परराष्ट्र नीतिमा साझा अवधारणाको अपेक्षा

परराष्ट्र नीतिमा साझा अवधारणाको अपेक्षा

काठमाडाैं : हाम्रो विदेश नीति र कूटनीति ‘प्रोएक्टिभ’ (गतिशील) भन्दा पनि ‘रिएक्टिभ’ (प्रतिक्रियात्मक) हुने गरेको आरोप लाग्दै आएको छ । परराष्ट्र नीतिका सन्दर्भमा राजनीतिक दलहरूले समान धारणा बनाउन नसक्दा बेलाबेला यस्ता आरोप लाग्दै आएको हो । यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमण सकेर स्वदेश फर्किसक्दा अझै जारी क्रिया–प्रतिक्रियाले पनि त्यही संकेत गर्छ ।

राजनीतिक दलहरू कूटनीति सञ्चालनमा आफ्नो पार्टी र सत्ताकेन्द्रीत बन्दा यस्तो समस्या उत्पन्न हुने कूटनीतिज्ञहरू बताउँछन् । ‘ठोस परराष्ट्र नीति’ नहुँदा ‘रिएक्टिभ कूटनीति’ हाबी हुने उनीहरूको मत छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यो तर्क आंशिक सत्य भएको बताउँछन् । पञ्चायतकालको कूटनीतिको तुलनामा प्रजातन्त्र पुनःस्थापना र गणतन्त्र स्थापनापछिको अवधि मूल्यांकन गर्दा यस्तो देखिएको उनले बताए । ‘पञ्चायतकालका शासकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा आन्तरिक राजनीति बलियो देखाउनु पर्ने बाध्यताबीच कूटनीतिक माध्यम बलियो बनाउनुपर्ने अवस्था थियो’, उनले भने, ‘तर प्रजातन्त्र पुनःस्थापनापछि आन्तरिक राजनीतिमा विदेशीलाई खेल्ने पर्याप्त अवसर यहाँका राजनीतिक दलले नै दिए ।’

पार्टीको महाधिवेशनमा समेत आफ्नो गुटको प्रभाव देखाउन विदेशीहरूको प्रयोग गर्ने जस्ता खेलले नेपालको कूटनीतिलाई खस्काउने गरेको उनले बताए । ‘गणतन्त्र स्थापनापछि आन्तरिक राजनीतिमा विदेशी प्रभाव बढ्दै गएकाले पनि ‘रिएक्टिभ’ कूटनीति अपनाएको देखिन्छ’, उनको तर्क छ । परराष्ट्र मन्त्रालयमार्फत भएका कतिपय काम सार्वजनिक गर्न नमिल्ने हुँदा ‘रिएक्टिभ’ देखिए पनि अब नेपाली कूटनीति ‘प्रोएक्टिभ’ हुनेमा शंका नगर्न पनि उनले आग्रह गरे ।

डा. इन्द्रा अधिकारी, उपकार्यकारी निर्देशक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दलहरू ‘मेरो–तेरो’ नगरी साझा धारणा बनाएर परराष्ट्र नीति सञ्चालन गर्न जोड दिए । ‘सबै राजनीतिक पार्टीले विदेश नीति तथा कूटनीति सञ्चालनको साझा मार्ग कोर्नु आवश्यक छ’, उनले भने, ‘संविधान कार्यान्वयन र तीन तहको निर्वाचनपछि अब देशले सम्पादन गर्नुपर्ने कामको पुनःमूल्यांकन गर्नुपर्ने बेलामा परराष्ट्रबारे पनि सोच्नुपर्छ । जिम्मेवार राष्ट्रवादको मूल मार्ग कोर्न नसकुन्जेल यस्ता समस्या आइरहन्छन् ।’

  • ‘राजनीतिक बुद्धि विलासका लागि विदेश नीतिमा गरिने आलोचनाले हाम्रो परराष्ट्र नीति प्रतिक्रियात्मक भएको हो ।’
  • –डा. इन्द्रा अधिकारी, उपकार्यकारी निर्देशक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान

विदेश नीति र कूटनीतिको उद्देश्य प्रष्ट नहँुदा विदेश नीति अलमलमा सञ्चालित छ । परराष्ट्र नीति र कूटनीति सञ्चालन गर्न पर्याप्त गृहकार्य आवश्यक रहेको र हाम्रोमा गृहकार्य न्यून मात्र हुने गरेको बताउँछन् परराष्ट्रविद् डा.शम्भुराम सिम्खडा । ‘दलहरूबीच विदेश नीति र कूटनीतिमा एकमत नहुँदा हामी प्रतिक्रियात्मक भएको सत्य हो’, उनले भने । विदेशीले आफ्ना स्वार्थ केन्द्रमा राखेर तयार पार्ने विदेश भ्रमणको समय र एजेन्डासमेतको ख्याल गरी आफ्नो प्रस्ताव तयार पार्न नसक्नु नै हाम्रो कूटनीति प्रतिक्रियात्मक बन्न पुग्नुको प्रमुख कारण रहेको उनको ठम्याइ छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी उपकार्यकारी निर्देशक डा.इन्द्रा अधिकारी देशको परराष्ट्र मामिलामा भएको राजनीतिकरणलाई नेपालमा देखिएको प्रतिक्रियात्मक कूटनीतिको कारण मान्छिन् । ‘राजनीतिक खपतका लागि विदेश नीतिमा गरिने आलोचनाले हाम्रो विदेश नीति प्रतिक्रियात्मक भएको हो’, उनले भनिन् । क्षमताका आधारमाभन्दा पनि पार्टीगत संग्लनताका आधारमा परराष्ट्र मन्त्रालयमा उच्चपदस्थ कर्मचारी नियुक्त गरिँदा पनि यो समस्या उब्जिएको उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.