नेपालमै चल्दैन नेपाली रुपैयाँ, भारुकै भर
बैरिया : महोत्तरीको दक्षिणी क्षेत्रमा नेपाली रुपैयाँ (नेरु) चल्दैन । स्थानीयको आर्थिक व्यवहार भारतीय रुपैयाँ (भारु)मा निर्भर छ ।
भारतीय सीमासँग जोडिएका दुई दर्जन गाउँमा जग्गा किनबेच, गाईवस्तु खरिदबिक्री, दाइजो लेनदेन, औषधोपचारलगायत आर्थिक कारोबार भारुमै हुन्छ । भारतीय नाकाभन्दा २० किमि दूरीसम्मका गाउँमा सबै आर्थिक कारोबार भारतीय रेटमा हुने गरेको बैरियाका वीरेन्द्र राय बताउँछन् ।
बैरिया, पर्सा, बथनाहा, रघुनाथपुर, खेसराहा—खैरबन्नी, सोनमालगायत गाउँका स्थानीयले भारतीय रेटमा व्यवहार धान्दै आएको अर्का स्थानीय जोगिन्द्र यादवको भनाइ छ । जोगिन्द्रले १० वर्षअघि स्थानीय झगरु दाससँग अढाई कठ्ठा जग्गा किने । नापी कार्यालय जलेश्वरमा गएर कित्ताकाट गरे, मालपोत कार्यालयबाट जग्गा पास भयो । जोगिन्द्रले झगरुलाई ६२ हजार ५ सय भारु तिर्नुपर्ने हिसाब निस्कियो । उनले ६२ हजार ५ सय भारुको १ लाख रुपैयाँ तिरे । त्यति मात्र होइन, उनले नेपालमै नेरुलाई भारु बनाउन सयकडा तीनका दरले बट्टा पनि झगरुलाई तिरे ।
बैरियाका फेकु दासले छोरीको विवाह सम्सी गाउँपालिकाको टेंगरका केटासँग गरिदिए । केटा पक्षले दाइजो माग्दा १ लाख भारु मागेको छिमेकी कैलास दासले सुनाए । भने, ‘१ लाख भारुको १ लाख ६० हजार र नेपाली पैसालाई भारतीय बनाउन ५ हजार बट्टा गरी १ लाख ६५ हजार तिर्नुप¥यो ।’
भारतीय सीमासँग जोडिएको तराई–मधेसका जिल्लाको जीवन भारतमै निर्भर छ । सीमा क्षेत्रवासीका नातागोताको सम्बन्ध भारतीय नागरिकसँग छ भने भारतीयको पनि त्यसै प्रकारको सम्बन्ध नेपालीसँग रहेको बैरियाका ६० वर्षीय खेनाहरि यादवले बताए ।
‘नेपाल–भारतबीच रोटीबेटीको नाता छ । त्यसको प्रभाव आर्थिक लेनदेनमा पनि परेको छ’, उनले भने ।
कैबलासीका सन्तोष यादवका अनुसार अग्रज पुस्ताको कारोबार भारतीय रेटमा चल्यो । त्यसबेला बट्टा लाग्दैनथ्यो । अहिले पनि भारतीय रेटमै कारोबार हुन्छ । १ सय भारु लिन १६५ रुपैयाँ तिर्नुपर्छ, ५ रुपैयाँ बट्टास्वरुप ।