यसरी गरियो मणिको अन्तिम विदाइ
काठमाडौं : चर्चित पूर्वफुटबलर मणिविक्रम शाहको मंगलबार पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ । लामो समयदेखि पित्तथैली र कलेजोको समस्याबाट पीडित ५१ वर्षीय मणिको सोमबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । मणिको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन मंगलबार बिहान दशरथ रंगशालामा राखिएको थियो ।
मणिको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार, कांग्रेसका युवानेता गगन थापा, प्रदेश ३ की प्रमुख अनुराधा कोइराला लगायतका शीर्ष नेता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी, मणिका समकक्षी, खेलाडी, प्रशिक्षक, समर्थक लगायतले पुष्पगुच्छाका साथै फुटबलसमेत चढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
श्रद्धाञ्जलिका लागि तीन घन्टा दशरथ रंगशालामा राखिएको मणिको पार्थिव शरीरलाई मंगलबार दिउँसो नै आर्यघाट लगेर अन्तिम संस्कार गरिएको थियो । मणिलाई दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलि दिन पुगेका उनका बालसखा विराटजंग शाहीले सानैबाट फुटबलमा तीक्ष्ण मणिजस्ता खेलाडी नेपालमा आफूले नपाएको बताए । ‘मणिलाई परिवारबाट पनि खेल्न प्रेरित गरिएको थियो । उसको फुटबलकला सानैदेखि ‘गड गिफ्टेड’ हो । फ्रिकिक, बल, सुट हान्न र छलाउनमा उसलाई कसैले भेट्दैन थिए । यही मैदानमा उसले सनसनी मच्चायो । आज यही मैदानमा उसलाई श्रद्धाञ्जलि दिनु पर्यो । मणिले नेपाली फुटबलमा जति योगदान दियो त्यसको तुलनामा सरकारले उसलाई खासै ध्यान दिएजस्तो लाग्दैन’, भावुक देखिएका शाहीले भने ।
घरेलु फुटबलमा मनाङ मस्र्याङ्दीबाट खेलेका मणिको खेललाई आफूले आठ वर्षदेखि देखेर क्लबमा सधैं मौका दिएको मनाङका संस्थापक तासी घलेले बताए । ‘सानैमा उसको फुटबल खेल्ने शैली बेजोड थियो । यू-१३ खेलाउन जापान जाँदा त्यहाँका पदाधिकारी मणिको खेलले चकित परे । हाम्रो टोलीलाई त्यति बेला त्यहाँका एक समर्थकले डिनर नै खुवाएका थिए । मनाङ लाई ‘डी’बाट ‘ए’ डिभिजनसम्म पुर्याएर उपाधि दिलाएको मणिको योगदान कहिल्यै बिर्सन सक्दिनँ’, एन्फाका मानार्थ अध्यक्ष तासीले भने ।
मणिसँगै पाँच वर्ष राष्ट्रिय टोलीबाट खेलेका धीरेन्द्र प्रधानले मणि नेपाली फुटबलको अहिलेसम्मकै सफल खेलाडी भएको बताए । ‘म डिफेन्डर, ऊ मिडफिल्डर । उसले पाएको बल मिस नै हुन्नथ्यो । अहिलेको जस्तो एक्सपोजर पाउने भए त्यति बेला के हुन्थ्यो होला । मैदानमा छिरेपछि मणिले जस्तो मेहनत गर्ने खेलाडी कोही थिएन । फ्रिकिक र बल छलाउने मणिको कला बेजोड थियो’, प्रधानले भने ।
मणिलाई युवा अवस्थामा फुटबल सिकाएका प्रशिक्षक भीम थापाले मणिमा प्रशिक्षकको भन्दा बढी क्षमता रहेको बताए । ‘मणि फुटबल खेल्न भगवान्ले बनाएका खेलाडी हुन् । मैले मणिजस्तो खेलाडी अहिलेसम्म पाएको छैन’, थापाले भने । फुटबल विश्लेषक सञ्जीव मि श्रले मणि जस्तोसुकै कठिन अवस्थामा पनि टोलीका लागि ‘म्याच टर्नर र प्ले मेकर’ भएको बताए । ‘राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय, मैदानमा छिरेपछि मणिले शतप्रतिशत मेहनत गर्थे । उनको कलालाई अहिलेको पुस्ताले अनुसरण गर्नसके उनीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ’, मि श्रले भने ।
उमेर समूहदेखि राष्ट्रिय टोलीमा खेलेका मणिले सन् १९८५ मा सिनियर टोलीमा ‘डेब्यु’ गरेका थिए । सबै स्तरका खेल खेलेका मणिले सन् १९९८ मा फुटबल खेलबाट सन्न्यासको घोषणा गरेका थिए । एन्फामा १२ वर्ष उपाध्यक्षको भूमिकामा रहेका मणि २०५२ सालदेखि राखेपको फुटबल प्रशिक्षक थिए । अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाका फ्यान मणिलाई सर्मथकले नेपाली म्याराडोनाकै उपनाम पनि दिएका थिए । नेपालले सन् १९९३को छैटौं दक्षिण एसियाली खेलकुद (साफ गेम्स)मा स्वर्ण जित्दाका नायक उनै मणि सदाका लागि बिदा भए भएका छन् ।
मणिका श्रीमती र एक छोरी छन् । मणिको दुःखद निधनप्रति राखेपले मंगलबार विज्ञप्ति निकालेर समवेदना व्यक्त गरेको छ ।