भारतीय ब्रान्ड अमुल नेपाल भित्रिँदै
काठमाडौं ः भारतीय ब्रान्ड अमुल नेपाल आउने भएको छ। नवलपरासीमा दूध प्रशोधन कारखाना खोलेर नेपालमा बजार विस्तार योजना बनाएको अमुललाई रोक्न नेपालका डेरी उद्यमी लागिपरेका छन्। कृषिको आधारभूत क्षेत्र माछा, कुखुरा र माहुरीपालनमा वैदेशिक लगानी ल्याउन नपाइने कानुनी व्यवस्था छ। डेरीलाई पनि कृषिको आधारभूत उद्योगमा राखेर वैदेशिक लगानी स्वीकृत नगर्न व्यवसायीले माग गरेका छन्।
डेरी उद्योगीका दुई संस्था नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले वैदेशिक लगानीले यो क्षेत्रलाई धराशयी बनाउने भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्। नेपाल डेरी एसोसिएसनको अगुवाइमा प्रधानमन्त्री केपी ओली र उद्योग सचिव यामकुमारी खतिवडालगायतलार्ई ज्ञापनपत्र बुझाइसकिएको छ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले उत्पादनदेखि बजारसम्मका लागि डेरी क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भिœयाइ आफूहरू उद्योगमा तालाबन्दी गरी सरकारलाई साँचो बुझाउने तयारीमा रहेको बताए। सापकोटाले भने, ‘भारत सरकारले उत्पादनदेखि बजारीकरणसम्ममा प्रशस्त अनुदान दिएका उद्योगसँग अनुदान वेगर हामीजस्ता उद्योगलाई प्रतिस्पर्धा गर्न भन्छ भने हामी गर्न सक्दैनौं।’ एसोसिएसनले केही दिनअघि नेपाल उद्योग वाणिज्य महासंघको बजेटसम्बन्धी छलफलमा डेरी क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन नदिने अडान राखेका थिए।
डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले ठूलो परिमाणमा रोजगारी सिर्जना गरेको डेरी उद्योगको संरक्षणमा सरकार उदासीन रहेको बताए। उनले भने, ‘आत्मनिर्भरतर्फ उन्मुख रहेको अवस्थामा राष्ट्रिय उद्योगलाई धराशयी बनाउने गरी प्रत्यक्ष विदेशी लगानी भिœयाइ लाखौं सर्वसाधारणको रोजगारी खोसिनेछ। स्वदेशी उद्योगीको पनि टाट पल्टिने अवस्था आउन सक्छ। स्वदेशी उद्योग जोगाउने गरी राज्यले एउटा प्रस्ट धारणा र नीति बनाउनुपर्छ।’
२० अर्ब हाराहारीको लगानी रहेको डेरी क्षेत्रमा वार्षिक एक अर्बभन्दा बढी राजस्व बुझाउँदै आएको छ। यो क्षेत्रमा एक लाखभन्दा बढीले रोजगार पाएका छन्। नेपालभर ठूला र साना गरेर २० हजारको हाराहारीमा डेरी उद्योग छन् भने चार लाख ५० हजार किसान परिवारले प्रत्यक्ष रोजगारी पाएका छन्। दैनिक तीन करोड रुपैयाँ सहरबाट गाउँका किसानसम्म पुग्ने गरेको छ।
अमुल आए नेपालको डेरी क्षेत्र धराशयी हुने भन्दै डेरी व्यवसायीले प्रधानमन्त्री र उद्योग सचिवलाई ज्ञापनपत्र बुझाएका छन्।
नेपाल आएन खोजेको अमुल ब्रान्डको दूध भारतको गुजरातमा रहेको गुजरात कोअपरेटिभ मिल्कले उत्पादन गर्दै आएको छ। साना किसानको ठूलो सञ्जाल रहेको गुजरात कोअपरेटिभले स्वचालित प्लान्टबाट दूध प्रशोधन गर्दै आएको छ। अमुल ब्रान्डका दूधबाट उत्पादित सामान अहिले पनि नेपालमा बिक्री हँुदै आएको छ।
यसअघि पनि कुखुरा व्यवसाय झण्डै आत्मनिर्भर नजिक पुगिसकेको अवस्थामा भारतबाट बर्डफ्लूको किटाणु नेपाली कुखुरामा सारेर यो क्षेत्रलाई धराशयी बनाइएको थियो। यसैगरी दूधमा पनि मुलुक आत्मनिर्भरतर्फ उन्मुख भइरहेका बेला दिसामा पाइने कोलिफर्म पाइएको भन्दै गलत सन्देश प्रवाह गरी दुग्धजन्य क्षेत्रलाई धराशयी बनाइएको थियो।
गुजरात कोअपरेटिभ मिल्कका प्रबन्ध निर्देशक आरएस सोढीले भारतको इन्डिया टाइम्स्सको अहमदावाद मिरर परिशिष्टाङ्कलाई नेपालमा अमुलको उत्पादन र बजारीकरण गर्ने आवश्यक गृहकार्य सुरु भएको भन्दै अन्तर्वार्ता समेत दिएका छन्। सोढीले नेपाल सरकारको आग्रहमा अमुल ब्रान्डमा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र बजारीकरण गर्न लागेको अन्तवार्तामा उल्लेख छ।
सरकारले दुई वर्ष पहिला तीन वर्षको अवधिमा दूधमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेको थियो। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले प्रतिव्यक्ति प्रतिवर्ष ९० लिटर दूध उपभोग गर्नुपर्ने मापदण्ड बनाएको छ। नेपालमा उत्पादन भइरहेको दूधबाट अहिले प्रतिव्यक्ति प्रतिवर्ष ७५ लिटर पुगेको छ। अहिले देशभर ४८ लाख ५० हजार लिटर दूध उत्पादन भइरहेको छ। यसमध्ये उद्योगस्तरमा सात लाख २७ हजार लिटर आएपछि प्रशोधन भएर बजारमा पुग्छ। बाँकी १६ लाख ९७ हजार पाँच सय लिटर अनौपचारिक क्षेत्र र २४ हजार २५ हजार लिटर किसान तहमै खपत हुने गर्छ।