दुर्इ कोरियाका उच्चस्तरीय अधिकारी भेट्दै
सोल : उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरूको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भएको छ ।उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबारमात्र चीन पुगेको समाचारमा जनाइएको थियो ।
उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित उक्त प्रतिनिधिमण्डलले चीन भ्रमण गरेलगत्तै यता उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ ।
त्यसअघिका उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरूको बैठकलाई महत्वपूर्ण रूपमा लिइएको छ । त्यसै बैठकको पूर्वसन्ध्यामा भएको उत्तर कोरियाली नेताको चीन भ्रमणलाई पनि अर्थपूर्ण भ्रमणका रूपमा लिइएको छ । उत्तर कोरियाली नेता उन पनि केही दिनअघि मात्र चीन पुगेका थिए ।
उजनले गत दुई महिनायता यो दोस्रो पटकसम्म चीनको भ्रमण गरेका थिए । दुई महिनायताको यो पनि एक उच्चस्तरीय भ्रमण नै रहेको अधिकारीले जनाएका छन् । गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच उच्चस्तरीय बैठक भएको थियो । उक्त बैठकमा भएको शान्ति सम्झौताका साथै अरू सहमतिको कार्यान्वयनका लागि बुधबार दुई कोरियाबीच यो बैठक बस्न लागेको हो । उक्त बैठक मन्त्रीस्तरीय हुने बताइएको छ । दक्षिण कोरियाका राष्ट्रिय एकता मन्त्रीले पनि उक्त बैठकमा सहभागी हुनेछन् ।
विश्वकै चासो र प्रतिक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा हुने अमेरिका उत्तर कोरिया वार्ता कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण कदम हुने अपेक्षा पनि गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको अमेरिकाले जनाएको छ । यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई पनि रिहा गरिसकेको छ । वार्ताको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति ट्रम्पले एसियाली विभिन्न देशका नेताहरूसँग फोनवार्ता गरेका छन् । उनले दक्षिण कोरियाली राष्ट्रपति मुनसँग पनि गत आइतबार फोनवार्ता गरेका थिए ।
गत अप्रिल महिनामा भएको उक्त शान्ति सम्झौता र सहमतिको कार्यान्वयनका लागि भन्दै बैठक आयोजना गरिएकाले उत्तर र दक्षिण कोरियाबीच वार्ताप्रति आशा जागेको छ ।