खुला आकाशबाट पक्की भवनमा सर्दै विद्यार्थी

खुला आकाशबाट पक्की भवनमा सर्दै विद्यार्थी

 धादिङ : २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरू पुनर्निर्माण हुन थालेका छन । विशेष गरी चेपाङ बाहुल्यता रहेको दक्षिणी धादिङको साबिकका पीडा र महादेवस्थान गाविसहरूको विद्यालयहरू तीव्र गतिमा पुनर्निर्माण भएका हुन् । भूकम्प गएको तीन वर्षसम्म टहरा, टेन्ट र खुला आकाशमुनि अध्ययन गर्दै गरेका विद्यार्थीहरूले अहिले नयाँ भवनमा बसेर पढ्न पाएका छन् । घाम र पानी सहँदै खुला ठाउँमा पढ्दै आइरहेका विद्यार्थी नयाँ भवन पाएसँगै खुसी भएका छन् ।

विनाशकारी भूकम्पले विद्यालय भत्काएपछि बालबालिकाहरू खुला आकाशमुनि पढ्दै आइरहेका थिए । बेनिघाटको सीतामाई आधारभूत विद्यालय व्यवस्थापन समितिका सदस्य भूमी त्रिपाठीले विगतका दिन सम्झिँदै भने, ‘भूकम्पपछि भवन नहुँदा निकै बिजोग खेपियो, पानी परेको दिन विद्यार्थीहरूलाइ घर पठाउनुपर्ने बाध्यता थियो ।’

अहिले ठुल्ठूला कोठा रहेको दुईकोठे पक्की भवन बनेपछि ५ कक्षासम्म सञ्चालित विद्यालयमा बालबालिका राख्न धेरै सजिलो भएको त्रिपाठीले बताए । ‘धेरैजसो चेपाङ बालबालिकाहरू थिए हाम्रो विद्यालयमा’, उनले भने, ‘यसै त विद्यालय आउनै नमान्ने बालबालिक त्यसमाथि भवन अभाव ।’ उनले दुई कोठा पार्टेसन गरेर भए पनि चार वटा कक्षा सजिलै चलाउन सकिने बताए ।

नयाँ बनाइएका कक्षाकोठा बालमैत्री छन् । जसले विद्यालयको पढाइमा समेत सुधार हुने शिक्षकहरू बताउँछन् । विद्यालयका अनुसार यस शैक्षिक सत्रमा ४४ जना विद्यार्थी भर्ना भएका छन् । तीमध्ये ८० प्रतिशत चेपाङ बालबालिका छन् ।

भवन निर्माणपछि पढाइमा पनि सहज भएको महादेवस्थान आधारभूत विद्यालयकाका प्रअ सीमा रावतले बताइन् । ‘भूकम्पले विद्यालय भवन भत्किएपछि सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा पढाउनुपर्ने अवस्था थियो’, रावतले भनिन्, ‘विद्यालय निर्माणसँगै शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी थपिएको छ ।’ पक्की भवन भएपछि बर्खामा घामपानी तथा हावाहुरीको समस्या र जाडोमा कठ्याङ्ग्रिनुपर्ने समस्या टरेको रावतले बताइन् ।

युनाइटेड मिसन टु नेपालसँगको साझेदारीमा प्रयास नेपाल नामक गैरसरकारी संस्थाले चेपाङ बसोबास रहेको क्षेत्रमा विद्यालय बनाइरहेको छ । साबिकको महादेवस्थान र पीडा गाविसका ३९ वटा विद्यालयहरूमा ७८ वटा कक्षाकोठा निर्माण भएका छन् । त्यसमध्ये २५ वटा विद्यालयहरूमा सुविधासम्पन्न छात्रामैत्री शौचालयसमेत छन् ।

नयाँ निर्माण गरिएका विद्यालय भूकम्पप्रतिरोधी छन् भने छात्र, छात्रा र अपांगमैत्री शौचालय पनि निर्माण गरिएको छ । विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ । ह्विलचियर गुड्ने गरी विद्यालय तथा शौचालयहरूको संरचना निर्माण गरिएको युनाइटेड मिसन टु नेपाल धादिङका कन्सट्रक्सन म्यानेजर प्रकाश तिमिल्सिनाले बताए । उनले भने, ‘भवन मात्रै भन्दा पनि बालबालिकाहरूको स्वास्थ्य सरसफाइलाइ पनि ध्यानमा राखेर विद्यालयहरूमा सुविधासम्पन्न शौचालय र बालमैत्री धाराहरूको निर्माण गरेका छौं ।’

जिल्लाको दक्षिणी भेगमा पर्ने बेनिघाट रोराङ र गजुरी गाउँपालिकामा सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता छ । उनीहरूलाई अन्नकै चिन्ता हुने भएकाले पनि पठनपाठन नियमित गर्न समस्या छ । भौगौलिक विकटता, गरिबी र खाद्यान्न अभावका कारण रूपमा विद्यार्थीहरू विद्यालयमा उपस्थितसमेत हुँदैनन् । विद्यालय भवन बनेपछि आफ्ना बालबालिकाहरूलाई नियमित विद्यालय पठाउने अभिभावकहरूले प्रतिबद्धता गरेका छन् ।

विनाशकारी भूकम्पका कारण जिल्लाका चार सय ६५ विद्यालयका तीन हजार सात सय २५ कक्षाकोठा पूर्ण क्षतिग्रस्त भएका थिए । जसमध्ये भूकम्पपछिको तीन वर्षको अवधिमा विभिन्न संघसस्थाको सहयोग र जिल्ला आयोजना कार्यान्वयन इकाइको समन्वयमा एक हजार नौ सय ९४ कक्षा कोठामात्रै निर्माण सम्पन्न भएका छन् ।

त्यस्तै दुई सय ७५ विद्यालयको आठ सय २५ कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेको शिक्षा कार्यालयअन्तर्गत जिल्ला आयोजना कार्यान्वइन इकाइका प्रमुख निर्मल बोगटीले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म विद्यालयको पुनर्निर्माण ५३ प्रतिशत सकिएको छ, २०७५ सालभित्र ७५ प्रतिशत पुनर्निर्माण सक्ने लक्ष्य राखेका छौं ।’

अझै पनि भूकम्पले भत्किएका कतिपय विद्यालयमा समयमै भवन निर्माण हुन नसक्दा हजारौं बालबालिका चिसो भुइँ र खुला आकाशमा पढ्न बाध्य छन् । तर, निर्माण सामग्री अभाव, ढुवानी समस्या, कामदारको कमीजस्ता कारणले विद्यालय पुनर्निर्माणमा ढिलाइ भएको सरोकारवालाहरूले दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.