उत्कृष्टको खेलाडीको मनोनयनमा क्रिकेटको वर्चस्व
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र सन्दीप लामिछाने पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा परेका छन्। नेपाल खेलुकद पत्रकार मञ्चको आयोजनामा जेठ ३ गते प्रदान गरिने अवार्डको मनोनयनमा क्रिकेट खेलको वर्चस्व छ। वर्षको उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा क्रिकेटका समान दुई÷दुईजना मनोनयनमा परेका छन्। सन्दीप वर्षको युवा खेलाडी र पिपुल्स च्वाइस अवार्डको समेत मनोनयनमा छन्। युवा खेलाडीको मनोनयनमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी पनि परेका छन्।
यसैगरी राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र विनोद दास वर्षको उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा परेका छन्। मञ्चले सोमबार सार्वजनिक गरेको पाँच युवा खेलाडीमा सन्दीप र दीपेन्द्रसहित फुटबलका दिनेश हेन्जन, जुडोकी मनीता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल छन्। वर्षको उत्कृष्ट प्रशिक्षकमा जगत र विनोदसँगै फुटबलका छिरिङ लोप्साङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर छन्।
वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा भने ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबुल टेनिसकी नविता श्रेष्ठ छन्। मञ्चले बिहीबार हुने कार्यक्रममा विजेताको घोषणा गर्नेछ। यसपटक आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिने बताइएको छ। लाइफटाइम अचिभमेन्ट अवार्ड, पारा एथलिट र स्पेसल अवार्डको घोषणा जेठ ३ गते नै सार्वजनिक गरिनेछ।
उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस र प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र आकर्षक उपहार प्रदान गरिने मञ्चले जनाएको छ। पल्सर स्पोर्टस् अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ।अवार्डलाई डिस मिडिया नेटवर्क लिमिटेडलगायत विभिन्न संघसंस्थाले पनि सहप्रायोजन गरेका छन्