चट्याङबाट ४ सय ५० कुखुरा मरे
स्याङ्जा : गल्याङ् नगरपालिका- ७ पेलाकोटस्थित पटकाङ गाउँमा आइतबार राति कुखुराको फर्ममा चट्याङ पर्दा करिब ४ सय ५० वटा कुखुरा जलेर मरेका छन्।
वर्षासँगै परेको चट्याङबाट कुखुरा व्यवसायी यामलाल अधिकारीका कुखुरा मरेका हुन्। करिब ३ महिना पुगेका कुखुरा बेच्नका लागि तयारी अवस्थामा रहेको अधिकारीले बताए। यसअघि उनले त्यही फर्मबाट २ लट कुखुरा बेचिसकेका थिए।
कुखुरासँगै भुस, दाना, औषधी, भिटामिनलगायत अन्य खोरसमेत जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक होमनाथ शर्मा लामिछानेले जानकारी दिए। उनले करिब ४ लाख मूल्य बराबरको कुखुरा क्षति भएको बताए।फर्म नजिकै रहेको खरको छानामा चट्याङपर्दा सल्किएको आगोले फर्म जलेको बताइएको छ।