जेशिकासँग नङ्सल स्तब्ध
काठमाडौं : झापाकी जेशिका गुरुङसँग पराजित हुँदै शीर्ष वरीयताकी नङ्सल तामाङ सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएकी छन्। त्रिभुवन आर्मी क्लबकी नङ्सल आफूभन्दा कम वरीयताकी खेलाडी जेशिकासँग १४-२१, २१-१५, २१-१६ को सेटमा पराजित भइन्। १९ वर्षीया जेशिका भने शीर्ष वरीयताकी खेलाडीलाई पराजित गर्दै उपाधि नजिक पुगेकी छन्।
प्रतियोगितामा सशक्त प्रदर्शन गरेकी जेशिका महिला युगल र महिलाको यू-१९ तर्फ पनि फाइनलमा पुगेकी छन्। जेशिकाले अब शनिबार हुने फाइनल खेलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लबकी अर्की खेलाडी रसिला महर्जनसँग प्रतिस्पर्धा गर्नेछिन्। रसिला झापाकी सुनैना मुखियालाई २१-६, २१-१७ को सहज सेटमा पराजित गर्दै प्रतियोगिताको अन्तिम दुईमा पुगेकी हुन्। १४ वर्षीया रसिलाले उपाधि जिते उनी सिनियर राष्ट्रिय प्रतियोगिता जित्ने कम उमेरकी खेलाडी बन्ने ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए।
महिलाको यू-१९ तर्फको उपाधिका लागि पनि जेशिका र रसिला नै भिड्ने भएका छन्। जेशिका विराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेमाथि २१-९, २१-५ को जितसहित अन्तिम दुईमा पुगेकी हुन्। रसिलाले पनि विराट ब्याडमिन्टन क्लबकै खेलाडी शिमा राजवंशीलाई २१-११, २१-१६ ले पराजित गर्दै जेशिकासँगको भेट पक्का गरेकी हुन्।
महिला युगलतर्फ जेशिका र सुनैनाको जोडीले त्रिभुवन आर्मी क्लबका रसिला र अमिता गिरीको जोडीलाई २१-१६, १७-२१, २१-१७ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्। महिला युगलको उपाधिका लागि जेशिका र सुनैनाको जोडीले आर्मीकै नङ्सल र अनुमाया राईको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। नङ्सल र अनुमायाको जोडी जेष्ठ ब्याडमिन्टनका ज्योति लिम्बू र दिना पुनको जोडीलाई २१-१०, २३-२१ को सेटमा जित हात पार्दै फाइनलमा पुगेका हुन्।
काव्य वाटिकास्थित इटहरी ब्याडमिन्टन क्लबको हलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फको उपाधिका लागि त्रिभुवन आर्मीका रत्नजित तामाङ र एपीएफ क्लबका दीपेश धामीबीच उपाधि भिडन्त हुने भएको छ। रत्नजितले भोजपुरका विकास श्रेष्ठलाई २१-१८, २१-१५ तथा दीपेशले आर्मी क्लबका नवीन श्रेष्ठलाई १४-२१, २१-८, २१-१५ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।
पुरुष युगलतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित र नवीन श्रेष्ठको जोडी फाइनल प्रवेश गरेको छ। रत्नजित र नवीनको जोडीले नेपाल पुलिस क्लबका विष्णु कटुवाल र जीवन आचार्यको जोडीलाई २१-१४, २१-१७ ले पराजित गर्यो। यो जोडीले उपाधिका लागि एपीएफका दीपेश धामी र बिजित थापामगरको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। दीपेश र बिजितको जोडीले आर्मी क्लबका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१-१९, २१-१८ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो।
पुरुषको यु-१९ तर्फ भने दुवै आर्मीका खेलाडी फाइनलमा प्रवेश गरेका छन्। आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। प्रफुलले जेष्ठ ब्याडमिन्टनका सुनील जोशीलाई २१-१८, २१-१२ तथा रुकेशले सुनसरी ब्याडमिन्टन एकेडेमीका प्रनिशसिंह ठकुरीलाई २१-१३, २१-१२ ले पराजित गरे।
भेट्रान्स युगलतर्फ धनकुटाका योगेश्वर श्रेष्ठ र किरण प्रधानको जोडीले स्वर्णका लागि ललितपुरका सुगतरत्न शाक्य र सुनिल शाक्यको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ। श्रेष्ठ र प्रधानको जोडीले मोरङका पदम धिमाल र दिलकुमार राईको जोडीलाई २१-१२, २१-११ तथा शाक्यद्वयको जोडीले झापाका श्रीप्रसाद धिमाल र सञ्जयभक्त श्रेष्ठको जोडीलाई १५-२१, २१-१९, २१-१८ ले पराजित गरेका थिए। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ।