खलंगा-रिम्ना सडकमा नाली नबनाएरै कालोपत्र

खलंगा-रिम्ना सडकमा नाली नबनाएरै कालोपत्र

जाजरकोट : हरेक सडक कालोपत्र गर्नु अघि सडकको दायाँ/बायाँ  नाली राखेर सडकको स्तरोन्नती गर्नुपर्ने हुन्छ तर जाजरकोट-डोल्पा सडकको खलंगा-रिम्ना खण्डमा नाली नबनाएरै कालोपत्र सुरु गरिएको छ। 

सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले मनोमानी रुपमा काम अघि बढाएपनि सम्बन्धित निकायको त्यसतर्फ ध्यान जान सकेको छैन।चालु आवमा सदरमुकाम खलंगादेखि ६ किलामिटर कालेगाउँसम्मको दूरीमा कालोपत्र सुरु भएको छ। तर सदरमुकाम भित्रकै ठाँटी बाग्लुङ्ग खण्डको करिब एक किलोमिटर क्षेत्रमा नाली नबनाएरै पीचको काम थालिएको छ।

नाली बनाएर मात्र सडकको कालोपत्र गर्न बारम्बार आग्रह गर्दा पनि निर्माण कम्पनीले अटेर गरेर काम अघि बढाएको भेरी ४ का रत्नराज हमालले बताए। 'नाली नखोल्दा बर्खामा पानीको भेलले बाटो बिगारिदिने भएकाले सडक विभागको कार्यादेशअनुसार नै काम गर्न आग्रह गर्‍यौं तर हाम्रो आग्रह निर्माण कम्पनीले सुनेको छैन, हमालले भने,'समयमै सरोकारवाला निकायको ध्यान गएन भने पछि झन् समस्या थपिनेछ।'

सडक कालोपत्र भएपछि आवतजावतमा सहज हुनुको साथै धुलोको सास्ती हट्ने भएको छ तर गुणस्तरहीन र कमसल समाग्रीको प्रयोग हुन थालेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। १५ महिनाअघि यस सडकको स्तरोन्नतिको कार्य सुरु भएको थियो।

सडक चौडा गर्ने, ग्याबीङ्ग, नाली खोल्ने, मेसीनरी वाल, फिलिङ्ग, ग्रावेललगायत कार्य पुरा गरेर मात्र कालोपत्रेको काम सुरु गर्नुपर्नेमा सडक मापदण्डअनुसार चौडा गर्ने काम नगरिएको, नाली खोल्ने कार्य पूरा नभएको, मेसिनरी वाल अधिकांश ठाउँमा नलगाइएको नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले बताए। 'कालोपत्रे हुनुअघि गर्नुपर्ने महत्वपूर्ण काम नसकेरै काम सुरु गरिएको छ। 

यो सडक डोल्पा जोड्ने सडक हो तर ग्रामीण भेग जोड्ने स्थानीय सडकजस्तै गरी काम गरिएको छ। टु ल्यान्डको सडक भएपनि अधिकांश ठाउँमा गाडी आवतजावत गर्ने ठाउँ छैन' उनले भने, 'सडक निर्माण गुणस्तरीय हुन सकेको छैन यसतर्फ समयमै सरकोकारवाला निकायको ध्यान जान जरुरी छ।'

उता सडक डिभिजन कार्यालय चौरजहारीका सब ईन्जिनियर टोपेन्द्र खड्काले सदरमुकामभित्र केही ठाउँमा स्थानीयको अवरोधका कारण नाली राख्न नसकिएको स्वीकार गरेका छन्। उनले भने,'नाली काट्दा झन् पहिरो जान्छ भनेकाले नराख्ने सहमति भएको हो। 

उनले भने,'नाली बनाउने बजेट उल्लेख गरिएपनि त्यो रकम अन्य काममा खर्च गरिनेछ। हामीले क्वालिटी र क्वान्टिटी हेर्ने काम गर्छौं।'एक सातादेखि खलंगाको शान्तिचौताराबाट कालोपत्रको काम सुरु भएको हो। खलंगादेखि कालेगाउँ सम्मको सडक जेठ तेस्रो साताभित्र कालोपत्रे गर्ने काम सम्पन्न हुने र बाँकी रहेको काम असारसम्मा सम्पन्न हुने सव इन्जिनियर खड्काले बताए।

मिलेमतोमा ठेकेदार कम्पनी र सडक डिभिजनका प्राविधिकले कामको गुणस्तरीयतामा ध्यान नदिने तर परिणाममा मात्र ध्यान दिने गरिएको स्थानीयको आरोप छ। डिभिजन प्रमुख आशिस थापा मगरले सडकको काम कार्यादेशअनुसार नै भएको दावी गरे।उनले भने,'सबै ठाउँमा नाली खोल्नै पर्छ भन्ने हुँदैन। आवश्यकताअनुसार नाली बनाउने हो। कतिपय ठाउँमा भौगोलिक अवस्थाअनुसार पनि काम अघि बढ्छ। हाम्रा प्राविधिक फिल्डमै छन्। सडक निर्माणको गुणस्तर कायम हुन्छ यसमा सबै ढुक्क हुनुहोस्।'

राजेन्द्र÷जलजला जेभी काठमाडौंले १२ करोड लागतका सडकको स्तरोन्नती तथा कालोपत्रको जिम्मा लिएको हो। बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे कच्ची सडक छेउछाउमा विभिन्न खाल्डाखुल्डी पहिरोले आवजावतमा समस्या खेपेका बजारबासी अब भने सो समस्याबाट मुक्ती पाउने आशामा छन्।

खलंगा रिम्ना सडक खण्डमा आवतजावत गर्न २ घण्टा बढी समय लाग्ने गरेकोमा कालोपत्र भएपछि बढीमा आधा घण्टाको समय लाग्ने र सहज यात्रा हुने स्थानीयबासीको भनाइ छ। तर यस अघि छिन्चु जाजरकोट सडकमा गरिएको ओटासिल ६ महिनामै उप्किएपछि यो बाटोमा पनि त्यस्तै समस्या आउने आशंका स्थानीयबासीको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.