गाजामा प्रदर्शन : ३७ को मृत्यु, सयौं घाइते
गाजा : प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा कम्तीमा ३७ जना प्यालेस्टानीको मृत्यु भएको छ।अमेरिकाले आफ्नो दूतावास जेरुसेलममा सारेको विरोधमा सोमबार विशाल प्रदर्शन भएको हो। साथै इजरायलद्वारा सीमाक्षेत्रमा गरेको हस्तक्षेपका विरुद्ध भएको बताइएको छ। इजरायलसँगको सिमानामा पर्ने गाजामा आक्रोशित प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सेनाबीच झडप हुँदा सोमबार उनीहरूको मृत्यु भएको हो। प्रदर्शनमा सहभागी सयौं प्यालेस्टिनीमध्ये झण्डै १ हजार ७ सय घाइते भएको अधिकारीले जानकारी दिएका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेद्राले ३७ जना प्यालेस्टिनी प्रदर्शनकारी मारिएको र सयौँको संख्यामा प्रदर्शनकारी घाइते भएको पुष्टि गरे। घाइतेमध्ये २ सय ५० जनालाई इजरायली सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेको उनले जानकारी दिएका छन्। प्यालेस्टिनी प्रदर्शनकारीले आवेगमा सिमाना छुट्याउनका लागि लगाइएको काँडेतार काटेर फालिदिएका छन्। गत मार्च ३० देखि निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीको एउटा ठूलो समूहले सोमबार पनि प्रदर्शन गरेको हो।
जेरुसेलममा अमेरिकी दूतावास
जेरुसेलम : अमेरिकाले गहिरो विवादमा परेको जेरुसेलममा औपचारिक रूपमा सोमबार दूतावास स्थापना गरेको छ। दूतावास स्थापना समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्पको भिडियो सन्देश समेत देखाइएको थियो। भिडियो सन्देशमार्फत राष्ट्रपति ट्रम्पले इजरायलको तेलअभिभबाट जेरुसेलममा दूतावास सार्नु पर्नाको कारणका बारेमा प्रस्ट पारेका छन्। बेलायतले भने जेरुसेलममा दूतावास सार्ने आफ्नो कुनै योजना नरहेको जानकारी दिएको छ। बेलायती प्रधानमन्त्री टेरेसा मेका प्रवक्ताले इजरायलका लागि तेल अभिभमा स्थापना गरिएको दूतावास जेरुसेलममा स्थानान्तरण गर्ने कुनै योजना नरहेको जानकार दिएकी छन्।
प्यालेस्टिनीको चर्को विरोध र प्रदर्शनबीच अमेरिकाले जेरुसेलममा दूतावास स्थापना गरे पनि बेलायतले नगर्ने भएको हो। मेका प्रवक्ताले भने, ‘राज्यको अन्तिम सहमति हुनअघि नै जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाको निर्णयमा प्रधानमन्त्रीले गत डिसेम्बरमै असहमति जनाउनुभएको थियो।’
मानवीय क्षति हुन नदिन आग्रह
ब्रसेल्स : सोमबार गाजा क्षेत्रमा प्यालेस्टिनी नागरिकको प्रदर्शनका क्रममा इजरायलसँगको झडपमा ४१ प्यालेस्टिनीको मृत्यु भएपछि थप क्षति हुन नदिन संयमता अपनाउन युरोपेली युनियन (इयु)का विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले इजरायल तथा प्यालेष्टिनी पक्षसँग आग्रह गरेकी छन्।
इजरायलले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार र समानताको आधारमा सुरक्षा बलको प्रयोग गर्ने सिद्धान्तको सम्मान गर्नुपर्ने उनको भनाइ छ। त्यसैगरी हमास र गाजा क्षेत्रमा प्रदर्शनमा सरीक अन्य प्यालेस्टिनी पक्षले पनि आफू गैरहिंसात्मक बन्दै प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु आवश्यक भएको उनले बताइन्। इजरायल र प्यालेस्टिनीहरूबीच अत्यधिक तनावमा देखिँदै आएको गाजा तथा पूर्वी जेरुसेलममा सम्बन्धित पक्षले संयम नअपनाए थप पीडा भोग्न बाध्य हुने उनले चेतावनी दिइन्। यसले शान्ति र सुरक्षाको स्थिति थप जटिल मोडमा जाने इयुको भनाइ छ। सोमबार अमेरिकाले जेरुसेलमलाई मान्यता दिँदै आफ्नो राजदूतावास जेरुसेलममा स्थापनाको अमेरिकामा पनि विरोध भएको छ।