एकता नटुंगिदा कार्यकर्ता निराश

एकता नटुंगिदा कार्यकर्ता निराश

 काठमाडौं  : एमाले-माओवादी केन्द्रबीचको एकता प्रक्रिया चाँडो नटुंगिदा कार्यकर्तामा निराशा बढ्न थालेको छ । वाम गठबन्धन घोषणा भएकै दिन एमाले-माओवादीले चुनाव लगत्तै पार्टी एक हुने घोषणा गरेका थिए ।

दुवै पार्टीका अध्यक्षहरू एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउन घनिभूत वार्तामा बसेकाले प्रक्रिया चाँडो निष्कर्षमा पुग्ने दाबी एमालेका नेताहरूले गरेका छन् । तर माओवादी पक्ष भने प्रधानमन्त्री एवं एमाले अध्यक्षका कारण एकता प्रक्रियामा ढिलाइ भइरहेको बताएको छ ।

यी दुई पार्टीबीचको एकता एकीकृत पार्टीको संगठनात्मक हिस्सेदारी, चुनाव चिह्न, माओवादी जनयुद्धको स्वीकारोक्तिलगायतमा अल्झेको छ । ओली सरकारका केही समययताका निर्णय तथा व्यवहारका कारण समेत गाह्रो परेको दुःखेसो माओवादी पक्षको छ ।

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानका लागि ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच कुनै वार्ता नभए पनि पार्टी एकताका विषयमा दुई नेताबीच कुनै न कुनै रुपमा सम्पर्क भइरहेको दाबी एमाले पक्षको छ ।

संगठनात्मक हिस्सेदारी कसरी मिलाउने र कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा एकीकृत पार्टीको केन्द्रीय समितिको आकार कस्तो बनाउने भन्ने विषय नै एकताका लागि समस्या बनिरहेको छ ।

दाहालले एकीकृत पार्टीमा आफ्नो स्थान कसरी सुरक्षित गराउने र भावी नेतृत्व कसरी हुत्याउने भन्ने रणनीति नछाड्दा एकतामा ढिलाइ भइरहेको एमाले स्रोतको दाबी छ ।

एकता प्रक्रिया पूर्वनिर्धारित समय वैशाख ९ मा नटुंगिएपछि वैशाख १८ एवं २२ गतेका लागि सारिएको चर्चा चलेको थियो । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगत्तै एकता प्रक्रिया टुंग्याउने नेताहरूले बताउन छाडेका छैनन् ।

एकता संयोजन समितिका सदस्य सुवास नेम्वाङले एमाले-माओवादीबीच पार्टी एकता चाँडो टुंगिने विश्वास व्यक्त गरे ।

उनले आइतबार अन्नपूर्णसँग भने, ‘ओली र दाहालबीच वन् टु वन् वार्ता भइरहेकोले पार्टी एकता चाँडो हुन्छ ।’

अन्तरिम विधान कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव एकता संयोजन समितिलाई गरेको थियो । तर केन्द्रीय समितिमा समेटिने दुवै पक्षका नेताको समायोजनमा कुरा नमिल्दा आकार बढाउने गरी पछिल्लो समयमा नेताद्वयबीच छलफल केन्द्रित छ ।

नेताहरूका बीचको छलफलमा ३५१ वा ३९९ मध्ये एकमा समझदारी बनाउनेमा सहमतिको प्रयास अझैजारी छ । माओवादीले केन्द्रीय समितिमा सम्मानजनक, समानता र न्यायोचित एकताको माग गरेपछि संगठनात्मक हिस्सेदारी मिलाउन ओली-दाहाललाई सकस भइरहेको छ ।

‘अहिले चलिरहेका दुई अध्यक्षको छलफल एकले-अर्काे पक्षलाई कतिसम्म गलाउन सकिन्छ भन्नेतर्फ नै केन्द्रित छ, तर एकताबाट टाढा दुवै अध्यक्ष छैनन्’, एमालेका एक नेताले भने ।

माओवादी नेता टोपबहादुर रायमाझीले वैचारिक रुपमै दुई पार्टीबीचको राजनीति मिलाउन अझै समय लाग्ने बताउँछन् ।

एकताका लागि आवश्यक पर्ने सोच र कार्यान्वयनले कार्य गर्न नसकेको दुःखेसो उनले पोखे ।

माओवादी नेता प्रभु साहले एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैली र क्रियाकलापकै कारण एकता प्रक्रियामा ढिलाइ भएको बताए । उनले भने, ‘सरकारका कतिपय महत्वपूर्ण नीति, निर्णय र कार्यशैलीकै कारण एकता हुन नसकेको पर्याप्त उदाहरण छन् ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.