतिवेदन दिइसकेका छन् । 

तर, ओली-प्रचण्ड दुवै नेता व्यवस्थापनका कारण तनावमा छन् । प्रचण्डलाई सबैभन्दा अफ्ठेरो एमालेसँग मिलेपछि बन्ने नयाँ पार्टीमा आफ्ना नेता व्यवस्थापनले पारेको छ । 

सम्बन्धित समाचार:

समिकरणबारे प्रधानमन्त्रीको ट्वीटले तरङ्ग, कसमाथि यो प्रहार ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.