म तीर्थयात्री मात्र हुँ : मोदी

म तीर्थयात्री मात्र हुँ : मोदी

जनकपुरधाम : दुईदिने नेपाल भ्रमणका लागि शुक्रबार जनकपुर आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भ्रमण विशुद्ध धार्मिक भएको बताएका छन्। भ्रमणको पहिलो दिन जनकपुरको रंगभूमि मैदान बाह्रबिघामा सम्बोधन गर्दै उनले भने, ‘म प्रधानमन्त्रीको हैसियतमा होइन, प्रधान तीर्थयात्रीका रूपमा नेपाल आएको हुँ।’

नेपालबिना भारत मात्र नभई भगवान् रामसमेत अधुरो हुने उनले बताए। नेपाल र भारतबीचको सम्बन्ध सागरभन्दा गहिरो र सगरमाथाभन्दा उच्च रहेको उनको भनाइ छ। माता सीताको जन्मस्थल दर्शन गर्ने इच्छा वर्षौंदेखि रहे पनि बल्ल पूरा भएको र आफू धन्य भएको अभिव्यक्ति उनले दिए।

नेपाल–भारतबीच भाषा, आस्था, रोटीबेटीको सम्बन्ध युगौंदेखि कायम रहेको र अहिले झन् प्रगाढ बन्दै गएको उनको भनाइ छ। ‘त्रेतायुगदेखि नै भारत–नेपालबीचको सम्बन्ध कायम छ’, उनले भने, ‘राजनीति, कूटनीतिसँगै दुवै मुलुक देवनीतिले पनि बाँधिएका छन्।’

सम्बोधनमा मोदीले भगवान् गौतम बुद्धको जन्म नेपालकै लुम्बिनीमा भएको विषयसमेत उठाएका छन्। ‘गौतम बुद्ध जन्मेको लुम्बिनी र माता सीताको जन्मस्थल जनकपुर अध्यात्म र दर्शनका केन्द्र हुन्’, उनले भने, ‘माता सीता त्याग, तपस्या, समर्पण र संघर्षकी मूर्ती हुनुहुन्छ। यो मिथिला यस्तो धर्ती हो, जसले छोरीलाई कसरी सम्मान दिन सकिन्छ भन्ने सिकाउँछ।’

उक्त अवसरमा मोदीले प्रदेश २ को विकासका लागि एक भारु एक अर्ब सहयोग घोषणा गरेका छन्। उनले भारतीय जनताका तर्फबाट जानकी माताको शरणमा उक्त रकम सहयोग अर्पण गरेको घोषणा गरेका हुन्। योजना बनाएर आफूले घोषणा गरेको रकम यस क्षेत्रको विकासमा खर्च गर्न पनि संघ र प्रदेश सरकारसँग उनको आग्रह छ। यस क्षेत्रको समृद्धिका लागि पाँच ‘टी’ (पर्यटन, प्रविधि, परम्परा, यातायात र व्यापार) मुख्य आधार भएको मोदीको भनाइ छ। नेपालका प्रधानमन्त्री केपी ओलीले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानप्रति आफ्नो पनि समर्थन रहको उनले बताए।

संविधान निर्माणपछि तीन चरणको चुनाव सकिएको र देशले नयाँ सरकार पाएकोले अब देश समृद्ध बनाउनेतिर लाग्नुुपर्नेमा उनले जोड दिए। ‘यहाँका जनताको आँखामा चमक देख्न नेपाल समृद्ध होस् भन्ने भारतीय जनताको चाहना छ’, उनले भने। त्यसैले नेपालका हरेक सुःखदुःखमा भारतले सहयोग गर्ने उनको प्रतिबद्धता छ।

नेपाल र भारतलाई जल, स्थल र हवाई मार्गले जोड्ने पनि मोदीले बताएका छन्। जनकपुर–अयोध्या बस सेवा आरम्भ गरिसकेको, चालू आर्थिक वर्षभित्रै जयनगर–जनकपुर रेल सुरु हुने र चाँडै नयाँ हवाईमार्ग सुरु हुने उनले स्पष्ट पारे। जलमार्ग निर्माणका लागि पनि काम चाँडै काम थालिने उनको भनाइ छ।

‘सबै मार्गले भारत–नेपाल जोडिएपछि विकासले गति लिन्छ’, उनले भने, ‘नेपाल आउने पर्यटकको संख्या पनि बढ्छ।’ उक्त अवसरमा मोदीलाई प्रदेश सरकार, उद्योग वाणिज्य संघ जनकपुर र वीरगन्जले १ सय २१ किलोका छुट्टाछुट्टै तीनवटा माला लगाएर सम्मान गरेका थिए। मोदीले मैथिली, नेपाली र हिन्दी भाषामा सम्बोधन गरेका थिए।

दुई देशबीचको सम्बन्ध अविच्छिन्न : प्रधानमन्त्री ओली

भारतीय प्रधानमन्त्रीलाई स्वागतका लागि जनकपुर आएका प्रधानमन्त्री केपी ओलीले समेत यहाँ सम्बोधन गरेका छन्। उक्त अवसरमा ओलीले नेपाल र भारतबीचको सम्बन्ध पौराणिककालदेखि अविच्छिन्न रहेको बताए। अहिले पनि नेपालमा अयोध्याबाट जानकी विवाहका लागि जन्ती आउने र जानकीलाई बिहे गरी बिदाइ गरिने परम्परा रहेको उनले बताए। यसबाट उक्त सम्बन्ध अझ प्रस्ट हुने ओलीको भनाइ छ। ‘हामीले त्यो परम्परा कायम राखेका छौं’, ओलीले भने, ‘सीता, गार्गी, शस्त्रशास्त्रमा निपुण परशुराम र विद्वान् राजा जनकको यो नगरीमा भारतीय प्रधानमन्त्री मोदीजीलाई स्वागत गर्छु।’

रामायण सर्किटमा धनुषाधाम, जनकपुर, वाल्मीकि आश्रमलगायतलाई जोडेर दुवै देशको पर्यटकीय विकास गर्ने उनले बताए।

जनकपुरको साँचो मोदीलाई
मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दनसमेत गरेको छ। उपमहानगरपालिकाका तर्फबाट मेयर लालकिशोर साहले मोदीको अभिनन्दन गरेका हुन्। अभिनन्दन समारोहमा प्रदेश २ का एक लाखभन्दा बढी जनता सहभागी थिए। अभियनन्दनपश्चात् मेयर साहले जनकपुरको साँचो मोदीलाई हस्तान्तरण गरेका थिए। जनकपुरको प्रगतिका लागि भारत सरकारको सहयोगको अपेक्षासहित साँचो बुझाइएको उनको भनाइ छ। ‘साँचो बुझाउनुको अर्थ जनकपुर उपमहानगरपालिका भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत तथा सत्कारका लागि सदैव तत्पर र खुला रहनेछ भन्नु हो’, मेयर साहले भने।

मोदीको भ्रमणले तीन फाइदा : मुख्यमन्त्री राउत
मोदी भ्रमणले तीन फाइदा भएको मुख्यमन्त्री लालबाबु राउतको भनाइ छ। प्रदेश २ को सरकार र मधेसी पहिचान विश्वमा स्थापित गर्न, यस क्षेत्रको विकासका सम्भावनाको मार्गप्रशस्त गर्न र भारतसँगको सम्बन्ध प्रगाढ बनाउन भ्रमणले सघाएको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.