पहिचान खोजीमा कायत समुदाय

पहिचान खोजीमा कायत समुदाय

बागलुङ : ढोरपाटन क्षेत्रका अल्पसंख्यक कायत समुदायले बल्ल आफ्नो जातीय पहिचान खोज्न थालेका छन्। दुर्गम गाउँका कायत समुदायले जातीय अनुसूचीमा अल्पसंख्यकमा राखिदिन माग गरेका छन्। कायत समुदाय जातीय अनुसूचीमा नपर्दा अहिले आफूहरू कुन जातिको हो भन्नेसमेत अन्योलमा परेको उनीहरू बताउँछन्। 

हालसम्म कुन जातिको भन्ने विषय थाहा नभएकाले राज्यले दिने विभिन्न सेवा-सुविधाबाट समेत वञ्चित हुनुपरेको स्थानीय सविर कायतले गुनासो गरे। ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा बसोबास गर्ने कायत समुदाय आफ्नो जातबारे प्रस्ट छैनन्।

राज्यले लोपोन्मुख, अल्पसंख्यक एवं दलित समुदायलाई थप सेवा-सुविधा दिए पनि आफूहरूले त्यो पाउन नसकेको कायत समुदायको गुनासो छ। ढोरपाटन क्षेत्रमा ६० घरधुरीका झन्डै ३ सय ५० जनसंख्या रहेको उक्त जातिको बसोबास मुलुकका कुनै पनि ठाउँमा नभएको स्थानीय कायत समुदायका अगुवा बताउँछन्। ‘हामी अल्पसंख्यक हौं, यहाँका दलित समुदायले ६० वर्षपछि वृद्धभत्ता बुझ्छन्, तर हामीले ७० वर्ष काटेपछि मात्र त्यो सेवा पाउने अवस्था छ,’ कायतले थपे।

 ‘कायत कुन जातीय वर्गमा पर्छ भन्ने आफैंलाई थाहा छैन, राज्यले लोपोन्मुख, अल्पसंख्यकमा समावेश गर्न नसके ब्राह्मण, क्षत्री, जनजाति, दलित जुन वर्गमा सूचीकृत गरे पनि हुन्छ’, स्थानीय युवा कल्याण कायतले भने। राज्य र तिनका निकाय तथा नेतालाई गाउँमा आउँदा पटक-पटक जातीय वर्गमा सूचीकृत गर्न आग्रह गरे पनि बेवास्ता गरिदिँदा आफूहरू राज्यबाट पाइने सेवा-सुविधा तथा विभिन्न रोजगारीका अवसरबाट वञ्चित भएका छन्।

कायत समुदाय दलित र जनजाति समुदायको बढी बसोबास रहेको ढोरपाटन क्षेत्रमा बढी छन्। नेपालमा १ सय २५ जाति सूचीकृत भए पनि कायतलाई कुनै पनि जातिमा समावेश नगरिएको उनीहरूको गुनासो छ। नेपालमा कुल जनसंख्याको ०.५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई अल्पसंख्यकको सूचीमा राख्ने प्रावधानअनुसार अहिले ९८ जाति अल्पसंख्यक र १२ जातीय लोपोन्मुखको सूचीमा छन्।

कायत जातिबारे आफूले पहिलेदेखि नै अध्ययन गरिरहेकाले उनीहरूलाई जातीय वर्गमा सूचीकृत गर्न पहल गर्ने ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए। ‘मानिस कोही पनि पहिचानविहीन बनेर बस्न सक्दैन, कायत जातिले पहिचानका लागि लामो समय लडे पनि पहिचान पाउन सकेका छैनन्,’ मेयर नेपालीले भने, ‘स्थानीय सरकारका तर्फबाट कायत समुदायको पहिचान स्थापित गराउन हामीले आवश्यक पहल र प्रयत्न सुरु गरेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.