पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि
मोनाको : फ्रेन्च कप फुटबल प्रतियोगिताको उपाधि पेरिस सेन्ट जर्मन (पीएसजी) ले जितेको छ । फ्रान्सको राष्ट्रिय रंगशालामा बुधबार बिहान भएको खेलमा पीएसजीले तेस्रो डिभिजनको क्लब लेस हर्बियसलाई २-० गोलले हराउँदै उपाधि हात पारेको हो । पीएसजीले लगातार चौथो पटक फ्रेन्च कपको उपाधि चुमेको हो । पीएसजीले सन् २०१५ देखि पीएसजीले लगातार यो प्रतियोगिताको उपाधि जित्दै आएको छ ।
भर्खरै फ्रेन्च लिगको उपाधि चुमेको पीएसजीलाई फ्रेन्च कपको उपाधि दिलाउन जियोभानी लो सेल्सोले २६औं मिनेटमा पहिलो गोल गरेका थिए । जियोभानीको करिब २५ यार्ड लामो प्रहार सोझै गोलमा परिणत भयो । खेलभर तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लेस हर्बियसलाई दबाबमा राखेको पीएसजीले दोस्रो हाफमा अर्को गोल थपेको थियो ।
पीएसजीका लागि पेनाल्टीमार्फत एडिन्सन काभानीले दोस्रो गोल गरेका थिए । डीबक्सभित्र लेस बर्बियसका म्याथ्यु पिचोटले फल खेलेपछि पाएको पेनाल्टी प्रहारको अवसरलाई काभानीले सही सदुपयोग गरेका थिए । पीएसजीले खेलभर लेस हर्बियसलाई दबाबमा राखेको थियो । उपाधि जितेपछि पीएसजीका अफिसियल र खेलाडीले खुसी मनाउनु स्वाभाविक थियो । तर, लेस हर्बियसका खेलाडी र अफिसियलसमेत हारेर पनि उत्तिकै खुसी देखिएका थिए ।
‘गत अक्टोबरमा हामीले फ्रेन्च कपको दौड सुरु गर्दा जम्मा दुई सय १७ दर्शक थिए । अहिले शीर्ष डिभिजन लिग च्याम्पियनसँग ७३ हजार सात सय ७२ दर्शक क्षमताको स्टेडियममा हजारौं दर्शकलाई आफ्नो क्षमता देखाउन पाउनु नै टोलीको जित हो’, पीएसजीसँग खुसीयालीमा सहभागी भएका पराजित टोलीका प्रशिक्षक स्टेफन मासलाले भने, ‘म आफ्ना खेलाडीको प्रदर्शनबाट पनि सन्तुष्ट छु ।’