सम्बन्धमा पुनर्ताजगी
नेपालको राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने ‘भ्रमण ऐतिहासिक’ भएको ट्वीट गर्दै फर्किएका छन्। नेपाल–भारत सम्बन्धमा नया“ ऊर्जा थपिएको उत्साह लिएर मोदी भारत फर्केसँगै नेपाल सरकारले पनि भ्रमणलाई ‘सफल र ऐतिहासिक’ भनेको छ। भ्रमण ऐतिहासिक केकति रह्यो, यसमा थप बहस र विमर्श हुँदै जाला। यद्यपि सम्बन्धलाई थप सुदृढ गराउन भ्रमण सफल देखिएको छ। नेपाल–भारत सम्बन्धमा आएको तीक्तता र चिसोपना घट्दै सम्बन्ध सुधार हुनुलाई भ्रमणको उपलब्धि मान्न सकिन्छ।
नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक छ। सँगै नेपालका लागि भूराजनीतिक दृष्टिकोणले महŒवपूर्ण राष्ट्र पनि हो। भारतका लागि पनि नेपाल ठूलो रणनीतिक महŒव राख्ने मुलुक हो। सामाजिक÷सांस्कृतिक निकटता रहे पनि भारतले गर्ने कतिपय व्यवहारका कारण नेपालसँगको सम्बन्धमा चिसोपना उत्पन्न हुने गरेको छ। स्वतन्त्र भएदेखि नै भारतले नेपाललाई आफ्नो ‘प्रभाव क्षेत्र’ का रूपमा मान्छ। दुई मुलुकबीचका खुला सीमाका कारण नेपाललाई आफ्नो सुरक्षा छातामा राखेर हेर्ने भारतीय अवधारणा व्यावहारिक रूपमा नबदलिएका कारण सम्बन्धमा ‘दरार’ आउने गरेको छ। पछिल्लो समय संघीय गणतन्त्र नेपालको संविधान जारी गर्ने बेलामा बढेको दूरी र त्यसपछि उसले गरेको ‘नाकाबन्दी’ का कारण सम्बन्धमा चिसोपना आयो। त्यही बिग्रिएको सम्बन्धलाई पुनर्ताजगी गर्ने एउटा अर्को कडीका रूपमा अहिलेको मोदी भ्रमण भएको हो।
भारतका प्रधानमन्त्री भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण थियो। पहिलोपटक २०७१ साउन र दोस्रोपटक त्यसै वर्षको मंसिरमा उनी नेपाल आएका थिए। १७ वर्षपछि भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गरेकाले त्यसबखत उनको भव्य स्वागत मात्रै भएन, नागरिकस्तरमै नया“ उत्साह जागेको थियो। नेपाल–भारत सम्बन्ध नया“ सिराबाट सुरु हुने अपेक्षा गरिए पनि त्यसपछिका दिनमा विकसित घटनाक्रमले सम्बन्धमा चिसोपना बढ्दै गयो। संविधान निर्माण प्रक्रियामा उसले राखेको अनावश्यक चासो, ऐतिहासिक संविधान जारी हु“दा त्यसको स्वागत नगरी नोट मात्रै गरिनु, त्यसपछिका दिनमा गरिएका ‘नाकाबन्दी’ आदि घटनाक्रमले सम्बन्धमा ‘दरार’ उत्पन्न भएको थियो। मोदीको भ्रमण सम्बन्धलाई सुधार्न र मजबुत बनाउने दिशामा सार्थक देखिएको छ। यसअघि प्रधानमन्त्री नहुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजको काठमाडौं भेटवार्ता, प्रधानमन्त्री भएपछि ओलीको भारत भ्रमण पनि सम्बन्ध सुधारका कडी थिए।
मोदीले दुई दिन जनकपुर, काठमाडौं र मुस्ताङमा बिताउँदा मूलतः पूजाआजा, नागरिक अभिनन्दन र केही महŒवपूर्ण भेटघाटमा केन्द्रित रहे। यसक्रममा भारतीय प्रधानमन्त्री मोदी र हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले रामायण सर्किट र अरुण तेस्रो परियोजनाको संयुक्त शिलान्यास गरे। कुल नौ सय मेगावाट जलविद्युत् परियोजना नेपालकै सबैभन्दा ठूलो योजनामध्येको हो। भारतीय कम्पनी सतलजले निर्माण गर्न लागेको यो आयोजनाको दुवै प्रधानमन्त्रीले काठमाडौंमै स्विच अन गरेर शिलान्यास गरेका थिए। यसबाहेक कृषिको विकास, रोड, रेल्वे, पावर ट्रान्समिसन, तेलमार्ग आदिले दुई देशको ‘कनेक्टिभिटी’ बढ्ने कुरा नागरिक अभिनन्दनका क्रममा भएको सम्बोधन र द्विपक्षीय वार्तामा भए। बौद्ध सर्किटको चर्चा चल्यो। नितान्त नया“ योजनाभन्दा पनि विगतमा भएका पुरानै सहमति र सम्झौता कार्यान्वयन गर्ने विषयमा भ्रमण केन्द्रित रह्यो। नयाँ उपलब्धि हवाई रुट उपलब्ध गराउन भारत सहमत हुनु हो।
भ्रमण मूलतः भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको र सम्बन्ध सुधार्नबाट प्रेरित भएको देखिन्छ। सँगै नेपाललाई आफूसँगै बढी ‘इन्गेज’ राखिरहने रणनीति पनि भारतले लिएको हुन सक्छ। पहिलो भ्रमणका बेला थुप्रै प्रशंसा र स्वागत पाएका मोदीले नेपाली मन जित्ने प्रयत्न पनि गरे, यद्यपि त्यो वाहवाही पाएनन्। उनले नाकाबन्दीका विषयमा केही बोल्ने अपेक्षा गरिएको थियो, तर कुनै पनि सम्बोधनमा त्यस सन्दर्भमा शब्दै उच्चारण गरेनन्। सामाजिक सञ्जालहरूमा आलोचना र असन्तुष्टि प्रकट भए। यी सबै हुँदाहुँदै पनि मोदीले आर्थिक विकास र समृद्धिको नेपाली यात्रामा आफूहरू निसर्त सहयोगी हुने प्रतिबद्धता दोहोर्याए। प्रतिबद्धता गर्ने, सहमति गर्ने तर त्यसको कार्यान्वयन न्यून र सुस्त रहने जुन प्रवृत्ति छ, त्यो बलियो सम्बन्ध विकासका बाधक हुँदै आएका छन्। उच्चस्तरीय यस्ता भ्रमणलाई सार्थक बनाउन भएको सम्झौता र सहमतिको कार्यान्वयन जरुरी छ।