भ्रमण सकियो, चर्चा सकिएन
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको सुरुवात काठमाडौंबाट नगरी जनकपुरबाट गर्नुलाई विश्लेषकहरूले अर्थपूर्ण रहेको बताएका छन् । सरकारले अन्तर्राष्ट्रिय स्तरमा पनि उच्च तहका भ्रमण राजधानी बाहिरबाट हुने प्रचलन विकसित हुँदै आएकोले भ्रमण कहाँबाट शुरु भयो भन्ने कुरा महत्वपूर्ण नरहेको बताउँदै आएको छ ।
मोदीले पनि नेपाल भ्रमणलाई राजनीतिक कम र धार्मिक धेरै बनाउने खोजे पनि यसमा राजनीतिक- आर्थिक चासो पनि पर्याप्त रहेको विश्लेषण जानकारहरूको छ ।
नेपालका प्रधानमन्त्रीको निमन्त्रणामा भारतीय प्रधानमन्त्रीले जनकपुरबाट भ्रमण सुरु गरेकाले भ्रमण कहाँबाट भयो भन्ने कुराले धेरै महत्व नराख्ने पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादव बताउँछन् । यादवले भने, ‘नेपाली प्रमको निमन्त्रणामा भारतीय प्रमले नेपाल भ्रमण गरेकाले यो विषयमा धेरै टिप्पणी गर्नु उचित हुँदैन ।’ तर कतिपय विश्लेषक जनकपुरबाट नेपाल भ्रमण गर्दा सम्पूर्ण नेपालमा आफ्नो प्रभाव देखाउन सकिने र त्यसको राजनीतिक फाइदा भारतलाई हुने भएकाले मोदीले नेपाल भ्रमणको शुरुवात जनकपुरबाट गरेको बताउँछन्।
त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयका संयोजक डा. खड्क केसी ‘अन्तर्राष्ट्रिय स्तरमा पनि राष्ट्र प्रमुखहरूले विदेश भ्रमण ‘स्याटेलाईट स्टेट’हरूबाट गर्ने प्रचलन बढ्दै गएको बताउँछन् । उनी भन्छन्, ‘तर नेपाल-भारत सम्बन्धमा आशंकाहरू अझै कायम रहेकाले भूराजनीतिक रूपमा पनि जनकपुर भ्रमणलाई विश्लेषण गरिनुपर्छ ।’ मोदीले भ्रमणको क्रममा नेपालीको समृद्धिको आकांक्षामा बढी जोड दिएको र राजनीतिक अभिव्यक्ति नदिएकाले शंकाको लाभ लिन सकिने उनको भनाइ छ ।
मोदीले नेपाल भ्रमणलाई सम्पूर्ण रूपमा धार्मिक रंग दिने प्रयास गरेपनि भारतीय सञ्चारमाध्यमले यस भ्रमणमा राजनीतिक अर्थ लुकेको बताएका छन् । मोदीले नेपाल भ्रमण गरिरहँदा भारतीय संचार माध्यमले ‘हिन्दुहरूका नाममा आस्थाको भोटका लागि मोदीले नेपाल भ्रमण गरेको’ बताए । मोदीको नेपाल भ्रमणको धार्मिकभन्दा राजनीतिक महत्व रहेको उनीहरूले विश्लेषण गरे । यसको कारण सन् २०१९ मा हुने भारतको लोकसभा चुनाव पनि हो । नेपालका हिन्दूमार्फत भारतीय हिन्दूहरूलाई प्रभावित गर्ने रणनीतिको रूपमा उनको भ्रमणलाई उनीहरूले अथ्र्याएका छन् ।
नेपालका हिन्दू मन्दिरको भ्रमण गरी गत शनिवार भएको त्यहाँको कर्नाटक राज्यको विधानसभा चुनावलाई पनि मोदीले प्रभाव पार्न खोजेको बताइन्छ । उसो त भारतको अयोध्यामा राम मन्दिर निर्माणको चर्चा पनि उत्र्सगमा छ । यो मुद्धा भारतको सर्वोच्च अदालतमा विचाराधिन रहेकाले मोदी सरकार यस मामलामा तत्काल् केही गर्न सक्ने अवस्थामा छैन । पौराणिक-धार्मिक पात्र रामकी पत्नी सीताको माध्यमबाट मोदी भारतमा धार्मिक राजनीतिलाई बढावा दिने प्रयासमा रहेका भारतीय संचार माध्यमले बताइरहेका छन् । राम मन्दिरको विवादलाई भारतीय इतिहासमा लामो समयसम्म चलेको विवादको रूपमा लिइन्छ ।
सन् १५२८ बाट सुरु भएको यो विवाद आजसम्म छ । मुगल सम्राट बाबरले अयोध्यामा राम मन्दिर रहेकै ठाउँमा बाबरी मस्जिद निर्माण गरेको आरोप हिन्दुहरूको छ, जहाँ सन् १९९२ मा दुवै समुदायबीचको असमझदारीले चरम रूप लिएको थियो । २०६२-६३ को जनआन्दोलनपश्चात नेपाललाई हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएपनि नेपालमा ‘हिन्दु सेन्टिमेन्ट’ रहेको र २०७२ को नाकाबन्दीपश्चात् नेपालसँग बिग्रिएको सम्बन्धलाई ‘धार्मिक भ्रमण’सँगै सुर्धाने अभिप्रायको रूपमा कतिपय जानकार मोदी भ्रमणलाई व्याख्या गर्छन् ।
मोदीको नेपाल भ्रमणलाई दुई पक्षीय सम्बन्ध सुधारका रूपमा व्याख्या गरिए पनि भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रका रूपमा लिनुलाई समस्याका रूपमा लिन्छन् अमेरिकाको बक्लिन विश्वविद्यालयमा प्राध्यापनरत चिनियाँ प्रध्यापक जिकिन्य झु । ‘भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रका रूपमा लिदाँ नेपालसँग चीनलगायत अरु देशको सम्बन्ध राम्रो हुन सकेको छैन । दुई पक्षीय सम्बन्ध सुधारका लागि यो निकै संवेदनशील विषय हो । मोदीले पछिल्लो नेपाल भ्रमणमा फेरी पनि त्यही कुरा दोर्याए ।’