भूकम्पमा जोगिएका विद्यालय पनि भत्काइने
सरकार आफैंले भत्काउँछ, बनाउँछ
काठमाडौं : भूकम्पमा जोगिएका तर कमजोर संरचना भएका विद्यालय भवन सरकार आफैंले भत्काएर पुनर्निर्माण गर्ने भएको छ । बाहिरी रूप राम्रो देखिए पनि भूकम्पीय दृष्टिले जोखिमयुक्त विद्यालयको आवश्यकताअनुसार पुनर्निर्माण र रेट्रोफिटिङ गर्न लागिएको भूकम्पप्रभावित विद्यालयको पुनर्निर्माणको जिम्मेवारी लिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (सीएलपीआईयू)ले जानकारी दिएको छ ।
भूकम्पबाट जोगिए पनि भविष्यमा आउन सक्ने सानो धक्काबाटै भत्किन सक्ने खतरा भएका विद्यालय बनाउन लागिएको हो । पहिलो चरणमा भूकम्पबाट धेरै क्षति भएका १४ जिल्लाका विद्यालयलाई पुनर्निर्माण तथा रेट्रोफिटिङका लागि प्राथमिकतामा राखिएको छ । अन्य जिल्लामा पनि यो कार्यक्रम विस्तार गर्दै लैजाने योजना रहेको सीएलपीआईयूका आयोजना उपनिर्देशक दिलीपशेखर श्रेष्ठले बताए ।
भूकम्पबाट धादिङ, नुवाकोट, गोरखा, रसुवा, चितवन, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, रसुवा, काठमाडौं, भक्तपुर र ललितपुरका धेरै विद्यालयमा क्षति पुगेको थियो । यी सबै जिल्लामा गरेर पाँच हजार सात सय ६० वटा विद्यालयमा क्षति पुगेको थियो ।
यी विद्यालयमा पुनर्निर्माण प्रक्रिया यसअघि नै सुरु भइसके पनि भूकम्पले क्षति नपु¥याएको तर जोखिमयुक्त संरचना भएका करिब पाँच सय विद्यालय भत्काएर बनाउनुपर्ने आवश्यकता रहेको श्रेष्ठले बताए । भूकम्पले नभत्किएको तर जोखिम रहेका कारण भत्काएर पुनर्निर्माण गर्नुपर्ने एक सय ८० र रेट्रोफिटिङ गर्नुपर्ने एक सय ५० वटा विद्यालय छनोट भइसकेका छन् । त्यसमध्ये अधिकांश विद्यालय ढुंगामाटोबाट बनेको तथा जोखिम संरचनायुक्त छन् ।
पुनर्निर्माणका लागि छानिएकामध्ये ६७ वटा पहिलो चरण र १३ वटा विद्यालय दोस्रो चरणमा निर्माण हुनेछन् । रेट्रोफिटिङ गर्नुपर्ने एक सय ५० वटा विद्यालयलाई पनि आवश्यकताका आधारमा प्राथमिकता दिएर पहिलो र दोस्रो चरणमा काम सम्पन्न गरिनेछ ।
न्यूनतम दुई सय विद्यार्थीले अध्ययन गरिरहेको, कुल विद्यार्थी संख्याको २० प्रतिशत दलित, जनजाति तथा छात्राले अध्ययन गरिरहेका विद्यालयलाई मात्र पुनर्निर्माण र रेट्रोफिटिङका लागि छानिएको श्रेष्ठले बताए । ‘दाताले रकम दिनुअघि नै यस्तो सर्त राखेको थियो । सोहीअनुसार विद्यालय छानेका हौं’, उनले भने ।
१४ जिल्ला पहिलो प्राथमिकतामा
आवश्यकताअनुसार पुनर्निर्माण र रेट्रोफिटिङ
पुनर्निर्माणका लागि एक सय ८० र रेट्रोफिटिङका लागि एक सय ५० विद्यालय छनोट
एडीबीको आर्थिक सहायता
विद्यालय पुनर्निर्माण र रेट्रोफिटिङका लागि लाग्ने एक सय ९९ मिलियन अमेरिकी डलर रकम एसियाली विकास बैंक (एडीबी)ले सहयोग गर्ने भएको छ । ‘सहयोग सम्झौता भएर पहिलो चरणमा छानिएका ६७ विद्यालयको डिजाइन र पुनर्निर्माणका लागि लाग्ने रकमको समेत आकलन गरिसकेका छौं’, उनले भने, ‘ठेकेदार छनोटको तयारीमा छौं ।’
भूकम्पबाट मुलुकभरका नौ हजार विद्यालयमा क्षति पुगेको थियो । त्यसमध्ये तीन हजार ६ सय १३ वटाको पुनर्निर्माण भइसकेको छ । एक हजार सात सय १९ वटा पुनर्निर्माणको क्रममा र तीन सय २८ वटा विद्यालय निर्माणका लागि छनोट भएको आयोजनाले जानकारी दिएको छ ।