विश्वकप जितेको सपना देख्न थाले गोडिन

विश्वकप जितेको सपना देख्न थाले गोडिन

लन्डन : अबको ३५ दिनपछि फुटबलको महाकुम्भ विश्वकप सुरु हुँदैछ । रूसले आयोजना गर्न लागेको २१औं विश्वकप फुटबलमा छनोट पार गर्दै अन्तिम चरणमा पुगेका विश्वका उत्कृष्ट ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । करिब एक महिना चल्ने प्रतिस्पर्धापछि उत्कृष्ट एक टोलीले उपाधि जित्नेछ । यद्यपि त्यसअघि नै सहभागी विभिन्न टोलीले विश्वकप जित्ने दाबी सुरु गरेका छन् ।

त्यसमा सबैभन्दा अगाडि देखिएका छन्, उरुग्वेका रक्षक डिएगो गोडिन । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने ‘सेन्ट्रल डिफेन्डर’ गोडिनले विश्वकप सुरु हुने दिन नजिकिँदै गर्दा आफूले उपाधि जितेको सपना देख्न थालेको बताएका छन् । उनले आफू ६८ वर्षपछि विश्वकप ट्रफी उचाल्ने उरुग्वेको पहिलो टोलीको सदस्य बन्न चाहेको बताएका छन् ।

‘त्यस्तो कुनै दिन छैन, जुन मैले विश्वकपका बारेमा नसोचेको होस्’, गोडिनले भनेका छन्, ‘मैले विश्वकपको ट्रफी उचाल्ने सपना पनि देख्न थालेको छु ।’ हालसम्म दुई पटक विश्वकप उपाधि जितेको उरुग्वेले पछिल्लो पटक सन् १९५० मा उपाधि हात पारेको थियो । त्यतिबेला अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का तत्कालीन अध्यक्ष जुल्स रेमिटले उरुग्वेका कप्तान ओब्दुलियो भारेलालाई उपाधि हस्तान्तरण गरेका थिए । त्यसयता भने उरुग्वेले विश्वकपको फाइनलसम्मको यात्रा पनि तय गर्न सकेको छैन । यो अवधिमा उरुग्वे सेमिफाइनलमा भने तीन पटक पुगेको छ । उरुग्वे सन् १९५४ मा हंगेरी, सन् १९७० मा ब्राजिल र सन् २०१० मा नेदरल्यान्ड्ससँग पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो ।

गोडिनले अहिले टोलीका सबै सदस्य चोटबाट मुक्त रहेकाले पनि उपाधिको सम्भावना प्रबल रहेको दाबी गरेका छन् । ‘हामी राम्रैसँग विश्वकपका लागि छनोट भएका छौं’, उनले भनेका छन्, ‘अझ महत्वपूर्ण कुरा अहिलेसम्म हाम्रा कुनै पनि खेलाडी घाइते छैनन् । प्रतियोगिताअघि हामी शारीरिक रूपमा उच्च फर्ममा रहेकाले पनि विश्वकप उपाधि सम्भावना बढी देखेको छु ।’

गोडिनले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपपछि प्रशिक्षक ओस्कार टाबरेजको नेतृत्वमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएको पनि बताए । दक्षिण अफ्रिका विश्वकपपछि उरुग्वेले सन् २०१४१ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा ब्राजिलले आयोजना गरेको विश्वकपमा उरुग्वेले इङ्ल्यान्डलाई २-१ र इटालीलाई १-० गोलले पराजित गरेको थियो ।

‘दक्षिण अफ्रिका विश्वकपपछिको आठ वर्षमा खेलेको विश्वकप छनोट, कोपा अमेरिकालगायतका प्रतियोगितामा हामीले आफ्नो प्रदर्शनलाई उच्चस्तरमा एकरूपता दिन सफल भएका छौं’, राष्ट्रिय टोलीबाट एक सय १६ क्याप जितेका गोडिनले भने, ‘टोलीमा अनुभवी खेलाडीको बाहुल्य छ । पुराना खेलाडी अझै पनि उच्च फर्ममा छन् । नयाँ खेलाडीसँग पनि युरोपमा खेलेको राम्रो अनुभव छ ।’

टोलीका लागि ९७ खेलबाट ५० गोल गरेका लुइस स्वारेज र एक सय खेल खेलेर ४२ गोल गरेका एडिन्सन काभानी उरुग्वेका दुई उत्कृष्ट स्ट्राइकर हुन् । उरुग्वे रूस विश्वकपको समूह ‘ए’ मा परेको छ । समूहगत चरणमा उरुग्वेले मोहम्मद सलाहको टोली इजिप्ट, साउदी अरेबिया र आयोजक टोली रूससँग प्रतिस्पर्धा गर्नेछ । गोडिनले रूस विश्वकप आफ्ना लागि विशेष हुने पनि बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.