‘नेताहरु कहाँबाट चल्छन्, त्यसको जानकारी जनताले राख्नुपर्छ’
दमक : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार नभएर संस्कार बदल्नु पर्ने बताएका छन् । देशलाई समृद्ध र समुन्नत बनाउन आफुभित्र रहेका खराब संस्कार बदल्नुपर्ने कांग्रेस प्रवक्ता शर्माको भनाई छ ।
झापाको दमकमा शनिबार विपी अध्ययन प्रतिष्ठान र यूथ नेटवर्कले आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसंवादलाई सम्बोधन गर्दै शर्माले देशलाई हार्ने र जित्ने दुबैको खाँचो रहेको बताए । चुनावमा जित्ने थोरै र हार्ने बढी भएकोले जित्नेले मात्रै देश बनाउन नसक्ने कुरा राखे ।
देश बनाउनमा हार्नेको पनि उत्तिकै जिम्मेवारी रहेकोले सबैले आ–आफ्नो क्षेत्रबाट देश विकासका लागि जुट्न आग्रह गरे । प्रतिपक्षमा बसेर पनि सरकारका राम्रा कामलाई कांग्रेसले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
नेतृत्व गर्ने नेताले आवरण राम्रो बनाएर मात्र नहुने आचरण राम्रो बनाउनुपर्ने उनको भनाई थियो । उनले भने– ‘नेतृत्वमा पुगेका नेताहरुले आवरण मात्र राम्रो बनाएर हुदैन, आचरण पनि राम्रो बनाउनुपर्छ । सबैले राम्रो आचरण बनाए देश आफै बन्छ ।’
हार्ने र जित्ने दुवैले मिलेर देश बनाउनु पर्ने बताउँदै उनले जितेर दम्भता राखे त्यो क्षणिक हुने बताए । नेताको लागि आचरण सबैभन्दा महत्वपुर्ण कुरा रहेको बताउँदै उनले सुरुमा आफै बदलिन सबैलाई आग्रह गरे । नेताहरु कहाँबाट चल्छन् कसरी काम गरिरहेका छन् यसको बारेमा जनताले जानकारी राख्नु पर्ने शर्माको सुझाव छ ।
कांग्रेसका युवा नेता शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला विवेकशील साझा पार्टीले राखेको ब्यानर प्रहरीले च्यातेर फाल्नु सरकारको अधिनायकवाद चरित्र भएको टिप्पणी गरे ।
लोकतन्त्रमा सबैले आफ्नो विचार सभ्य ढंगले राख्न पाउने अधिकार रहेको नबिर्सन सरकारलाई सचेत समेत गराए । उनले भने ‘सरकारको यो कार्य एकदमै निन्दनीय र लोकतन्त्र बिरोधी छ ।’ सिंहदरबार अगाडि एकलाख मानिस उतार्नुमात्र प्रजातन्त्र नभएको उनको जिकिर छ ।
एउटा व्यक्तिले सिंहदरबार अघि झण्डा लिएर शान्तिपूर्ण ढंगले आफ्ना विचार राख्न पाउनु पनि प्रजातन्त्र भएको शर्माले धारणा राखे ।