मुसहरसँग ‘बाबु साहेब’को सहभोज

मुसहरसँग ‘बाबु साहेब’को सहभोज

बर्दिबास : महोत्तरीको बर्दिबासस्थित एकीकृत नमुना मुसहर बस्तीका स्थानीयसँग एक ‘बाबु साहेब’ पहिलो पटक भोजमा सहभागी भएका छन्। बाबु साहेब अर्थात् कांग्रेस नेता चिरञ्जीवी हमालले छोराको बिहेको अवसरमा मुसहरसँग भोज खाएका हुन्।

उनले खसी, दाल, चामल, नुन, तेल भोजका लागि दिएका थिए। विपतिया, अविचन, सञ्जीव, दिलीप र वासुदेवलगायत स्थानीयले भोज तयार पारेका थिए। हमालले छोरा आयुषको बिहेको अवसरमा खसी काटेर भोज खुवाएको एकीकृत नमुना मुसहर बस्तीका अध्यक्ष बिल्टु सदा मुसहरले बताए।

हमालका बुवा नीरबहादुरले २००७ सालतिर बर्दिबासमा खेत बनाउनका लागि छिमेकी गाउँबाट मुसहरलाई बोलाएका थिए। टाढाबाट परिवारसहित आएका मुसहरहरू पछि उनकै घरमा बस्न थाले। बर्दिबास चोकनजिकै अहिले ५३ मुसहर परिवारको बसोबास छ। बस्ती बसालेका कारण चिञ्जिवी र उनका बुवालाई आफूहरूले ‘बाबु साहेब’ भन्ने गरेको स्थानीय मानकी सदाले बताइन्। ‘मुसहरहरूलाई मर्दा कात्रो पनि बाबु साहेबले किनिदिन्थे’, उनले भनिन्, ‘अहिले सबै आफंै कमाउन थाले, सहयोग माग्दैनन्। मागेको खण्डमा उहाँले अहिले पनि हामीलाई सहयोग गर्नुहुन्छ।’

हमालले आइतबार गाउँलेलाई बोलाएर भोजको सामग्री दिएपछि आफू पनि भोज खान मुसहरकै घरमा पुगेका थिए। ‘भोज तयार भएपछि मालिक आउनुभयो। हामीले बस्न कुर्सी दियौं, मालिकलाई भोज खानु भन्यौ’, स्थानीय फेकु सदाले भने, ‘मालिकले भन्नुभयो, ल्याऊ–ल्याऊ खान्छु। हामीले पकाएको भोज उहाँले पहिलो पटक खानुभयो।’

अर्का स्थानीय फेकना सदाका अनुसार छिमेकीले विगतमा छुवाछूत गरे पनि अहिले सँगै बस्न थालेका छन्। ‘उहाँहरू हाम्रै गाउँमा घुम्न आउनुहुन्छ। प्यास लागे मागेर अमखोरामा पानी खानुहुन्छ’, उनले भनिन्, ‘कसैले हामीलाई हेप्दैनन्।’

धुर्मुस–सुन्तलीले नमुना बस्ती निर्माण क्रममा तीन महिना मुसहरले पकाएको भात खाएका थिए। बस्तीका २७० जनालाई आइतबार दिएको भोजमा हमालले सँगै बसेर भोज खाएको बस्तीका बिजुलिया सदाले बताइन्।

‘पहिले मालिक भोज सामग्री दिएर जानुहुन्थ्यो’, फेकुले भने, ‘यसपालि त सँगै भोज खानुभयो। हामीलाई खुसी लागेको छ।’

हमालले मुसहरसँगै पहिलो पटक भोज खान पाउँदा आनन्दानुभूति मिलेको बताए। ‘मैले मुसहरलाई पहिला पनि भोज दिन्थें तर उनीहरूले पकाएको पहिलो पल्ट खाएको हुँ’, उनले भने, ‘पहिला मुसहरले भोज खान बोलाउँदैनथे। यसपालि भोज दिएपछि उनीहरूले खान आउन भने।’

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.