दाताको भर पर्दा झुक्कियो भक्तपुर अस्पताल

दाताको भर पर्दा झुक्कियो भक्तपुर अस्पताल

भक्तपुर : भक्तपुरकै जेठो सरकारी अस्पताल भक्तपुर अस्पताल दाताको भर पर्दा झुक्किएको छ। दाताले मागेको भन्दा अर्कै उपकरण थमाइदिएपछि भक्तपुर अस्पताल झुक्किन पुगेको हो।

अस्पतालले दातासँग रगत जाँच गर्ने प्रयोगशालाको उपकरण माग गरेको थियो तर इटालीमा केन्द्रीय कार्यालय रहेको हनुमान अनलुस भन्ने संस्थाले मृगौलाको डाइलासिस गर्ने मेसिन उपलब्ध गराएको हो।

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर खड्काले प्रयोगशालाको लागि उपकरण माग गरेकोमा दाताले झुक्काएर मृगौलाको डाइलासिस गर्ने मेसिन थमाएको गुनासो गरे।

‘रगतको जाँच गर्ने प्रयोगशालाको मेसिन भनेर लिएको मृगौलाको डाइलासिस गर्ने मेसिन दिइएछ’, अध्यक्ष खड्काले भने, ‘मेसिन बुझिलिई सक्यौं तर विशेषज्ञ चिकित्सक नहुँदा मेसिन त्यत्तिकै राख्नुपरेको छ।’ ठाउँ अभाव हुँदा डाइलासिस मेसिन स्टोरमा थन्काउन बाध्य भएको उनको भनाइ थियो।

तर दाता हनुमान अनलुस नेपालका प्रतिनिधिले भने अस्पताललाई डाइलासिस मेसिन भनेरै सहयोग गरेको दाबी गरेका छन्। उक्त संस्थामा आवद्ध भक्तपुर निवासी राजकुमार थापाले भक्तपुर अस्पताललाई डाइलासिस मेसिन भनेरै सबै कागजात उपलब्ध गराएको र अस्पतालको अनुमतिपछि मात्रै उक्त मेसिन हस्तान्तरण गरिएको स्पष्ट पारे।

थापाकै पहलमा उक्त मेसिन नेपाल ल्याइएको हो। अस्पतालले उक्त मेसिन लिने निश्चित भएपछि हनुमान अनलुस इटालीका अध्यक्ष फ्रेन्चेस्का स्वयम् नेपाल आएको थापाले जानकारी दिए। उनका अनुसार हनुमान अनलुसका अन्तर्राष्ट्रिय अध्यक्ष फ्रेन्चेस्का स्वमम्ले गएको चैत ८ गते भक्तपुर अस्पताललाई उक्त डाइलासिस मेसिन हस्तान्तरण गरेका थिए।

उनले भक्तपुर अस्पताललाई कम्तीमा ६ वटा डाइलासिस मेसिन उपलब्ध गराउने हनुमान अनलुसको योजना रहेको सुनाए। भक्तपुर अस्पतालाई उपलब्ध गराइएको डाइलासिस मेसिन अत्याधुनिक भएको उनको भनाइ थियो। ‘यो डाइलासिस मेसिन अत्याधुनिक हो। एउटा मेसिनको करिब ३७ लाख नेपाली रुपैयाँ पर्छ’, उनले भने, ‘भक्तपुर अस्पताललाई कम्तीमा ६ वटा डाइलासिस मेसिन दिने हाम्रो योजना छ।’

मेडिकल सुपरिटेन्डेन्टसमेत झुक्किए
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटासमेत हनुमान अनलुसले दिएको मेसिनबारे झुक्किएकी छन्। हनुमान अनलुसले अस्पताललाई डाइलासिस मेसिन नै नदिएको उनले जिकिर गरिन्।मेसु डा. देवकोटा हनुमान अनलुसले मेडिकल एसेसरिजमात्रै दिएको बताउँछिन्।

‘दाताले डाइलासिस मेसिन दिएको कुरा हल्लामात्रै हो। हामीकहाँ कुनै डाइलासिस मेसिन भनेर आएको छैन। मेडिकल एसेसरिज लिएका हौं’, उनले भनिन्, ‘हामीलाई दिएको कागजातमा डाइलासिस मेसिन भनिएको छैन। हस्तान्तरण गरिँदा पनि डाइलासिस मेसिन भनिएन। हामीले बक्सा खोलेर पनि हेरेको छैन।’

उनले हनुमान अनलुसले उपलब्ध गराएको उपकरण कहाँ राख्ने र कसरी प्रयोग गर्ने भन्ने एकिन नभएकाले दाताले जस्तो अवस्थामा दिएको हो, त्यही अवस्थमा स्टोरमा राखिएको बताइन्।

‘भक्तपुर अस्पतालमा डाइलासिस सेवा सञ्चालन गर्ने कुनै सोच नै नभएकाले उक्त मेसिन लिने कुरै नआउँदैन’, मेसु डा. देवकोटाले थपे, ‘त्यसैले दाताले दिएको सामानको प्रयोगबारे उहाँहरुसँगै कुराकानी गरिरहेका छौं।’

‘भक्तपुरले प्रयोग नगरे मेसिन अर्कैलाई दिइन्छ’
हनुमान अनलुस नेपालका सल्लाहकार एवं नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पनि भक्तपुर अस्पताललाई डाइलासिस मेसिन भनेरै सहयोग गरिएको दाबी गरे।उनले भक्तपुर अस्पतालले उक्त मेसिन सञ्चालनमा नल्याए भक्तपुरमै रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई हस्तान्तरण गरिने जानकारी दिए।

केन्द्रमा भएका सबै डाइलासिस मेसिन सञ्चालनमा नआउँदा मृगौलाका बिरामीहरु डाइलासिस गर्न कुर्नुपर्ने बाध्यतामा छन्। केन्द्रका कार्यकारी प्रमुख डा. पुकारचन्द्र श्रेष्ठका अनुसार केन्द्रमा अझै दैनिक एकजना मृगौलाका बिरामीहरुले डाइलासिस गराउन पालो पर्खनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.