मोदीलाई काठमाडाैं महानगरको अभिनन्दन

मोदीलाई काठमाडाैं महानगरको अभिनन्दन


–पशुपतिमा पूजाअर्चना
– ५५ किलोको बुद्ध र मयूरको झ्याल उपहार

 

काठमाडौं : काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गरेको छ। नेपाल भ्रमणको दोस्रो दिन शनिबार मेयर विद्यासुन्दर शाक्यले अभिनन्दनका क्रममा मोदीलाई महानगरको ‘कलात्मक साँचो’ हस्तान्तरण गरेका थिए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र शाक्यले अभिनन्दनपत्रका साथै ५५ किलोको बुद्धको सुनौलो मूर्ति र मयूरको कलात्मक झ्यालसमेत उपहार दिए। मोदीले मन्तव्य नेपाली भाषाबाटै सुरु गरेका थिए, ‘तपार्इंहरू सबैलाई मेरो विनम्र नमस्कार। काठमाडौंको यस सभागृहमा उपस्थित तपार्इंहरू सबैलाई हार्दिक अभिनन्दन गर्दछु, कृपया स्वीकार गर्नुहोला।’

पहिलोपटक नेपाल आउँदा संसद्को सम्बोधनमा पनि उनले नेपाली भाषाबाटै बोल्न सुरु गरेका थिए। उनले हिन्दी भाषामा भने, ‘हृदयबाटै सबैप्रति आभारी छु। यो नागरिक अभिनन्दन पूरै भारतको सम्मान हो। किनकि सबै भारतीयसँग हरेक नेपालीको आफ्नोपनको नाता छ।’ उनले यही क्रममा पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधामको दर्शन र पूजाका लागि सौभाग्य मिलेको बताए। उनी शुक्रबार जनकपुर र शनिबार बिहान मुस्ताङ पुगेका थिए। नेपालको स्वागत, सत्कार र सम्मान अत्यन्तै न्यानो लागेको उनको भनाइ छ।

‘नेपाल शस्त्रलाई तोडेर स्नेहले जोड्ने देश हो। नेपाल संसारमा र यसको भव्य इतिहासले स्वयंमा उच्च छ, जति हिमालयको छ’, उनले भने। काठमाडौं हिमालयको काखमा काठ र मण्डपले मात्र नभई साझा संस्कृति एवं विरासतले भव्य भएको उनको भनाइ छ। ‘सयौं झरना, सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा, यस्तो भव्य अन्यत्र कहाँ सम्भव छ ? छ भने सबै नेपालमा छ’, उनले भने।

काठमाडौं उपत्यकाभित्र विभिन्न कलाकृति रहेकोबारे समेत उनले प्रसंग निकाले। ‘पाटनको प्रतिष्ठा, कीर्तिपुरको कला, ललितपुरको लालित्य, काठमाडौंको हस्तकला र भक्तपुरको माटोका मूर्ति, सबैका कारण यो उपत्यका इन्द्रधनुषको प्रतिबिम्ब लाग्छ’, उनले भने। संस्कृति र सभ्यताका कारण भारत र नेपालको अटुट सम्बन्ध हिमालयजस्तै रहेको उनले बताए। यी सबै सम्पत्ति दुवै देशका युवा पुस्ताको सम्पत्ति भएको उनको भनाइ छ।

सयौं झरना, सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा, यस्तो भव्य अन्यत्र कहाँ सम्भव छ ? छ भने सबै नेपालमा छ। नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री

नेपालमा वर्ष दिनभित्रै तीनै तहको निर्वाचन भएर सरकार गठन गरी समृद्धितर्फको यात्रा सुरु गरेकोमा मोदीले नेपालीलाई बधाई दिए। साथै भूकम्पपछि गरेको सत्प्रयासले नेपालीहरू आत्मविश्वासी भएको देखाएको उनले टिप्पणी गरे। ‘समग्रमा नेपालमा देश र समाजकै पुनर्निर्माण भएको छ। नेपालीले युद्धदेखि बुद्धसम्मको यात्रा तय गरेर बुलेट छाडी ब्यालेटको बाटो समातेका छन्’, उनले भने। नेपाली सगरमाथाको बेसक्याम्प पुगे पनि शिखरको यात्रा चढ््न बाँकी रहेको उनको भनाइ छ।

मोदीलाई छिमेकी देशमा गतिशील नेतृत्व पाएको भन्दै नेपाल पनि विकास र समृद्धितर्फ अघि बढेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ‘यसमा भारतले सहयोग गर्नेछ, सामाजिक र आर्थिक उन्नतिका लागि अभियानमा भारतले साथ दिनेछ’, उनले भने। नेपालले भारतको स्वच्छ अभियान र स्मार्ट सिटी निर्माणको पाठ सिक्ने उनको भनाइ छ। उक्त अवसरमा महानगरका मेयर शाक्यले काठमाडौंलाई जीवन्त सहर बनाउन आफूहरू लागिपरेको दाबी गरे।

पशुपतिमा विशेष पूजा

भारतीय प्रधानमन्त्री मोदीले शनिबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित पञ्चामृत पूजा गरेका छन्। करिब ५० मिनेट बिताएका उनले गर्भगृहको दक्षिणतर्फ बसेर मूलभट्टमार्फत आधा घण्टा पशुपतिनाथको दर्शन र पूजाअर्चना गरेका थिए। मोदीले पशुपति क्षेत्र विकास कोषले तयार पारेको रुद्राभिषेकसहितको विशेष पूजा गरेका हुन्। उनी साढे १२ बजे मन्दिरबाट बाहिरिएका थिए।

पशुपतिनाथ प्रांगणमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पशुपतिनाथको मूर्तिसहितको फ्रेम उपहार दिएका छन्। मोदीले पशुपति क्षेत्र विकास कोषले राखेको हस्ताक्षर पुस्तिकामा हस्ताक्षरसमेत गरेकाछन्।

बिहानै मुक्तिनाथ मन्दिर पुगेर दर्शन र पूजाअर्चना सकेलगत्तै हेलिकोप्टरबाट काठमाडौं आइपुगेका मोदी साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर पशुपतिनाथ मन्दिर पुगेका थिए। मोदीले दोस्रोपटक शनिबार पशुपतिनाथको दर्शन र पूजा गरेका हुन्। हस्ताक्षरपछि कोषका पदाधिकारीसँग मोदीले सामूहिक तस्बिरसमेत खिचाएका थिए। मोदीलाई संस्कृतिमन्त्री अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, कोषाध्यक्ष डा. मिलनकुमार थापा र कार्यकारी निर्देशक रमेश उप्रेतीले स्वागत गरेका थिए।

मोदीलाई बासुकी मन्दिरमा पनि छुट्टै पूजा गराइएको थियो। उनले मन्दिर प्रांगणमा रहेका लालगणेश, सूर्यनारायण, उन्मत्त भैरव, कृतिमुख भैरव आदिको पनि दर्शन र पूजा गरेका छन्। पूजापछि उनले खाममा चन्दा बाकसमा दक्षिणा राखेका थिए। यसअघि मोदीले २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए। पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्धारका लागि २५ करोड भारतीय रुपैयाँ र सरसफाइका लागि पाँच करोड रुपैयाँ सहयोग घोषणा गरेका थिए। यसपटक उनले यस्तो कुनै सहयोगको घोषणा गरेनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.