भोजभतेर र नाचगान गर्न बिहेमा विद्यालय नै बन्द !

भोजभतेर र नाचगान गर्न बिहेमा विद्यालय नै बन्द !

वीरगन्ज : स्कुलमा बरात (जन्ती) आएकाले सरले छुट्टी दिनु भएको छ, आइतबार साइकल चलाउन सिक्दै गरेका १२ वर्षीय बालक धर्मेन्द्र कुमारले भने, ‘गाँउमा बरात आयो भने हामीलाई रमाइलो हुन्छ, किनकी स्कुल नगई घरमै खेल्न पाइन्छ।’

पर्साको जीराभवानी गाउँपालिकाको शंकरसरैयामा रहेको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयको कक्षा पाँचमा अध्ययनरत धर्मेन्द्रले थपे, ‘स्कुलमै आज दिउँसो बरातीका लागि नाच पनि छ, म पनि नाच हेर्न जान्छु, खुब मज्जा आउँछ।’ धर्मेन्द्र पढ्ने शंकरसरैयाको प्राथमिक विद्यालयमा स्थानीय अनरजित महत्तोकी छोरीको विहेमा भारतको सेर्वा भुस्की गाउँबाट आएका जन्तीलाई भोजभतेर खुवाउन र सुताउन राखिएका कारण शिक्षकले विद्यार्थीलाई छुटटी दिएका हुन्। 

शनिबार राति आएका जन्तीलाई विद्यालयमै भोजभतेर गराएर कक्षाकोठामा बास बसाइएको छ। सँगै जन्तीको स्वागत र मनोरन्जनका लागि आइतबार विद्यालय परिसर भित्रै टेण्ट टाँगेर आर्केष्टा नाच आयोजना गरिएपछि विद्यालय बन्द भएको हो।

‘गाउँमा कसैको घरमा पनि जन्ती आउँदा विद्यालय बन्द हुन्छ,’ शंकरसरैयाको सखुवनीयाका जगन माझीले भने ,‘ गाउँमा जन्तीलाई खुवाउने र सुताउने अन्त कतै ठाँउ नै छैन, त्यही भएर स्कुलमा राख्नु परेको हो।’ 

आइतबार पनि जन्तीलाई राखिएकै कारण विद्यालय बन्द भएको उनले बताए। विद्यालयका प्रधानाध्यापक जय नारायण राउतले भने गाउँमा बिहेको जन्ती आउँदा अभिभावकको दबाबमा स्कुल बन्द गर्नुपर्ने बाध्यता रहेको छ।

‘हामीले विद्यालयमा जन्ती राख्न पाइदैन, विद्यालय बन्द गर्दा केटाकेटीको पढाइ बिग्रिन्छ भनेर बारम्बार भन्दा पनि अभिभावक नै मान्दैनन्, जबरजस्ती गर्छन्,’ प्रधानाध्यापक राउतले भने, ‘अब समाजले नै जबरजस्ती गर्न थालेपछि हाम्रो केही चल्दैन। विद्यालय बिदा दिन्छौँ।’ 

यसअघि केही जन्तीलाई बस्न नदिँदा स्थानीयले नै गेट फोडेर जन्तीलाई बास राखेका थिए। बिदा नदिदाँ कक्षाकोठाका ढोकासँगै शौचालयका ढोका समेत तोडफोड गरेर प्रयोग गरेको प्रधानाध्यापक राउत सम्झिन्छन्। जीराभवानी गाँउपालिकाका अध्यक्ष रामपृत महत्तोले भने जन्तिलाई विद्यलायमा राखेर विद्यालय नै बन्द गर्ने काम अराजक भएको बताए। विद्यालयमा जन्ती राख्नै पाइदैन’, उनले भने, ‘त्यसमा पनि जन्तीकै कारण विद्यालय बन्द गरेर विद्यार्थीलाई छुटटी दिनु झन अराजकता हो।’ 

उनले जन्तीलाई राखेर विद्यालय नै बन्द गर्ने प्रधानाध्यापक , शिक्षक र सम्बन्धित वडा अध्यक्षलाई गाँउपालिका कार्यालयले कारबाही गर्ने बताए। कक्षा पाँचसम्म पढाई हुने उक्त विद्यालयमा ७५ विद्यार्थी रहेका छन्।      

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.