ओलीको ट्विटबारे प्रचण्ड : किन त्यसो भनियो ?

ओलीको ट्विटबारे प्रचण्ड : किन त्यसो भनियो ?

काठमाडौं : पार्टी एकताको सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरिसकेका एमाले–माओवादीबीच अझै एकअर्कामा अविश्वास कायमै छ । १७ असोजमा चुनावी तालमेलसँगै पार्टी एकताको सैद्धान्तिक सहमति गरेका दुई पार्टीबीच दरिलो विश्वास कायम हुन नसकेको प्रधानमन्त्रीको सामाजिक सञ्जालमा पोस्ट भएको एउटा ट्विटले देखाएको छ । त्यही ट्विट बुधबार दुवै पार्टी अध्यक्षबीच भएको झन्डै तीन घण्टा लामो छलफलको प्रमुख विषय बन्न पुग्यो ।

पार्टी एकता, सरकारको आगामी नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०७५/०७६ को बजेटलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीबीच शंका÷आशंकामै केन्द्रित रही बढी समय व्यतित भएको थियो ।

गत शनिबार दुई अध्यक्षबीच भएको छलफलले पार्टी एकतालाई करिब निष्र्कषतिर लगेको दुवै पार्टीका नेताहरूले बताइरहँदा फेरि अविश्वास र आशंका सतहमा प्रकट भएको हो ।

प्रधानमन्त्रीको ट्वीटरमा सोमबार ‘आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेका’ भनी एउटा ट्विट पोस्ट भएको थियो । बुधबार ओली–दाहाल भेटमा दाहालले उक्त शब्द ‘कोप्रति लक्षित’ भएको भनी ओलीसँग धारणा माग गरेका थिए । ‘तपार्इंको ट्विटरबाट पोस्ट भएको कुराले मलाई गम्भीर बनाएको छ, यो कसलाई लक्षित हो ? किन यस्तो टिप्पणी आयो ? ’ ओलीसँग दाहालले राखेको भनाइ उद्धृत गर्दै दाहालको निजी सचिवालयले बतायो ।

तर यसलाई गम्भीर विषय बनाउन आवश्यक नरहेको प्रतिक्रिया ओलीले दाहाललाई दिएका थिए । ‘यो ठूलो विषय नै थिएन, यसलाई अतिरञ्जित बनाउन खोजियो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने, ‘जसरी गर्न खोजिएको थियो, त्यसमा त्यसरी आंशका गर्नुपर्ने विषय नै थिएन । प्रधानमन्त्रीले माओवादी अध्यक्ष दाहाललाई यसलाई सामान्य रूपमा लिन आग्रह गर्नुभयो ।’

ओलीले आफ्नो भनाइ बिखण्डनकारीप्रति लक्ष्य गर्न खोजिएको भए पनि आफ्नो सचिवालयका साथीले त्यसलाई त्यसरी पोस्ट गरिदिएको स्पष्टीकरण बुधबार दाहाललाई दिएका थिए । दाहालले भने दुई पार्टीबीचको एकता एकले अर्काेलाई दिने र लिने विषय नभई समानताका आधारमा गराउन खोजिएको भन्दै आफूहरू माग्न आएको र एमालेले दिन खोजेको जस्तो गरी भइरहेका पछिल्ला प्रचारमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

ओलीले यी सबै शंका–आशंकालाई निवारण गर्ने वचन दाहाललाई दिएका छन् । माओवादी केन्द्रका नेता जर्नादन शर्माले बुधबार दुई अध्यक्षबीचको छलफलबारे भने, ‘कतिपय प्रश्नहरू उठेका थिए, त्यसले केही प्रभाव र आशंका जन्माएका थिए, त्यसको निवारण दुई अध्यक्षको छलफलले गरेको छ । बिहीबार पनि थप छलफल हुन्छ ।’

बुधबार ओली–दाहाल भेटमा दाहालले उक्त शब्द ‘कोप्रति लक्षित’ भएको भनी ओलीसँग धारणा माग गरेका थिए ।

बुधबारको छलफलमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा माओवादी अहिले सत्ता साझेदार दलका रूपमा रहेको कारण पर्याप्त छलफल नगरिएकोमा पनि दाहालले प्रधानमन्त्रीसँग असन्तुष्टि पोखेका थिए । दाहालको असन्तुष्टिपछि ओलीले माओवादी मन्त्रीहरू र अर्थमन्त्रीलगायतलाई सँगै राखेर बजेटका विषयमा छलफल गरिने आश्वासन दिएका थिए । शर्माका अनुसार बिहीबार सरकारमा सहभागी माओवादीका मन्त्रीहरू शीर्ष नेताहरूसहित प्रधानमन्त्री, अर्थमन्त्रीलगायत मन्त्रीहरूसँगै बसेर आगामी बजेटमा केन्द्रित रही छलफल हुनेछ । दाहाल बिहीबार सर्लाही जाने कार्यक्रम रहेकाले उनी त्यता जानुअघि नै छलफल हुन सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.