संयोजन समितिको अन्तिम बैठक : एकता अनुमाेदन गर्दै
काठमाडौं : एमाले र माओवादीबीचको एकता संयोजन समितिको अन्तिम बैठक बसिरहेको छ । मदन भण्डारी र जीवराज आश्रितको २५ औं स्मृति दिवसको कार्यक्रमपछि बलुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले औपचारिक रुपमा पार्टी एकताकाे अनुमाेदन गर्दै छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबारकाे भेटवार्तामा मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसमा पार्टी एकता गर्ने सहमति भएको हो । ओली र दाहालको सहमति अनुसार बिहीबार नै दुवै पार्टी एक हुने भएका छन् । एकीकरणपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिने भएको छ ।
एमाले र माओवादीबीच एकीकरण भएपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुने भएको छ । बुधबार भएको ओली र प्रचण्डको भेटवार्ताले ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको थियो ।जसमा एमालेबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । एकीकृत पार्टीको स्थायी समिति ४३ सदस्यीय हुनेछ जसमा एमालेबाट २५ र माओवादीबाट १८ रहनेछन् ।
चुनाव चिन्ह भने एमालेले प्रयोग गर्दै आएको सूर्य नै हुनेछ । आगामी महाधिवेशनसम्म दुवै ओली र प्रचण्ड दुवैले अध्यक्षका रुपमा सामूहिक नेतृत्व गर्नेछन् ।
एकता संयोजन समितिको बैठकपछि दुवै पार्टीको केन्द्रीय समितिको बैठक बस्नेछ ।
त्यसपछि दुवै पार्टीको संयुक्त केन्द्रीय समिति बैठक बस्ने कार्यक्रम छ । बुधबार नै दुवै पार्टी विघटन हुनेछन् भने आजै निर्वाचन आयोगमा पार्टी दर्ता गरिनेछ । दिउँसो ५ बजे पत्रकार सम्मेलन गरेर औपचारिकरुपमा पार्टी एकीकरणको घोषणा हुँदैछ ।