क्यान्सर कथा

क्यान्सर कथा

जीवनको ३५ वसन्तमा हिँड्दै गरेकी एक महिलालाई सास फेर्न कठिनाइ भएको समस्या लिएर बन्दीपुर अस्पताल तनहुँको आकस्मिक कक्षमा ल्याइएको थियो करिब दुई साताअगाडि । सँगै आएकी थिइन् उमेरले अन्दाजी साठी नाघिसकेकी उनकी आमा पनि । साथमै थिए अन्दाजी ३० वर्षका उनका भाइ । झरेर फेरि पलाएका ठुटा कपाल दुब्लाएर सिन्का झैं पातलो देखिने शरीर अनि जिन्दगीसँग हरेस खाइसकेको जस्तो देखिने ती महिलाको मलिन अनुहार पढेर कुनै गम्भीर रोगले ग्रसित छिन् भन्ने बुझिन्थ्यो । पुराना कागजपत्र ल्याएकी थिइनन् । सोध्दै जाँदा थाहा भयो, स्तन क्यान्सरसँग लडिरहेकी रहिछन् ।

 करिब एक वर्षअगाडि क्यान्सर पत्ता लागेको, स्तनको शल्यक्रिया पनि गरेको र केमोथेरापी पनि गरेको परिवारजनले बताए । उनको सास फेराइको प्रक्रिया र श्वासप्रश्वासको दर निकै असामान्य थियो । रगतमा अक्सिजनको मात्रा पनि घट्ने क्रममै थियो । उनलाई अक्सिजन दिइयो । सास फेर्न सजिलो बनाउने बाफ र औषधीहरू पनि दिइयो । त्यसपछि उहाँलाई अक्सिजनमा राख्यौं, सास फेर्न सजिलो गराउने वाफ र औषधीहरू दियौं । २-३ दिनयता सास फेर्न अप्ठ्यारो हुने समस्या देखा परेको र पल्टेर सुत्न पनि नसक्ने भएकाले अस्पताल ल्याइएको परिवारजनले बताए ।

उनको एक्स रेमा भने फोक्सोको आधाभन्दा बढी भागमा सेतो दाग प्रस्ट देखियो । त्यो पानी जमेको हो वा क्यान्सर फैलिएर भएको दाग हो भन्ने यकिन गर्न गाह्रो थियो । अस्पतालमा थप जाँचको सुविधा नभएकाले रिफर गर्नुपर्ने भयो । आर्थिक अवस्था कमजोर भएकाले र बिरामीको सुधार हुने आशा मारिसकेकाले परिवारजनले बिरामीलाई बाहिर लैजान नसक्ने अडान लियो । अन्ततः भर्ना गर्नुको विकल्प रहेन । उच्च जोखिम मन्जुरी पत्रमा बिरामी पक्षको हस्ताक्षर गराएर वार्डमा भर्ना गर्‍यौं ।

चिकित्सकहरूको दिनचर्या सधैंजसो रोग र शोकले ग्रसित बिरामीहरूकै वरिपरि रहेर बित्ने भए पनि क्यान्सरपीडित ती दिदीको वार्डमा छिर्दा सधैं नरमाइलो महसुस हुन्थ्यो । बिरामीलाई भर्ना गरेपछि चिकित्सकमा बिरामीप्रति जिम्मेवारी बोध त हुन्छ नै, साथसाथै आत्मीयता पनि गाँसिदै जान्छ । १२ वर्षको छोरा अनि १० वर्षकी छोरीसहितको परिवार रहेछ उनको । श्रीमान् भने रक्सीको कुलतमा फसेका रहेछन्, जसलाई श्रीमतीले भोगिरहेको पीडाले अलिकति पनि पगाल्न सकेको रहेनछ । ४-५ महिनादेखि उनी छोराछोरीसहित माइतीमै बस्न थालेकी रहिछन् ।

उनलाई हामीले निरन्तर अक्सिजन चढाइरहेका थियौं । हामीले दिन सक्ने औषधी र उपचारमा अलिकति पनि सम्झौता गरेका थिएनौं । तर उनको रोग निको पार्ने भने असमर्थ थियौं । केवल उनको श्वासप्रश्वासलाई सजिलो बनाउने प्रयत्न गरिरहेका थियौं ।

बिहान-बेलुकी चेक गर्न जाँदा दिदी भनेर बोलाउँदा दुःख र पीडामिश्रित ‘हजुर’ भन्ने जवाफ आउँथ्यो । त्यसपछि केही कुरा सोधियो भने एउटा पूरा वाक्य बोल्न पनि उनलाई गाह्रो पथ्र्यो । उत्तानो परेर सुत्दा सास फेर्न असजिलो हुने भएकाले उनी खुट्टा खुम्च्याएर सिरक र सिरानीको आडमा टाउको अड्याएर घोप्टिएर बस्थिन् । दिन मात्र नभई पूरै रात छर्लंग पार्थिन् त्यही अवस्थामै । एक दिन बिस्तारा उठाएर अग्लो सिरानी बनाएर उत्तानो सुताउने कोसिस गरें । एक रात त्यसैगरी सुतिन् पनि । तर अर्को रात पहिलाजस्तै घोप्टिएर बसिन् । उनले जसोतसो फेर्ने हरेक साससँग कति शारीरिक र मानसिक पीडा मिसिएका छन् केवल अनुमान मात्र लगाउन सकिन्थ्यो ।

केमोथेरापी वा रेडियोथेरापीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोरिदिने हो भने मात्र क्यान्सरका बिरामीले पूर्ण उपचार पाउनेछन् र सहयोग उपलब्धिमूलक बन्न सक्नेछ ।

बेलाबखत उनलाई सास फेर्न झन् गाह्रो भयो भन्दै फोन आउँथ्यो । आत्तिएर वार्डमा पुग्थें र उनलाई सजिलो गराउन दिन मिल्ने औषधी दिन्थें । नआत्तिनुस् भन्दै परिवारजनलाई झुटा आश्वासन दिन्थें । उनको छेवैमा बसेर यो सबै टुलुटुलु हेरिरहेकी उनकी बूढीआमा अनि ती नाबालक छोराछोरी देखेर मन भारी हुन्थ्यो । अनि कोठामा फर्केपछि म आफ्नो जीवन र ती दिदीको जीवनबीच तुलना गर्थें, आकाश-पातालको भिन्नता पाउँथें । यसरी सजिलोसँग सास फेर्न पाउनु, मन लागेको खान पाउनु, सजिलै सुत्न सक्नु अनि निदाउन पाउनु, शरीरमा आजसम्म कुनै गम्भीर रोग नहुनु, म भाग्यमानी रहेछु भन्ने लाग्थ्यो । जिन्दगीमा आइपर्ने ससाना समस्यालाई लिएर दुःखी हुनु त मूर्खता रहेछ भन्ने आत्मबोध हुन्थ्यो ।

ती दिदी हाम्रो अस्पतालमा भर्ना भएको पाँच दिन बितिसकेको थियो । अवस्था झन् गम्भीर बन्दै गइरहेको थियो । यसरी उनको मृत्यु कुर्नु न त चिकित्सकीय धर्मले दिन्छ न त मानवीय धर्मले भन्ने लाग्यो । अनि अझै पनि उपचारका केही उपाय हुन सक्छन् र त्यसका लागि भरतपुर वा भक्तपुर क्यान्सर हस्पिटल लैजान हामीले उनका आमा र भाइलाई आग्रह गर्‍यौं । उपचारको कुनै उपाय नै बाँकी रहेनछ भने उनको बाँकी जीवन अलि सजिलो बनाउन धर्मशाला (हस्पिटल सेन्टर) मा लगेर राख्न सकिन्छ भन्नेबारे पनि जानकारी दियौं।

हाम्रो आग्रह सुन्नेबित्तिकै छोरीको अवस्था देखेर हार खाइसकेकी उनकी बूढीआमाले रुँदै भन्न थालिन्, ‘अब यहाँबाट अन्यत्र लैजा नभन्नुस् डाक्टर साब हामी कहीं पनि लान सक्दैनौं, कति हेरूँ यो दुर्दशा बरु कालले नै छिट्टै लैजाओस् ।’

आमालाई वार्ड बाहिर लगेर सम्झाउने कोसिस गर्‍यौं हामीले । मनलाई कठोर बनाउन भन्यौं । छोरीको अगाडि आफूलाई सम्हाल्न भन्यौं । तर यी त सब भन्ने कुरा न थिए । वास्तविकता त सतहमा थियो । आफूले जन्माएका अरू दुइटा सन्तान अनि श्रीमान पनि गुमाइसकेको आफ्नो नमीठो विगत जोड्दै ती आमा भक्कानिएर रुन्थिन् । मानिसले जिन्दगीमा यति असह्य पीडा पनि भोग्नुपर्ने रहेछ भन्ने मनन गर्नुबाहेक हामीले अरू केही गर्न सक्दैनथ्यौं त्यो क्षण ।

ती दिदीको भाइलाई सबै पुराना कागजपत्र झिकाउन अनुरोध गरें । थप उपचारको कुनै सम्भावना बाँकी रहेछन् भने त्यसका लागि अगाडि बढ्नुपर्नेबारे मैले आफूले सकेजति सम्झाएँ । त्यही साँझ पुराना कागजपत्रको फाइल आइपुग्यो । उनको दाहिने स्तनको क्यान्सर भएको र त्यसका लागि केमोथेरापीका चारवटा साइकल मात्र पूरा गरेको थाहा भयो । शल्यक्रिया गर्दाको कागजपत्र भने पाउन सकिएन । कमजोर आर्थिक अवस्था त्यसमा पनि रक्सीमा पैसा स्वाहा गर्ने श्रीमान भएकी ती दिदीले सरकारले क्यान्सरपीडितलाई दिने एक लाखबराबरको सहयोगबाट जति उपचार सकिन्छ गरिन् । 

त्यसपछि थप उपचारका लागि अस्पतालसमेत गइनन् । माइतीको पनि आर्थिक अभाव सम्झिन् होलिन् । आफू क्यान्सरबाट पीडित भएको र केमोथेरापी गरेकोसम्म पनि माइतीलाई लुकाएकी रहिछन् । वैदेशिक रोजगारमा रहेका उनका भाइ करिब तीन महिनाअघि नेपाल फर्केपछि दिदीको अवस्था देखेर शंका मानेर बारम्बार सोध्दा क्यान्सर भएको खुलेछ । तर केमोथेरापी पूरा नगरी चार साइकल मात्र लगाएको तथ्य त हामीले कागजपत्र हेरेपछि मात्र थाहा भयो ।

राम्रोसँग आधा जिन्दगी पनि बिताउन नपाउँदै क्यान्सरबाट पीडित हुनु, रोगको उपचार गर्ने आर्थिक हैसियत नहुनु, श्रीमान्को साथ अनि सहयोग नपाउनु, माइती पक्ष पनि आर्थिक अभावमा हुनु, के त्यतिबेला उनलाई राज्यको साथ चाहिँदैनथ्यो ? राज्यको के कुनै पनि भूमिका हुँदैन ?

उहाँलाई केमोथेरापी लगाउँदाको अन्कोसोजिस्ट टिमको डाक्टरको फोन नम्बर पत्ता लगाएर भोलि बिरामीको अवस्था तथा उपचारको थप सम्भावनाबारे म आफैं फोनमा छलफल गर्छु भन्ने आश्वासन दिएँ । बिरामीको भाइको अनुहारमा आशाको मधुरो दियो झल्काइदिएँ मैले । तर त्यही दिनदेखि बिरामी दिदीले औषधी लगाउन र केही पनि खान अस्वीकार गरिरहेकी थिइन् ।

भोलिपल्ट बिहान पाँच बजेतिर फोन बज्यो । उताबाट वार्डको सिस्टरको आवाज थियो, ‘डाक्टर, बेड नं १ को बिरामीलाई एकदम गाह्रो भयो, छिटो वार्डमा आउनुपर्‍यो ।’

सिस्टरको त्यो आवाजले म लगभग निश्चित थिएँ, ती दिदीको अवस्था साँच्चै गम्भीर भइसकेको छ । हान्निएर वार्डमा पुगें । अरू दिन झैं जसरी नै घोप्टिएर बसेकी थिइन् उनी । नाकमा अक्सिजन लगाइराखेको थियो, उनकी आमा अनि छोरा उनलाई बोलाउन अनेक प्रयास गर्दै थिए भने सिस्टरको अनुहार पनि मलिन थियो ।

‘भर्खर पाँच मिनेट अघिसम्म बोल्दै हुनुहुन्थ्यो एक्कासि बोल्न छोड्नुभयो’, पुग्नासाथ सिस्टरले भनिन् ।

‘आमा, आज मलाई घर लगिदिनु भन्दै थिई, पानी मागी अनि पानी खुवाएँ त्यसपछि बोल्नै छोडी’, आमाले भनिन् ।

त्यो नाबालक छोरा आफ्नी आमाको अन्तिम सास निन्याउरो मुख लगाउँदै थिए । मैले सधैं झैं दिदी भन्दै बोलाउने हर प्रयास गरें, तर कुनै आवाज आएन ।

आँखा बन्द थिए, हातखुट्टा लुला थिए, नारीको चाल मैले महसुस गर्न सकिनँ तर मुटु भने तेज चल्दै थियो, श्वासप्रश्वास दर घट्दै थियो । मैले अक्सिजन बढाएँ तर त्यो अक्सिजनको के लाग्थ्यो र बिरामी आफैंले सास लिन छोडेपछि ।

एक मन त लागेथ्यो- उनकी आमा र छोरालाई यो अवस्था हेर्न गाह्रो पर्ला बाहिर जान भनूँ कि ? तर अर्को मनले भन्यो- यो सबै अपेक्षित नै थियो, यति सब त सहनुभयो, हेर्नुभयो अब अन्तिम सास हेर्न दिनु नै उचित होला ।

अनेक प्रयासका गर्दा पनि आँखाबाट आँसु झर्न रोकिएन । अरूबेला त जसोतसो आफूलाई दह्रो बनाउँथें तर त्यो दिन किन किन मैले आफूलाई एउटा कमजोर डाक्टर महसुस गरें । खासमा त्यतिबेला आफूलाई डाक्टर हुँ भन्ने नै बिर्सिएँ । मैले न त सीपीआर सुरु गर्ने सोचें, न त इमर्जेन्सी औषधी दिने सोचें । किनकि औषधी दिएर म उनको मुटु एकछिनलाई चल्ने बनाइदिन सक्थें । जीवनदान दिन त कहाँ सक्थें र ?

बिरामी पक्षसँग उनले अन्तिम सास लिँदैछिन् भनेर परामर्श गर्नुपर्छ भन्ने पनि लागेन किनकि त्यतिबेलासम्म उनका भाइ, छोरा, आमा, नर्स र म उनको मृत्युवरण लाचार भएर हेर्न बाध्य थियौं । विस्तारै उनले सास फेर्न रोकिन् । त्यसपछि मुटुको धड्कन रोकियो र एकैछिनमा घाँटीको चाल पनि रोकियो । उनले यो संसारबाट बिदा लिइन् ।

टाउको बजार्दै एकातिर उनकी आमा रुन थालिन् । अर्कोतिर सुँक्कसुँक्क गर्दै छोराले बर्रर आँसु बगायो । दिदीको सास अझ बाँकी छ कि भन्ने आशामा भाइले नाडी फेरि छामे, तर दिदी भने चिर निद्रामा पुगिसकेकी थिइन् । त्यसपछि मृत्यु यकिन गर्न गरिने सम्पूर्ण जाँच गरें मैले । मुटुको ईसीजी निकालें र मृत्युपश्चात्को कागजपत्र तयार गर्न लागें । मरेको त्यो शव हेर्न आउने मान्छेको भीड लाग्यो अस्पतालमा । उनी जिउँँदो लास बनेर अस्पतालमा एक साता भर्ना हुँदा ती हात सहयोगी हात बन्न सकेका भए यस्तो दिन आजै पर्दैनथ्यो कि भन्ने पनि लाग्यो । तर त्यो त अर्थहीन सोचाइ न थियो ।

म उनको मृत्युको सर्टिफिकेट बनाउँदै थिएँ । आमा गुमाइसकेकी नाबालक छोरी रुँदै भित्र छिरेको देखें । अन्तिमपटक आमाको मुख देखाउन उनलाई त्यहाँ ल्याइएको थियो । तिमीलाई तिम्रो आमाले ‘छोरी’ भनेर अब कहिल्यै बोलाउने छैनन्, तिमी अब आमाबिनाकी टुहुरी भएकी छौ, तिमीले आमाको न्यानो काख अनि अमूल्य ममता गुमाएकी छौ भन्ने मेरो अन्तर्मनले उनलाई अव्यक्त रूपमा भनिरहेको थियो ।

एउटी छोरी भएर आमाको ममताको महत्वबोध गरिराख्दा मैले फेरि पनि आफ्ना आँखामा आँसु सम्हाल्न सकिराखेकी थिइनँ । यस्तो भावविह्वल परिस्थितिको सामना गर्नु म स्वयंलाई अझ बलियो बनाउनु हो भन्ने लाग्यो । अस्पतालको तर्फबाट हामीले गर्न सक्ने अन्तिम सहयोग थियो त्यो । उपचारका क्रममा लागेको तिर्न बाँकी खर्च मिनाहा गरिदियौं ।

यो त एक प्रतिनिधि कथा मात्र हो । यस्ता थुप्रै कथा हाम्रो समाजमा भेटिन्छन् ।

क्यान्स र नेपाल

क्यान्सरपीडित भए पनि समयमा राम्रो उपचार पाएका कति व्यक्तिले जीवनदान पाएको उदाहरण पनि छन् हाम्रो समाजमा । विश्वस्तरमै हेर्ने हो भने स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि भएका छन्, निको नहुने भनिएका कतिपय रोगको उपचार पत्ता लागेको हुन्छ आफूसँग भएको पैसा त्यही रोग पत्ता लगाउने क्रममै सकिइसकेको हुन्छ । अति थप उपचार उनीहरूका लागि असम्भव हुन्छ । त्यसपछि आफ्नै भाग्यलाई धिक्कार्दै मृत्यु कुर्नुबाहेक अर्को विकल्प हुँदैन ।

नेपाल सरकारले गरिब क्यान्सरपीडित बिरामीको सहयोगका लागि एक लाख रुपैयाँबराबरको केमोथेरापी वा रेडियोथेरापीको उपचार खर्च बेहोरिदिन्छ । तर एक लाख रुपैयाँको प्रायजसो मुस्किलले तीन वा चार साइकल केमोथेरापी गर्न पुग्छ र बिरामीले आर्थिक अभावकै कारण त्यसपछिको थप उपचार पूरा गर्दैनन् । उपचार पूरा नगर्नुको अर्को एउटा कारण बिरामीमा क्यान्सर रोगसम्बन्धी सचेतनाको कमी पनि हो । क्यान्सरले गम्भीर अवस्था ननिम्त्याउँछन् ।

बिरामीहरू आफूलाई केही नभएको जस्तो महसुस गर्छन्, पछि आइपर्न सक्ने विकराल अवस्थाबारे अन्जान हुन्छन् र तीनचार साइकल केमोथेरापी÷रेडियोथेरापी लगाएर घर फर्किन्छन् थप उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट पहल गर्दैनन् । अनि अर्धउपचारले अन्ततः मृत्यु निम्त्याउँछ । विगतमा क्यान्सरसम्बन्धी विभागमा केही समय मेडिकल अफिसरका रूपमा काम गर्ने अवसर मैले पाएकी थिएँ र त्यही अनुभवका आधारमा सरकारले प्रदान गरेको एक लाख रुपैयाँबराबरको सहयोग त्यत्ति प्रभावकारी बन्न नसकेको हो कि भन्ने महसुस मैले गरेकी छु । त्यसैले केमोथेरापी वा रेडियोथेरापीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोरिदिने हो भने मात्र बिरामीले पूरा उपचार पाउनेछन् र सहयोग उपलब्धिमूलक बन्न सक्नेछ ।

विश्व स्वास्थ्य संगठनको २०१४ मा निकालेको तथ्यांकअनुसार नेपालमा ६ हजार ९ सय पुरुष र सात हजार चार सय महिलाले क्यान्सर रोगबाट ज्यान गुमाएका छन् । पुरुषमा देखिने क्यान्सरमा मुख्यतः फोक्सो (१७ प्रतिशत) मुख (१२.९ प्रतिशत), पेट (९.३ प्रतिशत) रगत (७.४ प्रतिशत) देखिएको छ भने महिलामा पाठेघरको मुख (१८.४ प्रतिशत), फोक्सो (१४.३ प्रतिशत), स्तन (११.६ प्रतिशत) देखिएको छ । हाम्रो घर, छिमेक अनि आफन्तमाझ क्यान्सर रोग निकै डरलाग्दो रूपमा फैलिँदै गएको यथार्थ हामीमाझ प्रस्ट छ हिजोआज । अमेरिकी क्यान्सर सोसाइटीले मुख्यगरी सातवटा क्यान्सरका प्रारम्भिक संकेतहरू दिएको छ । ती हुन्-

१. दिसा पातलो हुने वा कब्जियत हुने र पिसाबसम्बन्धी समस्या

२. लामो समयसम्म निको नहुने घाउ

३. शरीरको कुनै पनि खालबाट रगत बग्नु वा पीप बग्नु

४. शरीरको कुनै पनि भागमा डल्लो वा नयाँ गाँठा पलाउनु

५.अपच हुनु वा निल्न गाह्रो हुनु

६. मुसा वा कोठीको रोग, आकार र आकृतिमा परिवर्तन आउनु

७. निरन्तर खोकी लागिरहनु ।

माथि उल्लिखित कुनै पनि संकेत देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । क्यान्सर मुख्यगरी हाम्रो जीवनशैली र असन्तुलित खानपानका कारण नै हुन्छ । त्यसैले धूमपान, मध्यपान नगर्ने, स्वस्थबर्धक खाना खाने, हरिया सागपात र फलफूल खाने, रातो मासु (विशेषगरी पोलेको मासु) सेवन नगर्ने वा कम गर्ने, शरीरको तौललाई व्यवस्थित गरी मोटोपनाबाट बच्ने, नियमित व्यायाम गर्ने, जीवनशैली व्यवस्थित गर्ने र सकारात्मक सोच लिने नै क्यान्सरबाट बच्ने उपाय हुन् ।

यसका साथै नियमित रूपमा स्वास्थ्य जाँच गराउन पनि उत्तिकै महत्वपूर्ण छ । तर कतिपय क्यान्सर वंशाणुगत पनि हुन्छ । घाम र एक्स-रेबाट निस्किने विकिरण, विभिन्न खाले केमिकल्स र संक्रमण (हेपाटाइटिस बी र सी, एच, पाइलोरी, ह्युमन पापिलोमा भाइरस) पनि क्यान्सरका कारण हुन् । त्यसैले कतिपय क्यान्सरका कारण हाम्रो अधीनमा छैनन् । भोलिका दिनमा के हुनेछ त्यो त कसैले भन्न सक्दैन, तर आजको दिनलाई एउटा सुन्दर उपहार सम्झेर सकारात्मक सोच राख्दै जीवनशैलीलाई व्यवस्थित बनाउनु नै हाम्रो अधीनको कुरा हो ।

-लेखक बन्दीपुर अस्पताल तनहुँकी मेडिकल अफिसर हुन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.