अखण्ड नेपालको पक्षमा भारत : मोदी

अखण्ड नेपालको पक्षमा भारत : मोदी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकास र समृद्धिका लागि भारत र नेपालको चाहना एकअर्काको परिपूरक भएको बताएका छन्। शुक्रबार साँझ दुई देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आर्थिक विकास र समृद्धिका लागि प्रधानमन्त्री केपी ओलीको अभियानमा सवा सय करोड भारतीय नागरिकको साथ र समर्थन रहेको बताए।

राजधानीको बत्तीसपुतलीस्थित एक होटेलमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने, ‘भारतका लागि ‘सबका साथ सबका विकास’को नारा र ओलीजीका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा एकअर्काका पूरक हुन्।’ नेपालको समावेशी र आर्थिक विकासका लागि भारतीयको साथ एवं समर्थन रहेको मोदीको प्रतिबद्धता छ। अघिल्लो महिना भारतमा भएको प्रधानमन्त्री ओलीको भ्रमण र आफ्नो भ्रमणका क्रममा दुई देशको विकासका लागि गम्भीर छलफल भएको उनले बताए।

नेपालमा केन्द्र, प्रदेश र स्थानीय तहको चुनाव सम्पन्न भएको ऐतिहासिक समयमा आफूले नेपाल भ्रमण गरेको उल्लेख गर्दै मोदीले भने, ‘नेपालको इतिहासमा यो समयलाई स्वर्णाक्षरमा लेखिनेछ।’

प्रधानमन्त्री ओलीको सरकार र अभियानलाई साथ र समर्थन रहने कुरा पटकपटक दोहो¥याएका मोदीले भारत र नेपालबीचको सम्बन्ध दुई सरकारभन्दा निकै उचाइको रहेको पनि बताए। आर्थिक विकास र सामाजिक परिवर्तनका लागि ओली नेतृत्वको सरकारले निकै नै आशा र भरोसा जगाएको उनको भनाइ छ। ‘अखण्ड, समृद्ध र सशक्त नेपालको आकांक्षामा भारतको पूर्ण समर्थन छ’, उनले भने।

ओलीको भारत भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनको विषयमा विस्तारमा कुराकानी भएको मोदीले उल्लेख गरे। ‘नेपाल ‘ल्यान्डलक’ रहेन, ल्यान्डलिंक, वाटर लिंक हो भन्ने ओलीजीको भिजनमा हर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ मोदीले भने। नेपालको कृषि क्षेत्रको विकासमा भारतीय र नेपालका कृषिमन्त्रीबीच कुराकानी हुने उनले बताए।

दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनअघि ओली र मोदीबीच एक्लाएक्लै र दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो। उच्चस्तरीय भेटवार्तामा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललगायत सहभागी थिए। लगत्तै मोदीले सोही होटेलमा पुष्पकमल दाहाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत पूर्वप्रधानमन्त्रीसँग सामूहिक छलफलसमेत गरेका थिए।

पत्रकार सम्मेलनमा मोदीले रोड, रेलवे, पावर ट्रान्समिसन, तेलमार्गबाट दुई देशबीच कनेक्टिभिटी बढेको बताए। नेपाल र भारतबीचको खुला सिमानाको विशेष भूमिका रहेको र ती क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिने प्रतिबद्धता आफू र ओलीले व्यक्त गरेको मोदीको भनाइ छ। प्रधानमन्त्री ओली र आफू दुई देशको रक्षा र सुरक्षालाई अझ मजबुत बनाउन प्रतिबद्ध रहेको पनि उनले बताए। ‘खुला सिमानासँग गहिरो आध्यात्मिक सम्बन्ध छ,’ मोदीले भने, ‘यसैका माध्यमबाट हरेक वर्ष लाखांै भारतीय श्रद्धालु नेपाल आउँछन्।’ नेपाल–भारतबीचको भविष्यको सम्बन्धलाई आफूले निकै आशाका साथ हेरेको र ओली सरकारप्रति पनि आभार रहेको मोदीले औंल्याए। मोदीले आफ्नो मन्तव्यको वि श्राममा भने, ‘भारत नेपाल मैत्री सम्बन्ध अमर रहोस्।’

उक्त अवसरमा प्रधानमन्त्री ओलीले भारतसँग विगतमा भएका सम्झौतालाई अघि बढाउने कुरामा भारतीय प्रधानमन्त्रीसँग सहमति भएको जानकारी दिए। कृषि, जलमार्ग र रेलमार्गमा द्विपक्षीय रूपमा काम अघि बढाउने सहमति भएको उनको भनाइ छ।

कृषिक्षेत्रको सहकार्यका लागि दुवै देशका कृषिमन्त्रीबीच छिट्टै भेटघाट हुने पनि ओलीले जानकारी दिए। पावर टे«डमा भएको सहमतिलाई दुवै पक्षले पालना गर्ने छन्। भारतसँगको व्यापार घाटाका विषयमा भने दुवै पक्षले छलफल गर्ने ओलीको भनाइ छ।

अंग्रेजीमा लिखित मन्तव्य राखेका प्रधानमन्त्री ओलीले सन् २०१६ मा भारतले गरेको अमौद्रिकीकरणले नेपालमा पारेको असरबारे सहमतिको मार्ग खोज्ने गरी द्विपक्षीय छलफल भएको जानकारी दिए। नेपालमा जलमार्ग विकासको सम्भाव्यता अध्ययन गर्न भारतले एक टोली नेपाल पठाउने जानकारी गराएको ओलीले बताए। यस्तै नेपालले भारतँग अतिरिक्त चार हवाई नाकाका लागि पहल गरेको र त्यस विषयमा छलफल गर्न सहमति भएको उनको भनाइ छ।

दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुअघि ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्याससमेत गरे। भारतीय कम्पनी सतलजले निर्माण गर्न लागेको यो आयोजनाको दुवै प्रधानमन्त्रीले काठमाडौंमै स्विच अन गरेर शिलान्यास गरेका हुन्।

दुई प्रधानमन्त्रीबीच भक्तपुरको क्यान्सर अस्पताललाई ‘भावटोन रेडियो थेरापी’ मेसिन राख्न भारतले सहयोग गर्ने समझदारी पनि भएको छ। दुई प्रधानमन्त्रीबीच नयाँभन्दा पुरानै सहमति÷सम्झौता कार्यान्वयनका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

उपराष्ट्रपतिबाट राजनीतिक भेट सुरु

भारतीय प्रधानमन्त्री मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनबाट राजनीतिक भेटवार्ता सुरु गरेका थिए। टुँडीखेलमा गार्ड अफ अनरपछि मोदी र उपराष्ट्रपति पुनबीच उपराष्ट्रपति कार्यालय बहादुर भवनमा पौने एक घण्टा कुराकानी भएको थियो। त्यस क्रममा उपराष्ट्रपति पुनले परापूर्वकालदेखिको नेपाल–भारतबीचको सौहार्द एवं सहयोगात्मक सम्बन्ध भारतीय प्रधानमन्त्रीको कार्यकालको तेस्रो पटकको नेपाल भ्रमणले अझै बलियो र प्रगाढ बनाउने विश्वास व्यक्त गरेका थिए।

दुई देशबीचको उच्चस्तरीय निरन्तर भ्रमणले सम्बन्धमा उच्च विकास र भावनात्मक रूपमा निकटता ल्याउने गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले नेपालको समृद्धिमा भारत सधैं सहयोगी हुने विश्वास व्यक्त गरेको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

भेटमा उपराष्ट्रपति पुनले बलियो र समृद्ध नेपालले मात्रै भारतलाई साथ दिन सक्ने उल्लेख गरेका थिए। त्यसैले नेपालको व्यापार घाटा कम गर्दै आर्थिक रूपमा समृद्ध बन्न भारतको सहयोग चाहिने उनको भनाइ छ। उपराष्ट्रपतिले खुला सीमाका कारण उत्पन्न हुने दुई देशबीचको समस्या समाधानका लागि सीमास्तम्भ निर्माण अघि बढेकोमा समेत खुसी व्यक्त गरेका थिए।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न भारत सधैं तयार रहेको बताएका थिए। दुई देशबीचको सहकार्यलाई अझै फराकिलो बनाउनुपर्ने बताउँदै मोदीले भारत र नेपालबीच सहकार्य भए जस्तोसुकै काम पनि गर्न सकिने धारणा राखेको उपराष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उपराष्ट्रपतिपछि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल र भारतबीचको सम्बन्ध एवं आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता झवीन्द्र पराजुलीले जानकारी दिए।

मोदीलाई ‘गार्ड अफ अनर

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली सेनाले टुँडीखेलमा सम्मान गारद ‘गार्ड अफ अनर’ दिएको छ। यसअघि विशिष्ट पाहुनालाई अन्तर्राष्ट्रिय विमानस्थलमै गार्ड अफ अनर दिने गरिन्थ्यो। तर केही महिनाअघि मात्र नेपाल आएका पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई टुँडीखेलमै ‘गार्ड अफ अनर’ दिइएको थियो। पाकिस्तानी प्रधानमन्त्रीपछि टुँडीखेलमा गार्ड अफ अनर पाउने मोदी दोस्रो विशिष्ट पाहुना हुन्। मोदीलाई सेनाले गार्ड अफ अनर दिने कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.