निर्वाचन हिंसामा भारतमा १२ को मृत्यु
कोलकाता : भारतको पश्चिम बंगाल राज्यमा स्थानीय निकाय (गाउँपञ्चायत) को निर्वाचनसँग सम्बन्धित झडपमा १२ जनाको मृत्यु भएको छ। हिंसात्मक गतिविधिमा एक सञ्चारकर्मी पनि मारिएका छन्।
सोमवार साँझ पाँच बजेसम्म १२ जनाको ज्यान गएको छ। भारतीय गृह मन्त्रालयले हिंसाका बारेमा पश्चिम बंगाल सरकारसँग प्रतिवेदन माग गरेको छ। कैयौं व्यक्ति गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।
निर्वाचन सम्पन्न गर्ने सिलसिलामा निर्वाचनस्थल र वरपरका क्षेत्रमा हुलदंगा गर्ने समूहलाई तितरबितर पार्न अ श्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ।
भिडन्तबारे निर्वाचन आयोगमा सयौं उजुरी परेका छन्। कयौं ठाउँमा निर्वाचन स्थगित गर्न माग गरिएको छ। पश्चिम बंगालका भाजपा अध्यक्ष दिलीप घोष र नेता मुकुल रोयले भिडन्तका बारेमा राज्यपाल केशरीनाथ त्रिपाठीसँग भेट गरेका छन्।मतदानका बेला समस्या नहओस् भनेर कडा सुरक्षा मिलाइए पनि ठाउँ ठाउँमा भिडन्त भएका थिए।
सोमबार बिहान ७:०० बजे मतदान शुरु भएपछि राज्यका विभिन्न स्थानमा झडप भएका थिए। भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का सक्रिय कार्यकर्ता तथा उनकी धर्मपत्नीको राज्यको दक्षिण २४ परगना जिल्लामा शंकास्पद भारतीय तृणमूल कंगे्रसका समर्थकले आगो लगाएपछि मृत्यु भएको छ।
त्यसैगरी तृणमूल कंग्रेसका एक समर्थकको कुकतुलीमा मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। नाइडा जिल्लाको शान्तिपुर क्षेत्रमा बुथ कब्जा गरेको आरोपमा तृणमूल कंग्रेसका विद्यार्थी नेताको हत्या गरिएको छ। मुर्सिदावादमा भएको बम विस्फोटमा परी भारतीय जनता पार्टी (भाजपा) का एक कार्यकर्ताको निधन भएको छ।
मुर्सिदावादको न्वाडामा स्वतन्त्ररूपमा प्रतिस्पर्धाका लागि उम्मेदवार रहेका एकजनालाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ।
दिउँसो ३ बजेसम्म झण्डै ५० प्रतिशतको हाराहारीमा मतदान भएको थियो। कतिपय स्थानमा मतदानलाई प्रभावित पार्न विस्फोटन गराइएका थिए भने कुच विहार जिल्लामा भएको विस्फोटमा २० जना घाइते भएका छन्।
दक्षिण २४ परगना जिल्लामा सञ्चारकर्मी चढेका गाडीलाई लक्षित गरी आक्रमण हुँदा कम्तीमा पाँच पत्रकार घाइते भएका छन्। कतिपय स्थानमा मतपेटिका लुटिएको वा आगो लगाइएको छ भने कतैकतै मतपत्र च्यातेका कारण निर्वाचन स्थगित भएको छ।
पटकेलबारी क्षेत्रमा तृणमूलका कार्यकर्ताको आक्रमणमा स्वतन्त्र उम्मेदवारका समर्थक शाहिद शेखको ज्यान गएको छ। यसैगरी नादिया जिल्लामा तृणमूलका कार्यकर्ताको गोली हानी हत्या गरिएको छ। बेलदांगामा भाजपा कार्यकर्ता तपन मण्डलको हत्या गरिएको छ। आमदांगामा बम विस्फोटबाट माक्र्सवादीका कार्यकर्ताको ज्यान गएको छ।
उम्मेदवारी दर्ता भएदेखि भिडन्त हुने अनुमान गरिएको थियो। लामो समयसम्म एकछत्र राज गरेका कम्युनिस्ट र तृणमूलबीच शक्ति प्रदर्शन हुने त्रास देखिएको थियो। शान्ति सुरक्षा कायम गर्न असम, उडिसा, सिक्किम र आन्ध्र प्रदेशबाट १ हजार ५ सय सुरक्षाकर्मी पश्चिम बंगालमा तैनाथ गरिएको थियो।
तृणमूल सर्वसत्तावादी : येचुरी
स्थानीय निर्वाचनमा हिंसा भएपछि विपक्षी दल कम्युनिस्ट पार्टी माक्र्सवादीले तृणमूल सर्वसत्तावादी भएको आरोप लगाएको छ। सत्ताको आडमा तृणमूलले हत्या गरेको उसको दाबी छ। हिंसाको विरोधमा उनीहरूले निर्वाचन आयोगका बाहिर प्रदर्शन गरेका छन्। कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येचुरीले राज्य सरकारले लोकतन्त्रको विनाश गर्न खोजेको आरोप लगाएका छन्। मोदीबारे राष्ट्रपतिलाई मनमोहनको पत्र
नयाँदिल्ली ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कंग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेका छन्।
प्रधानमन्त्री मोदीले कर्नाटकको हुब्लीमा दिएको भाषणका क्रममा बोलेको विषयलाई पूर्वप्रधानमन्त्री सिंहले खण्डन गरेका छन्। कर्नाटकमा भएको निर्वाचनका क्रममा आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि प्रधानमन्त्री मोदीले शक्ति र अधिकारको दुरुपयोग गरेको सिंहको आरोप छ। मे ६ तारिखमा हुब्लीमा भएको र्यालीपछि आयोजित कार्यक्रममा मोदीले ‘कंग्रेसका नेताहरूले कान खोलेर सुन्नु्ि, म मोदी हुँ, तपाईंहरूले सीमा नाघेर अघि बढेमा त्यसको परिणाम भोग्नु पर्नेछ’ भनेका थिए।
मोदीको भनाइलाई पूर्वप्रधानमन्त्री डा सिंहले ‘शान्ति भाँड्ने दुराशयले आएको धम्की र त्रासपूर्ण अभिव्यक्ति’ भएको बताएका छन्। ‘न हाम्रो पार्टी न हाम्रा कुनै नेता, कसैले पनि यस्तो तल्लोस्तरका धम्की दिने कुरालाई सहन सक्दैनन्’ सिंहले पत्रमा लेखेका छन्।
कसैविरुद्ध चेतावनी दिने, धम्की दिने र त्रसित पार्ने अभिव्यक्ति दिँदा प्रधानमन्त्री मोदीले सावधानी अपनाउन उनले चेतावनी दिएका छन्।
राष्ट्रपतिलाई बुझाइएको पत्रमा पूर्वप्रधानमन्त्री सिंह बाहेक कंग्रेसको दुवै संसदीय दलका नेता र वरिष्ठ नेताहरू पी चिदम्बरम्, अशोक गलोत, अम्बिका सोनी, मुकुल वास्नीक, मोतीलाल भोरा, कमलनाथ र अहमद पटेलले हस्ताक्षर गरेका छन्।