‘सहानुभूतिपरक साहित्यको फेसन छ’
चालीसको दशकदेखि पहिचानका पक्षमा कविता लेखिरहेका छन्– भूपाल राई। उनको पछिल्लो कवितासंग्रह ‘आगोले जन्मोत्सव मनाउँदैन’ बजारमा उपलब्ध छ। राईसँग पहिचानवादी कविताको अवस्था, सान्दर्भिकता, समस्या र लेखनीबारे राजु स्याङ्तानले गरेको कुराकानी :
सडकमा पहिचानको राजनीति चर्किंदा मात्रै पहिचानवादी कविहरू जुर्मुराएको देखियो। पहिचानको राजनीति सदाको लागि अस्तायो भने त्यस्ता कविता नै नलेखिने हो ?
हिजो पहिचानको मुद्दा धिमा गतिमा उठ्दा पनि हामीले पहिचान पक्षधर कविता लेख्यौं। कहिलेकाहीँ कविहरू कुनै राजनैतिक पार्टीको मनोवैज्ञानिक दास हुँदा कम लेखिन सक्छ। तर पहिचानको मुद्दा केही राजनैतिक दलले छाडे पनि, उठाए पनि कविहरूको भने मूल मुद्दा हुनुपर्छ। पहिचानको राजनीति चर्किंदा मात्रै पहिचानवादी कविहरू जागेको अवस्था सत्य हो। पहिचानको मुद्दा बुलन्द हुँदा त्यसलाई पछ्याउने र दलहरूले छाडेपछि कविले पनि छाडिदिने अवस्था देखियो। तर राम्रो होइन। कविले जहिल्यै पनि प्रतिपक्षको भूमिका खेल्नुपर्छ। कहिलेकाहीँ कविले आफ्नैविरुद्ध पनि कविता लेख्नुपर्छ। आफैंसँग पनि विद्रोह गर्नुपर्ने हुन्छ। राजनैतिक रूपमा मुद्दा उठे पनि नउठेपनि कविले आफूलाई सत्य लागेको मुद्दामा निरन्तर लेखिरहनुपर्छ।
आफ्नैविरुद्ध लेख्नुपर्छ भन्नाले ?
कवि कुनै अमूक दलको भोटर हुन सक्छ। भोट पनि हाल्ने अनि पार्टी जता जान्छ उतै कविता लेख्ने गर्नुहुन्न। त्यस्तो बेलामा ऊ साँच्चै कवि हो भने ऊभित्रको कवि जाग्नुपर्छ। कवि भनेको विसंगतिविरुद्ध लड्ने विद्रोही चेत भएको मानिस हो। समाजमा उत्पीडन भइन्जेलसम्म कविभित्रको कवित्व जाग्नुपर्छ। आफूले भोट हाल्ने गरेको पार्टी गलत दिशामा जान्छ भने त्यसको विरुद्ध पनि उभिने हिम्मत कविमा हुनुपर्छ।
अहिले पहिचानवादी कविताको स्वर कम सुनिन्छ। त्यसो भए अब पार्टीसँग विद्रोह गर्ने बेला आएको हो ?
लगभग अब विद्रोह गर्ने अवस्था आइसकेको छ। अहिले वामपन्थी एकता, विकास र समृद्धिको नाममा उत्पीडित जाति वर्गका सबै मुद्दाहरू ओझेल पर्दै गएका छन्। त्यसको विरुद्धमा कविहरू उभिनुपर्छ। पहिचान, संघीयता, धर्मनिरपेक्षताका कुराहरू ओझेल पर्दै गयो भने कविहरू उभिनुको विकल्प छैन। वाम एकताको नाममा कुनै पार्टीहरू पहिचानको मुद्दा ओझेल पार्दै पश्चगमनतर्फको यात्रामा लाग्छ र समाजलाई पछाडि ढकेल्ने दुष्प्रयास गर्छ भने त्यसको विरुद्ध कविहरू उभिनुपर्छ। म कुनै पार्टीलाई समर्थक छु होला तर आफूले समर्थन गरेको पार्टीले गलत काम गर्छ भने त्यो पार्टीको दास बन्दै पार्टीसँगै सति जान म तयार छैन। किनकि देशमा अझै राजनैतिक मुद्दा सकिएको छैन। कैयन राजनैतिक मुद्दा अझै थाँती छ।
तपाईं केही वर्षअघि माओवादी पार्टीमा आबद्ध हुँदै ‘म माओवादी भएको होइन, माओवादी चाहिँ म जस्तो भएको हो’ भन्नुभएको थियो। अहिले माओवादी–एमाले एकताको कुरा चलिरहेको छ। अब तपाईं ‘को’ जस्तो ?
नेपाली आन्तरिक राष्ट्रिय मुक्तिको सवालमा मैले चालीसको दशकदेखि पहिचानको मुद्दा उठाउँदै आएको हुँ। कविता, गीतहरू यही विषयमा प्रशस्त लेखेँ। मैले उठाएको मुद्दालाई माओवादीले साठीको दशकमा मात्रै अंगीकार गर्यो। त्यही प्रसंगमा मैले भनेको थिएँ।
माओवादीलाई मेरो उपस्थिति/अनुपस्थितिले कुनै घाटानाफा नगर्ला तर वाम एकता भन्दै पहिचानको मुद्दालाई माओवादी पार्टीले ओझेल पार्दै लग्यो भने म माओवादीविरुद्ध पनि उभिन सक्छु। म कुनै पार्टीको दास र पार्टीसँगै सती जाने मान्छे होइन। आफ्नो मतको सुरक्षा गर्ने अधिकार मैसँग छ। अहिले माओवादी एमाले जस्तो भएको हो कि, एमाले माओवादी भएको हो भन्ने बुझ्न बाँकी छ। केही समय पर्खनुपर्छ।
देश संघीयतामा गयो। जनताले जनप्रतिनिधि पाए। कतिपय स्थानीय तहका नामकरणसमेत स्थानीय मिथकबाट राखिएका छन्। नेपालको इतिहासमा यत्तिको उपलब्धि कहिल्यै भएको थिएन। कहिलेसम्म पहिचानवादी कविता लेखिरहने ?
पहिचानवादी कविताहरू अझै लेखिनुपर्छ। किनकि पहिचानको मुद्दा सल्टिएकै छैन। यो त्यत्तिकै रोकिँदैन पनि। यो लामो रेसको घोडा हो। अहिलेको परिवर्तन सानो संकेत मात्रै हो। नेपालभित्रको आन्तरिक राष्ट्रहरूले खोजिरहेको पहिचान प्राप्त भएकै छैन। गाउँपालिका र नगरपालिकाको नाम स्थानीय मिथसँग जोडेर नामकरण गर्दैमा केही हुँदैन। त्यो साँच्चैको सत्ता हो कि होइन भन्ने कुरा अहिलेसम्म निक्र्योल भएको छैन।
केही साहित्यकारलाई सीमान्तकृत वर्गको पक्षमा साहित्य लेखिरहने ‘लत’ छ भनिन्छ नि !
यो कुरा केही हदसम्म सही हो। दलितको बारेमा हामीले लेख्ने कविता भनेको सहानभूति मात्रै हो। साँच्चैको पीडा दलितलाई मात्रै थाहा छ। मैले लेखेका कविता दुश्मन कविता हुन् भन्ने गर्छु। किनकि सबैका लागि कविता लेख्न सकिँदैन। किराँत कति पीडित छ भन्ने कुरा किराँतले मात्रै अनुभूत गर्न सक्छ। आर्यखस साथीहरूले किराँतको बारेमा साहित्य लेख्दा सहानुभूति मात्रै दर्शाउने हो। कतिपय साहित्यकारको सन्दर्भमा लत होइन फेसन जस्तो पनि देख्छु, जसको विषयमा लेख्दा चर्चाको विषय हुन्छ। स्क्यान्डर बन्छ। हेर्ने दृष्टिकोण अलग बन्छ। सहानभूति प्राप्त हुन्छ। उनीहरू त्यसैका लागि लेखिरहेका छन्।
फेसन नै कसरी ?
सीमान्तकृत समुदायको सहानुभूति बटुल्ने काम भइरहेको छ। तर आफ्नो कथा साँच्चै पीडितले लेख्नुपर्छ। सहानुभूति दिनु, सीमान्तकृतको पक्षमा उभिनु सजिलो छ। पीडितको वास्तविक भोगाइ अनुभूति गर्न निकै गाह्रो छ। असम्भव पनि छ। भित्री उत्पीडनको आवाज त्यही समुदायको सदस्यले मात्रै व्यक्त गर्न सक्छ।
त्यसो भए अहिले सहानुभूतिपरक साहित्य बढी भएको हो त ?
बढी भयो भन्ने होइन, फेसन चाहिँ चलेको छ। फेसन चल्नुको कारण समय सन्दर्भले पनि हो। जुन दिशामा समाज बगेको छ त्यसबाट लोभिएर पनि सहानभूतिपरक साहित्य लेखिएको छ। साँच्चैको पिपा म भएको छैन। त्यो पिपाले आफ्नो कथा आफैं जबसम्म लेख्दैन, तबसम्म साँच्चैको पीडा बाहिर आउँदैन।
पिपाले लेख्न नसक्दासम्म अरुले लेख्नै नमिल्ने हो र ?
मिल्छ। सहानुभूतिपरक लेखेर पनि त्यो आवाजलाई उठाउन सकिन्छ। त्यसले केही सहयोग पक्कै गर्छ। लेख्नै हुन्न म भन्न चाहन्न। तर अहिले जेजे लेखिएको छ त्यो चाहिँ फेसन नै भएको छ। यसमा समाजमा चिनिने लोभ मिसिएको छ।
‘राष्ट्रिय जनावरको देशमा’ कवितामार्फत तपाईंलै बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्थामाथि ठेस पुर्याउनुभयो भन्ने आवाज सुनिन्छ नि ?
कसैको आस्थामाथि ठेस पुर्याउने मेरो आशय होइन। मैले मेरो पीडा लेखेको हुँ। म किराँती हुनुको पीडा लेखेको हुँ। हजारौं वर्षदेखि खाँदै आएको मेरो प्राकृतिक न्यायको खोज गरेको हुँ। मेरो आफ्नो खाद्य सम्प्रभुताको खोज गरेको हुँ। अढाइ सय वर्षअगाडिदेखि १२/१४ प्रतिशतले मेरो पाँच हजार वर्षअघिको न्याय खोस्ने हो त ? मेरो मूल प्रश्न यही हो।
तपाईंले एक दशकअघि नौ दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा उपकुलपतिको हैसियतमा सही गरेर फर्किनुभयो। त्यसपछि तपार्इंको एकेडेमी यात्राबारे कुनै गल्लीमा गाइँगुइँ हल्लासमेत चलेन। त्यो अतृप्तपनले पनि तपार्ईंलाई राज्यप्रति धैरै झोंक चलेको हो ?
मेरो बारेमा कसैले यसरी पनि बुझ्लान्। यसमा मेरो आपत्ति छैन। तर म कविता किन लेखिरहेको छु यो मुख्य कुरा हो। शताब्दीऔंदेखि राज्यसत्ताले आफ्नो अनुकूलको बौद्धिक परम्पराको निर्माण गर्छ। त्यही अनुकूलको बौद्धिक व्यक्तिहरूको निर्माण गर्छ। त्यसबाट उनीहरूले आफू अनुकूलको सौन्दर्यशास्त्र निर्माण गर्छ। यो सम्पूर्ण परम्पराको म पीडित मान्छे हुँ। मेरो चुनौती त्यो परम्परा तोड्नुसित छ। लामो समयसम्म शासन गरिरहेको एकपक्षीय बौद्धिक परम्पराको विरुद्धमा छु म।
उपकुलपतिको हैसियतमा मैले एकेडेमीमा नौ दिन हाजिर गरेँ। त्यहाँ मेरो चाहनाले गएको थिइनँ। मेरो आवश्यकता खड्कियो र त्यतिबेलाको सरकारले मलाई पठायो। सरकार स्थिर भएन। यो बेग्लै कुरा हो। अहिले म पद खोज्दिनँ। कतै मेरो आवश्यक ठहर्याएमा म गएर काम गर्ने हो। त्यहाँ गएर काम गरे पनि मेरो जुन लेखनी हो, जुन प्रश्न चिह्न छ त्यो मेटिने छैन।