शिक्षकको भीरबाट लडेर मृत्यु
डोल्पा : डोल्पाका प्रावि तहका एक शिक्षकको भीरबाट लडेर मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका-५ घर भएका ३६ वर्षीय शिक्षक राजु रोकायाको शुक्रबार राति नौ बजे भीरबाट लडेर मृत्यु भएको हो।
त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत ल्हाँ र खदाङ्ग बीचमा पर्ने घोडे डाँडा भन्ने भीरबाट लडेर रोकायाको मृत्यु भएको त्रिपुराकोट प्रहरी चौकीले जनाकारी दिएको छ।
शिक्षक रोकाया त्रिपुरासुन्दरी नगरपालिका ५ स्थित मष्टा आधारभुत विद्यालयमा प्रावि तहमा कार्यरत थिए। उनी शुक्रबार मात्र त्रिपुरासुन्दरी नगरपालिकामा प्रावि तहको अस्थायी शिक्षक दरबन्दीको परीक्षामा असफल भएका थिए।
शनिबार बिहान मृतक रोकायाको प्रहरी मुचुल्का पछि परिवारले शब बुझेर लगेको प्रहरीले जानकारी दिएको छ। मृतक शिक्षक रोकायाका श्रीमती दुई छोरा दुई छोरी रहेको उनका आफन्तले जानकारी दिएका छन्।