लालपुर्जा पाउने सपना अधुरै
बझाङ ः जयपृथ्वी नगरपालिका जोशी गाउँमा पुस्तौंदेखि हलिया भएर काम गर्दै आएका सोही गाउँका दलित परिवारले हालसम्म आफू बस्दै आएको घर, जमिनको लालपुर्जा पाएका छैनन् ।
जोशी जातिको हलिया–खलिया काम गरेर जीवन गुजारा गर्दै आएका दलित बस्ने घरको ०४९ सालमा जिल्लाबाट गएको नापी टोलीले दलितको नाममा कित्ता टिपेको भए पनि अहिलेसम्म उनीहरूको नाममा धनीपुर्जा बनेको छैन ।
२६ वर्षअघि जिल्लाबाट आएको नापी टोलीले आफूहरू बसेको घरको जमिनको कित्ता टिपे पनि बाहुनहरूले आफ्नो भनेर दाबी गरेपछि जमिनको पुर्जा नपाएको रंगलाल विकले दुखेसो पोखे । उनीजस्तै प्यारु कामी, कलक, बने, धन, डबल, कालु, प्रदेशी, मोती, धन, गिरी र पदम विकको नाममा पनि टोलीले घर बनाएको जमिनको कित्ता दर्ता देखिन्छ । जोशीहरूले आफ्नो उजुरी फिर्ता गरे जुन कित्ता जमिन जसको नाममा छ उसैलाई पुर्जा दिन सकिने कार्यालय प्रमुख कृष्ण बोहराले बताए । भूमिहीन भएपछि दलितलाई आफ्नो कब्जामा राख्न सकिन्छ भन्ने मनसायले जोशीहरूले जग्गा नदिएको उनीहरूको आरोप छ ।
जोशी गाउँका दलितजस्तै अन्य गाउँबस्तीमा पनि दलितका यस्तै समस्या धेरै ठाउँमा छन् । गैरदलितको जमिनमा पुस्तौंदेखि बस्दै आएका तर उनीहरू बसेको घर–जमिनको लालपुर्जा दलितलाई नदिएका कारण ८ हजार दलित घरधुरीमध्ये ४ हजार परिवार भूमिहीन भएका हुन् ।
हलियाकै लागि भनेर हलिया पुनःस्थापना कार्यक्रम जिल्लामा लागू भए पनि कतिपय हलियाको घर बनाउने जमिन नहँुदा यसको सेवा–सुविधाबाट उनीहरू वञ्चित भएका हुन् । ०७१ सालदेखि लागू भएको मुक्त हलिया कार्यक्रमअन्तर्गत पहिलो वर्ष ३ परिवारको घर निर्माण १५ परिवारको जग्गा खरिद र १५ परिवारले घर निर्माणको रकम पाएका थिए । दोसा्रे वर्ष २० जनाको घर निर्माण ४५ जनालाई जग्गा खरिद र ३५ जनालाई घर मर्मतको रकम दिएको मालपोत कार्यालयले जनाएको छ ।