'हाम्रो सोचले परनिर्भरता बढाएको छ'

'हाम्रो सोचले परनिर्भरता बढाएको छ'

लेखक सुजीव शाक्य अंगे्रजी पाठकका लागि नौलो नाम होइन । अर्थतन्त्रको विषयमा आलोचनात्मक धारणा राख्ने शाक्यको नयाँ किताब ‘अर्थात् अर्थतन्त्र नेपाली इलम र उद्यमको यात्रा’ आज सार्वजनिक हुँदैछ । शाक्यसँग नेपाली अर्थतन्त्रको विविध पाटोमा केन्द्रित भएर गरिएको कुराकानीको सम्पादित अंश ।

अर्थशास्त्रलाई अझै पनि प्राज्ञिक विषय मानिन्छ । यस्तो अवस्थामा तपाईंले लेखेको किताबले अर्थको शास्त्रीय बुझाइमा असर गर्छ ?

वस्तु विनिमय प्रणालीको समयमा अर्थको विषयमा धेरैको चासो थिएन । पैसालाई कारोवारको माध्यम मानेपछि अर्थ आम जनताको विषय बन्यो । नेपालमा अहिले पनि अर्थलाई आम जनताको विषय मानिदैन । मेरो किताबले अर्थलाई आम जनतासँग जोड्ने प्रयास गरेको छ । सरल भाषामा मात्र होइन, नेपालको इतिहासलाई आर्थिक पाटोबाट केलाउने प्रयास भएको छ । अहिलेसम्म बजारमा पाइने किताब हेर्दा यो विल्कुल नौलो प्रयास हो भन्ने लाग्छ ।

अहिलेसम्म नेपालीको इतिहासको यो पाटो किन लुक्यो जस्तो लाग्छ ?

हामीले आर्थिक रूपमा हाम्रो इतिहास खोजेनौं । मल्लकालमा काठमाडौंं उपत्यका समृद्ध थियो । तिव्बतसँगको व्यापारमा हामी पोख्त थियौं । नेपालको एकीकरणपछि पृथ्वीनारायण शाहले देशलाई आत्मनिर्भर बनाउन खोजे । उनको दिव्योपदेशमा पनि यो कुरा पढ्न पाइन्छ । उनको समयपछि आर्थिक विकास ओरालो लाग्न थाल्यो । राणाहरूले अंग्रेजले दिएको टाइटल ‘वीर गोर्खाली’ मा रमाए । अरूका लागि नेपाली मरे र वीरताको खास्टो ओढे । त्यसैलाई क्यास गरेर राणाहरूले पैसा कमाए । राणाशासनपछि हामी झन्झन् परनिर्भर बन्दै गयौं । हाम्रो आर्थिक इतिहासको गौरवलाई खोतल्ने काम भएन ।

अहिले परनिर्भरताको उच्च विन्दुमा पुगेका छौं, हैन ?

हामी आर्थिक रूपमा पहिल्यैदेखि परनिर्भर थियौं । आज आएर परनिर्भर भएको होइन । नेपालमा जनताको सम्पत्ति थिएन । भए पनि उनीहरूसँग सम्पत्तिको निस्सा थिएन । राजाहरूले सम्पत्ति आफ्नो नाममा राख्दै गए । २०२२ सालमा भूमिसुधार आयो । त्योभन्दा पहिला हामीसँग सम्पत्तिको हक थिएन । सम्पत्तिको स्रोतका लागि अरूसँग भर पर्नुपथ्र्यो । अर्कोतर्फ देशको आधा संख्यामा रहेका महिला अहिले पनि पुरुषमा निर्भर छन् । आजसम्म पनि यो प्रचलन कायमै छ । त्यसैले हामी परनिर्भरताको चक्रमा घुमिरहेका छौं भन्ने मेरो तर्क हो ।

आर्थिक परनिर्भरतालाई कसरी हेनुहुन्छ ?

हाम्रो समाज भनसुन र चाकडीमा चलेको देखिन्छ । सरकारी जागिर खानुपर्ने मुख्य कारण पनि यही हो । सरकारी जागिर भएकाहरूलाई भनसुन गर्न सजिलो हुने भयो । समाज विभिन्न किसिमले विभाजन भयो । लाहुर जानेको आकर्षण बढ्न थाल्यो । विस्तारै बहाले मनस्थितिको सृजना भयो । जसले गर्दा अर्थतन्त्रमा उद्यमशीलताका विकास भएन । उद्यमशीलताको विकास नभएपछि रोजगार सृजना हुने कुरै भएन । यसले फेरि पनि जागिरे संस्कृतिको विकास गर्न सहयोग गर्‍यो । उद्यमशीलताको विकास नभएका कारण आर्थिक परनिर्भरता बढेको हो । नेपाल लामो समयदेखि यही बाटोमा अगाडि बढेको देखिन्छ ।

उद्योग गर्नेलाई प्रोत्साहन नभएकाले पनि यस्तो समस्या आएको हो ?

कृषि हाम्रो परापूर्व कालदेखिको पेसा हो । तर किसानको सम्मान यहाँ भएन । मेहनतको हामीले कदर गर्न जान्दै जानेनौं । जातको विभाजन भयो । जातअनुसारको काम तोकियो । काम गर्नेले नभई व्यापार गर्नेले सम्मान पाउन थाले । व्यापार गर्नेको नाफा बढी भयो । जसले गर्दा काम गर्नेलाई प्रोत्साहन गर्न सकिएन । अर्थतन्त्रमा काम नगरी कमाउने सोचको विकास भयो । हामी अहिले पनि यही सोचबाट अगाडि बढेका छौं ।

.सोचमै व्यावसायिकता भएन भन्न खोज्नुभएको हो ?

हो, हाम्रो सोचमै व्यावसायिकता छैन । हामी जागिरे मानसिकताबाट ग्रस्त छौं । अरू देशका मानिसले संसारमा कसरी प्रतिस्पर्धा गर्नुपर्छ भनेर सोच्छन् । कोरिया, मलेसिया र सिंगापुर अन्तर्राष्ट्रिय स्तरको सोच राखेर अगाडि बढे । हामी जहाँको तहि अड्कियौं । यसलाई ठीक वा बेठीक भन्ने अधिकार मसँग छैन । मात्र चौबाटोमा बसेर यस्तो भयो भन्न खोजेको हो । जुन विषय मैले मेरो किताबमा पनि लेखेको छु ।

 तपाईंले किताबमा बहाले परम्पराको कुरा गर्नुभएको छ, यसले अर्थतन्त्रलाई गाँजेको छ, त ?

बहाले परम्पराले कुलिन तथा अभिजात वर्ग र सम्पन्नशाली जमिनदारलाई कामै नगरी खान प्रोत्साहित गर्छ । माथिल्लो जात भनिएका बाहुन, क्षत्री र केही नेवार समुदायका पुरुष काम गर्ने विचारप्रति असहमत थिए । कामै नगरी भाडा उठाएर खानेहरूले समाजको समेत प्रशंसा पाउन थाले । उनीहरू त्यसैमा रमाउन थाले । यो नाफाखोर मनोवृत्ति हो । यो प्रवृत्ति वर्तमान आर्थिक गतिविधिमा समेत विभिन्न रूपमा प्रकट भएको छ । यस्तो परम्पराले श्रमप्रति गौरव गर्ने समाज निर्माण हुन सकेको छैन । जसले गर्दा आर्थिक विकास पनि प्रभावित भएको छ ।

 यस्तो प्रचलन माथिल्लो तहबाटै संरक्षित भएको देखिन्छ, हैन ?

नेपाली अर्थतन्त्र लामो समयदेखि एउटै मनसायबाट चलेको देखिन्छ । अहिले पनि त्यसैको एक संस्करणको रूपमा अर्थतन्त्र चलेको छ । १८३१ सालमा पृथ्वीनारायण शाहको मृत्यु भएपछि पनि राज्य विस्तार अभियान रोकिएन । उनका उत्तराधिकारीले न त बलियो शासन प्रणालीलाई संस्थागत गर्न सके, न प्रगतिशील आर्थिक नीतिलाई नै । गोर्खा र वरपरका क्षेत्रमा चलनमा रहेको परम्परागत सामन्ती अर्थव्यवस्थालाई कायम राख्दै नेपाल अधिराज्यले ज्यादै नगण्य प्रगति हासिल गर्‍यो । हरेक नागरिक अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हुन् । हामीले अहिलेसम्म त्यसरी हेर्न सकेका छैनौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.