भारत र पाकिस्तानमा भूकम्प
नयाँदिल्ली : भारत, पाकिस्तान, अफगानिस्तान र ताजकिस्तानका केही ठाउँमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको केन्द्र ताजकिस्तानको इसकासिमदेखि ३६ किलोमिटर उत्तरपश्चिममा रहेको बताइएको छ।
करिब १६ करोडभन्दा बढी मानिसले उक्त भूकम्प महसुस गरेको बताइएको छ। भारतको राजधानी नयाँदिल्लीदेखि भारत नियन्त्रित कश्मीरसम्मका भारतका विभिन्न ठाउँमा भूकम्प गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतमा ६.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।
भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुला ठाउँमा भेला भएका थिए। कुनै ठूलो क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको अधिकारीहरूले बेलुका बताएका छन्।
त्यसैगरी पाकिस्तानमा गएको भूकम्प ६.४ म्याग्निच्युड मापन गरिएको छ। राजधानी इस्लामाबाददेखि अफगानिस्तानसँगको सीमा क्षेत्रसहित देशका विभिन्न ठाउँमा भूकम्प महसुस गरिएको छ।
भूकम्पका कारण राष्ट्रियसभाको बैठक पछाडि सारिएको थियो। पाकिस्तानमा पनि भूकम्पबाट कुनै मानवीय क्षति भएको विवरण भने नआएको अधिकारीले बताएका छन्। यसैगरी अफगानिस्तानको राजधानी काबुलमा पनि भूकम्पको महसुस गरिएको छ।