मोदीको ‘सीता-राम डिप्लोमेसी’

मोदीको ‘सीता-राम डिप्लोमेसी’

मनिका झा/अलि असगर देवान 

जनकपुरधाम : सीता-राम सम्बन्ध जोडिएका जनकपुर र भारतको अयोध्याबीच मैत्री बस सेवा सञ्चालनमा आएको छ। अयोध्याका राजा दशरथका छोरा राम र मिथिलाका राजा जनककी छोरी सीताबीच त्रेता युगमा वैवाहिक सम्बन्ध कायम भएको भनिएको यी दुई स्थललाई पर्यटकीय दृष्टिले जोड्न शुक्रबार सीधा बस सेवा सञ्चालनमा ल्याइएको हो।

प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झन्डा देखाएपछि जानकी मन्दिर प्रांगणबाट यात्रुसहितको बस अयोध्या हिँडेको छ। जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झाको नेतृत्वमा ३४ यात्रुसहितको टोली अयोध्या हिँडेको जनाइएको छ। यो बस सेवाले दुई देशबीचको पर्यटन प्रर्वद्धनमा योगदान पुर्‍याउने उपमेयर झाले बताइन्। ‘जनकपुरवासीले मात्र नभई यस क्षेत्रका थुप्रै श्रद्धालुको अयोध्या पुग्ने सपना सीधा बस सेवाका कारण साकार हुनेछ’, उनले भनिन्। मैत्री बस सेवाको यात्री बनेकी जनकपुरकी पुष्पा झा आफूले ऐतिहासिक अवसर पाएको उल्लेख गर्दै यसबाट दुई देशको सम्बन्ध अझ बलियो हुने बताइन्।

प्रधानमन्त्री ओलीले जनकपुरबाट अयोध्यासम्म सीधै बस जाने भएपछि यसले सांस्कृतिक तथा पारम्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउने धारणा व्यक्त गरे। भने, ‘रामायणसम्बन्धी अवधारणालाई विकास गर्न जनकपुरबाट यो बस सेवाको शुभारम्भ भएको हो।’

मोदीले बस सेवा सञ्चालनका लागि ओलीलाई आभार व्यक्त गरेका थिए। यो बस सेवाबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने मोदीको भनाइ थियो। ‘जनकपुरबाट जयनगरसम्म चाँडै रेलमार्ग विस्तारको काम पनि सम्पन्न हुन गइरहेको छ’, उनले भने, ‘यी सबै माध्यमले धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो फाइदा पुग्नेछ।’

मोदी नेपालको दुईदिने भ्रमणका लागि एयर इन्डियाको विमानबाट शुक्रबार बिहान पौने ११ बजे जनकपुर विमानस्थलमा उत्रिएका थिए। रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले विमानस्थलमा मोदीको स्वागत गरेका थिए।

मोदीको स्वागतका लागि आधा घण्टाअगावै प्रधानमन्त्री ओली जानकी मन्दिर आइपुगेका थिए। त्यस बेला प्रधानमन्त्री ओली घिउ रंगको कमिज-सुरुवाल र ढाकाटोपीमा सजिएका थिए। जानकी मन्दिर परिसरमा प्रधानमन्त्री ओलीले मोदीलाई प्रसन्न मुद्रामा स्वागत गर्दै मन्दिरभित्र प्रवेश गराएका थिए।

मन्दिरमा करिब एक घण्टा बिताएका मोदीले गर्भगृहमा पुगेर पूजाअर्चना गरे। उनले पूजा गर्दा पण्डित÷पुरोहितले मन्त्र उच्चारण जारी राखेका थिए। मोदीलाई महन्थ रामतपेश्वर दासले पूजा गराएका थिए। मोदीले पूजापछि आरती गरेर मन्दिर परिक्रमा गरेका थिए। मोदीले मन्दिर परिक्रमाका क्रममा सीता-राम नाम अखण्ड कीर्तनस्थल पुगेर झामर बजाउँदै कीर्तनमा सहभागितासमेत जनाए। राम-सीता वैवाहिक परम्पराको स्मरण गराउन प्रदर्शित झाँकीमा प्रधानमन्त्री ओली र मोदीले सहभागिता जनाउँदै हातेमालो गरेका थिए।

पूजापछि मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले संक्षिप्त मन्तव्यसहित संयुक्त रूपमा रामायण सर्किट निर्माणको उद्घोष गरेका थिए। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको आगमन पौराणिक विद्वान्हरूदेखि लिएर राम-सीता विवाह परम्पराकै निरन्तरता रहेको उल्लेख गरेका थिए। विवाह पञ्चमीका बेला अयोध्याबाट जानकी विवाहका लागि जन्ती आउने र जानकीलाई बिहा गरेर परम्परा कायम राखेको उनको भनाइ थियो।

‘भारतीय प्रधानमन्त्री जनकपुर आउँदा दुई देशबीचको परम्परागत मैत्री, सांस्कृतिक, धार्मिक र पारस्परिक सम्बन्धलाई प्रतिविम्बित गर्छ। जनकपुर भन्नेबित्तिकै ज्ञानभूमि र तपोभूमिका रूपमा बुझिन्छ। यो नगरीमा भारतीय प्रधानमन्त्री मोदीलाई पुनः स्वागत गर्दछु’, उनले भने, ‘रामायण सर्किटमा धनुषाधाम, जनकपुर, वाल्मीकि आ श्रमलगायतलाई जोडेर राम-सीताको समग्र जीवनचक्रलाई जोडेर विकास गर्न चाहन्छौं।’

उनले विभिन्न समयमा सहमति र सम्झौता भए पनि काममा विलम्ब भएकाले अब ढिलाइ नगरी अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। ‘हामी २१ औं शताब्दीमा छौं, यहाँ विलम्बभन्दा छिटो प्रगतिको काम गर्नुपर्छ’, उनले भने, ‘रामायण सर्किटको काम पनि शीघ्र अघि बढोस् भन्ने हाम्रो चाहना छ।’

मोदीले माता जानकीको चरणमा आउने सौभाग्य पाएको भन्दै खुसी व्यक्त गरे। ‘भारतको प्रधानमन्त्रीलाई पहिलो पटक जनकपुरमा राजा जनक र माता जानकीको नमन गर्ने सौभाग्य प्राप्त भयो। मेरो स्वागतका लागि प्रधानमन्त्री ओली नै जनकपुर आउनुभएकोमा आभार व्यक्त गर्छु। जानकी मन्दिरको दर्शन गर्न मिलाइदिएको यो अवसर प्रति कृतज्ञता व्यक्त गर्दछु’, उनले भने, ‘यो सम्मान हजारौं वर्षको परम्पराको सम्मान हो, यो सवा सौं करोड भारतीयको सम्मान हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.