‘फाइभ टी’ को मोदी सूत्र : सबै समेट्ने प्रयास
काठमाडौंं : नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासमा ‘फाइभ टी’ को नयाँ सूत्र अगाडि सारेका छन् । शुक्रबार जनकपुरको वारह विभागमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो सूत्र अगाडि सारेका हुन् ।
उनले ‘पाइभ टी’ अर्थात् परम्परा, पर्यटन, यातायात, प्रविधि र व्यापारबाट नेपालको विकास सम्भव भएको बताएका छन् । अर्थशास्त्री प्रा.डा.मदनकुमार दाहाल नेपालको सन्दर्भमा सबै विषय प्याकेजमा राखेर हेर्नुभन्दा प्राथमिकता तोकेर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘हाम्रो अर्थतन्त्रको सबैभन्दा अप्ठ्यारो पक्ष आयात बढी र निर्यात कम हुनु हो । बढ्दो व्यापार घाटा कम कसरी गर्ने भन्ने अहिलेको समस्या हो । त्यसैले हाम्रो प्राथमिकता के भन्ने विषय राज्यले निर्धारण गर्नुपर्छ ।’
भ्रमणको अन्तिम दिन १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । भारतसँगको व्यापार घाटा कम गर्ने विषयमा समेत भ्रमणको समयमा सहमति भएको छ । सहमतिको ६ नम्बर बँुदामा नेपालको व्यापार घाटा कम गर्न भारतल नेपाली सामानलाई थप सुविधा दिन सहमति जनाएको छ । हालै काठमाडौंंमा सम्पन्न नेपाल–भारत अन्तरसरकारी वाणिज्य सचिवको निर्णयलाई कार्यावयन गर्ने विषयमा समेत दुई देशका प्रधानमन्त्रीले सहमति जनाएका छन् । बैठकले नेपाल र भारतबीचको वाणिज्य तथा पारवहन सम्झौतालाई पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री मोदीलाई त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा बिदाइ गरेपछि पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी सेप्टेम्बरसम्म नेपालले उठाएका विषयमा प्रभावकारी कार्यान्वयन हुने बताए । उनले भने, ‘रेलवे, जलमार्ग र कृषि साझेदारीमा ठोस प्रगति हुने गरी सहमति भएको छ ।’ सहमतिको सातौं बँदामा नेपाललाई आकास, जल र स्थलमार्गमार्फत जोड्ने विषयमा सहमति भएको छ । नेपालले पछिल्लो समय उठाउँदै आएको नयाँ हवाई रुटका विषयमा अगाडि बढ्न भारतले सहमति जनाएको छ । यसका लागि आआफ्नो प्राविधिक टोलीलाई छलफल गर्न निर्देशन दिइएको जनाइएको छ । गौतमवुुद्ध अन्तर्राष्ट्रिय विमानस्थाललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रूपान्तरण हुने भएपछि नेपाललाई नयाँ हवाई रुटको आवश्यक पर्छ ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारी नयाँ हवाई रुटको विषय दुई महिनामा टुंगिने बताए । उनले भने, ‘हामीले धेरै मेहनेत गरेर हवाइ रुटका विषयमा सबै कुरा टुंग्याएका छौं । नेपालले चार वटा हवाई रुट मागेको छ । पहिलो चरणमा भारतले दुई वटा रुट दिन सक्ने देखिन्छ ।’ मन्त्री अधिकारीका अनुसार छिट्टै नेपाल र भारतका उड्ययन प्राधिकरणका अधिकारीको बैठकले नयाँ हवाई रुटका बारेमा निर्णय गर्नेछ ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दनमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासमा आफू शेर्पा बन्न चाहेको बताए ।
नेपाललाई अहिले भारतले सिमराको मात्र हवाई रुट दिएको छ । अन्तर्राष्ट्रिय उडानको बढ्दो चापसँगै नेपालले नयाँ हवाई रुट मागेको हो । पहिलो चरणमा नेपालन्ज रुट नेपालले पाउने सम्भावना बढी छ । यसका अलावा जनकपुर, भैरहवा र विराटनगरको रुट समेत नेपालले मागेको छ । भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावश्यक छ । ‘जनकपुर, नेपालगन्ज र विराटनगर विमानस्थल पनि छिट्टै स्तरोन्नती हुन्छ’, मन्त्री अधिकारीले भने, ‘ त्यसपछि हामीलाई चार नयाँ रुट नभै हँुदैन ।’
नरेन्द्र मोदीले प्रधानमन्त्रीका रूपमा पहिलोपटक नेपाल भ्रमण गर्दा नयाँ हवाई रुट दिने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यतिवबला ६ महिनाभित्र टुंग्याउने भनिएको हवाई रुटको विषय त्यसपछि छलफलमै आएन । नयाँ हावाई रुट प्रयोगमा आएपछि अन्य देशका अन्तर्राष्ट्रिय उडान समेत नेपालको बाटो भएर हुन सक्छ । यस्तो अवस्थामा नेपालले थप रोयल्टी पाउन सक्छ । हवाई रुटका अलावा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका समयमा भएको रेल र जलमार्गबाट नेपाललाई भारतसँग जोड्ने विषयमा समेत छलफल भएको छ ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दनमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासमा आफू शेर्पा बन्न चाहेको बताए । प्रधानमन्त्री ओलीले अगाडि सारको समृद्ध नेपाल र खुसी नेपालीको नारालाई समेत मोदीले उच्चारण गर्न भ्याए । अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आफैले गर्न सक्ने सामान्य काम समेत भारतले गरिदेओस् भन्ने चाहना भ्रमणको समयमा देखिएको बताए ।
‘भ्रमणको समयमा नेपालको विकासका सबै काम भारतले गर्छ जस्तो मानसिकता देखियो’, अर्थशास्त्री क्षेत्रीले भने, ‘हामीसँग अहिले ६ करोड उनीहरूले अवैध भनेको भारतीय रुपैयाँ बैंकमा छ । त्यो पैसा भारतबाट कानुनी रूपमा नेपाल आएको हो । नोट बन्दीपछि अवैध भएको पैसा समेत उनीहरू साटिदिन सकेका छैनन् । उनीहरूबाट ठूलो आस गर्न सकिँदैन ।’ भूकम्पपीडितलाई दिने भनेको पैसा समेत नदिएको अवस्थामा अरू सहयोग घोषणामा मात्र सीमित हुने उनको तर्क छ ।