कूटनीतिक परिपक्वता देखियोस
आजदेखि भोलिसम्म हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण निकै चासो र रुचीपूर्ण बनेको छ। प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दा सार्क राष्ट्रका सरकारप्रमुखहरूलाई आमन्त्रण गरेर भारतीय विदेश नीतिमा परिवर्तन आउने संकेत दिएका थिए, मोदीले। त्यसैको परिणाम थियो, पहिलो नेपाल भ्रमणमा उनले काठमाडौंमा पाएको जनस्तरको सम्मान र स्वागत। तत्कालीन संविधानसभामा उनले मन्तव्य दिँदै गर्दा सभासद्हरूमा देखापरेको ‘युफोरिया’ केही हदसम्म भारतीय विदेश नीतिमा आउने परिवर्तनको आशा र केही हदसम्म नेपाली भावुकताको संयुक्त परिणाम थियो। यी वर्षमा ओलीको विदेश नीति परीक्षणबाट गुज्रिसकेको छ। भारतीय विदेश नीतिमा के-कस्तो परिवर्तन आयो भन्ने पनि समय र सन्दर्भले सतहमा ल्याइदिएको छ।
एउटा स्मरणीय कालखण्डपछि नेपाल आइरहेका मोदीलाई जनस्तरबाट हुन गइरहेका नागरिक अभिनन्दन यसैले अर्थपूर्ण छ। नेपाली जनता छिमेकीको सम्मान, परिवर्तनप्रति सधैं आशावादी र सम्बन्ध सुधारका लागि सधैं तत्पर छन् भन्ने सन्देश यी अभिनन्दनले दिन्छन्। असमझदारीहरूको अन्त्य र समझदारीपूर्ण सम्बन्धका लागि नेपाली तत्परतालाई मोदी भ्रमणले आत्मसात् गर्नेछ भन्ने विश्वास गर्नु उचित नै हुनेछ।
२०७२ मा नेपालले नयाँ संविधान घोषणा गर्दैगर्दा भारतीय दूतावास र विदेश मन्त्रालयबाट आएका वक्तव्य पक्कै पनि इतिहासका स्मरणयोग्य दस्तावेज हुन्। त्यसयता नेपाली संविधानलाई लिएर भारतीय पक्षबाट कुनै पनि औपचारिक वक्तव्य नआए पनि नयाँ संविधानअन्तर्गत निर्वाचित सरकार, प्रदेश सरकार र स्थानीय नगरपालिकाहरूको स्वागत स्वीकार कुनै पनि दस्तावेज भन्दा कम होइन। इतिहास यसै पनि लिखित वक्तव्यहरूले मात्र बन्दैन, मूर्त क्रियाकलाप पनि इतिहासकै स्रोत हुन्। मोदीको सहर्ष नेपाल आगमनलाई त्यो सन्दर्भमा राखेर पनि भविष्यका इतिहासकारहरूले मनन गर्नेछन्। त्यसैले पनि यो भ्रमण स्वागतयोग्य छ।
संवाद कूटनीतिको आत्मा हो। भ्रमणहरू संवादका मूर्त मञ्चहरू हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै र चीन भ्रमणअगावैको प्रधानमन्त्री मोदीको नेपाल भ्रमण कूटनीतिकै सिलसिला हो। कूटनीति सौहार्दता, आपसी सम्मान र परस्परताले सञ्चालन हुन्छ। एक सार्वभौम देशले अर्को सार्वभौम देशलाई जहिल्यै सम्मान गर्छ। सरकारका प्रतिनिधिको ससम्मान स्वागत र सहृदयी आतिथ्यता कूटनीतिक व्यवहार हो। साथसाथै ‘अतिथि देवो भवः’ को मर्म आत्मसात गर्ने नेपाली संस्कार पनि हो।
विदेश सम्बन्ध सञ्चालनमा एक सार्वभौम देशले जहिल्यै राष्ट्रिय हितको सुरक्षा र संवद्र्धन गर्छ। नेपालले आफ्नो हितमा चाल्ने कुनै पनि कदम न उत्तरको न त दक्षिण ढल्काइ हुनेछ। नेपालको विदेश नीतिको आत्मा मात्रै नेपाली हित हुनेछ। सहकार्यका सारा प्रयास पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर नै हुनेछ। यद्यपि ‘सहकार्य र प्रतिस्पर्धा’ सँगसँगै गरिरहेका दुई छिमेकीलाई सहकार्यको डोरीले जोडिरहन नेपालको भूमिका उल्लेखनीय हुनुपर्छ।
एउटा ‘अविस्मरणीय निकट विगत’ बाट गुज्रिएको आपसी सम्बन्धलाई नेपालका विदेश नीति सञ्चालकहरूले बिर्सने छैनन्। यी तीन वर्षमा नेपाली नेताहरूले उल्लास र भावुकताले होइन संयम र ठोस विश्लेषणले विदेश सम्बन्ध सञ्चालन हुन्छ भन्ने बुझिसकेको हुनुपर्छ। साथसाथै छिमेकीहरूसँग सौहाद्र्रपूर्ण सम्बन्ध स्थापित गरेरै मात्र अगाडि बढ्न सकिन्छ भन्ने भारतीय विदेश नीति निर्माताले पनि यी वर्षमा मनन गरिसकेको हुनुपर्छ।
उत्साहपूर्ण स्वागतबाट सुरु भएको मोदीको नेपाल भ्रमणको क्रम तेस्रो शृंखलासम्म आइपुग्दा एउटा अविस्मरणीय ऐतिहासिक मोड पार गरिसकेको छ। सम्बन्ध सुधारका लागि आफ्नो तर्पmबाट आवश्यक कदम चाल्न र हात अगाडि बढाउन भारतीय प्रधानमन्त्रीले यो भ्रमण उपयोग गर्ने आशा छ। नेपाली नेताहरूले मोदीको सहृदयी स्वागत र सम्मान गरेर कूटनीतिक परिपक्वता प्रदर्शन गरुन्। राष्ट्रिय गरिमा, नागरिकहरूको आत्मसम्मान र राष्ट्रिय हितमा आँच आउने कुनै पनि काम नहोस् भन्नेतर्फ नेपाली पक्ष सचेत होस्।