मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही थालियो
पोखरा : गत वैशाख २७ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्की प्रमुखको जिम्मेवारी सम्हालेका एसपी ओमबहादुर रानाले गुण्डागर्दी विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन्।बुधबार पत्रकार भेटघाटमा उनले गुण्डागर्दीविरुद्धको प्रतिवद्धतासहित १२ बुँदै कार्ययोजनासमेत सार्वजनिक गरेका छन्।
उनले पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा गुण्डाराजलाई अन्त्य गरेरै छाड्ने दाबी गरे। 'कसैले डर धम्की देखाएर अपहरण गर्ने र फिरौती मागेको छ भने तुरुन्तै जानकारी दिनुहोला' ,एसपी रानाले भने, 'प्रहरीले तत्काल कारबाही थाल्ने छ, गुण्डागर्दी नियन्त्रण गर्न कुनै कसर बाँकी राखिने छैन।'
एसपी रानाले गुण्डागर्दीप्रति योजना आफूले बनाइसकेको जानकारी दिए। कास्कीमा रहेका गुण्डाको लिस्ट तयार गरिरहेको पनि उनले जानकारी दिए।
एसपीको १२ बुँदै कार्य योजनामा प्रविधियुक्त नागरिक मैत्री प्रहरी सेवा, भौतिक तथा प्राविधिक पूर्वाधारको निर्माण र स्तरवृद्धिलाई पनि समेटिएको छ। 'पोखराको मुख्य बजार र राजमार्ग क्षेत्रमा सिसी टिभी जडान गरी २४ घण्टा प्रहरीले निगरानी गर्न सक्ने कन्ट्रोल रुम निर्माणको लागि योजना बनाएको एसी रानाले जानकारी दिए।'अपराधलाई नियन्त्रण गर्न प्रविधिले महत्वपूर्ण भूमिका खेल्छ' , रानाले भने,'प्रविधिको उच्चतम प्रयोग गरी पोखरालाई सुरक्षित सहर र जनतालाई सुरक्षाको अनुभूति हुने गरी काम गर्न कटिवद्ध छौं।'
एसपीको कार्य योजनामा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्राथिमकतालाई पालना, अपराधिक क्रियाकलप उपर कानुनको कठोरलाई आत्मसाथ गर्दै विवेकपूर्ण प्रहार गर्ने विषय पनि समेटिएको छ।एसी रानाले गुण्डागर्दी पछि लागूऔषध नियन्त्रणमा जोड दिएका छन्।
घरेलु मदिरा, लागूपदार्थ, यौन व्यवसाय र जुवातास नियन्त्रण, चोरी लुटपाट, कालोबाजरी नियन्त्रण, फरार अपराधीको पक्राउ, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई एसपी रानाले प्राथमिकतामा राखेका छन्। लागूऔषध प्रयोग कर्तालाई मात्र नभइ बिक्री गर्ने र डिलरवालालाई कारबाही गर्ने योजना बनाएको एसी रानाको भनाइ छ।
सामाजिक विकृति, विसंगति र कुसंस्कार विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने, छुट्टाछुट्टै तालिका बनाएर अपराधीको खोजी, कारबाही र सूचना संकलन एवं प्रमाणमुखी अनुसन्धानमा जोड दिने एसपी रानाले बताए। एसी रानाले जुनसुकै सिन्डीकेट नियन्त्रण र मिटरमा नचल्ने ट्याक्सीलाई पनि कारबाही गरी छाड्ने अठोट एसपीको छ। कास्की आएपछि ३६ वटा ट्याक्सीलाई कारबाही गरेको उनले बताए।